निकुञ्ज सुरक्षाकर्मीकै गोलीबाट मकुनाको मृत्यु
चितव : चितवन राष्ट्रिय निकुञ्जमा रहेको जंगली हात्ती मकुनालाई गोली हानी मारिएको छ। बस्तीमा प्रवेश गरेर असुरक्षित बनाइरहेको मकुनामाथि ‘आत्मसुरक्षाका’ लागि गोली हानिएको निकुञ्जको भनाइ छ। तर निकुञ्जकै सुरक्षाकर्मीको गोलीबाट हात्ती मारिएकोमा सामाजिक सञ्जालमार्फत चर्को आलोचना गरिएको छ। नयाँ गोरख गण (क) गुल्म सौराहाको नेपाली सेनाको संयुक्त टोलीमाथि हात्तीले आक्रमण प्रयास गरेपछि गोली चलाइएको निकुञ्जले जनाएको छ। बुधबार दिउँसो साढे १ बजेतिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा मकुना हात्तीलाई जंगल पठाउन खोज्दा उल्टै आक्रमणको प्रयास गरेको थियो। दिउँसो साढे ३ बजेतिर ढलेको अवस्थामा भेटिएको हात्तीलाई पशु चिकित्सकको टोलीले मृत घोषणा गरेका थियो।
मकुनालाई धपाउन सुरुमा दुई राउन्ड हवाई फायर गरिएको थियो। मकुनाले गस्तीमा रहेको चुरेगज (सानो हात्ती) लाई आक्रमण गर्न थाल्यो। त्यसक्रममा चुरेगज खगेन्द्र प्रसादमा चढेका रेन्जर श्याम तामाङ हात्तीबाट खसे। त्यसपछि तीन राउन्ड हवाई फायर गरियो, मकुना केही पर भाग्यो। फेरि फर्केर आएको मकुना आक्रमणमा उत्रिएपछि गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए।
सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेन्जर तामाङ हात्तीबाट खसेकाले उनको ज्यान सुरक्षाको लागि अत्यन्त कठिन भयो र स्विप टोलीले मकुनालाई तीन राउन्ड गोली हानेको निकुञ्जले जनाएको छ। गोली लागेपछि मकुना केही पर भागेको थियो। फेरि फर्केर आक्रमण गर्न आएपछि अर्को राउन्ड पनि गोली हान्नु परेको विज्ञप्तिमा उल्लेख छ। अन्तिम गोली लागेपछि भने भागेको मकुना एक किलोमिटर पर पुगेर ढलेको अवस्थामा भेटिएको निकुञ्जद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘आत्मरक्षाका लागि टोलीले दुई राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि पनि मकुना थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसाद तर्फ आउँदा त्यहाँ सवार रेन्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई तीन राउन्ड गोली प्रहार गर्दा केही पर गएर फर्किएर आक्रमण गर्न थालेपछि अर्को एक राउन्ड गोली प्रहार गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ को आत्मसुरक्षासम्बन्धी व्यवस्थाअनुसार टोलीले गोली हानेको विज्ञप्तिमार्फत जनाइएको छ।
भाले हात्तीको दाह्रा हुन्छ। दाह्रा नभएको भाले हात्तीलाई मकुना भनिन्छ। मकुना गत वर्ष मंसिरमा चितवन राष्ट्रिय निकुञ्जमा पहिलोपल्ट देखा परेको थियो। मकुना पर्यटकीय नगरी सौराहा बजार र बस्तीमा बढी हिँड्डुल गथ्र्यो। सन् २०२२ को मार्च २४ मा झापा बाहुनडाँगीबाट पश्चिम लाग्ने क्रममा मकुना समूहबाट छुटेर चितवनमा बसेको संरक्षणकर्मीको भनाइ छ। त्यतिबेला मकुनासहित पाँच—पाँच वटा भाले हात्तीको समूह पश्चिम लागेको थियो।
प्रतिक्रिया दिनुहोस !