रासायनिक मलको अन्धाधुन्ध प्रयोग, गुम्दै माटोको उर्वरा शक्ति
अर्घाखाँची : रासायनिक मलको अन्धाधुन्ध प्रयोगले माटोको उर्वरा शक्ति गुम्दै गएको सरोकारवालाको भनाइ छ। साल्ट टे«डिङ कर्पाेरेसनको आयोजना तथा सन्धिखर्क नगरपालिकाको समन्वयमा अर्घाखाँचीको सन्धिखर्कमा भएको रासायनिक मलसम्बन्धी अनुशिक्षण कार्यक्रम तथा आयोडिन सचेतना कार्यक्रममा बोल्ने वक्ताहरूले रासायनिक मलको प्रयोग गर्न नजान्दा माटोको उर्वरा शक्तिमा कमी हुँदै गएको बताएका हुन्।
रासायनिक मलमा राज्यले धेरै अनुदान दिएर मूल्य कम गर्दिएका कारण किसानले जथाभावी रूपमा रासायनिक मलको प्रयोग गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। रासायनिक मलमा दिएको अनुदान कटौती गरी कृषकले उत्पादन गरेको वस्तुमा अनुदान दिनुपर्नेमा राज्यले ध्यान दिनुपर्ने बताएका छन्।
व्यापक रासायनिक मलको प्रयोगसँगै हाइब्रिड खेती गर्नाले मूल बिउ हराएको चिन्ता व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले हाइब्रिड बिउ रोक्नुपर्ने र रासायनिक मलको व्यापक प्रयोग र हाइब्रिड बिउले पार्न असरबारे प्रत्येक कृषकलाई सचेत गराउनुपर्नेमा जोड दिए। कृषि विकास मन्त्रालयका पूर्वसहसचिव भगवान खतिवडाले रासायनिक मलको प्रयोग, प्रयोग गर्ने विधि र मात्रालगायतका विषयमा प्रशिक्षण दिएका थिए।
साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख कृष्णकुमार शाक्यले विशेषगरी साल्ट ट्रेडिङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सम्बन्धित निकायको सहकार्यमा आयोडिनको कमीले हुने समस्यालाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।
विभागीय प्रमुख शाक्यले नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश भएको नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाइँदै आइएको र यस वर्ष ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अंकित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने नारा रहेको समेत जानकारी दिए।
सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पूर्णप्रसाद पराजुलीको अध्यक्षता, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालन, साल्ट ट्रेडिङ लुम्बिनीका प्रबन्धक देवराज भट्टराईको स्वागत मन्त्वयमा सम्पन्न कार्यक्रममा जिल्लाका ६ वटै पालिकाका कृषि शाखा प्रमुख, रासायनिक मल बिक्रेता सहकारीका सञ्चालक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !