सुनील पौडेलको घुस बार्गेनिङको अन्तरकथा
काठमाडौं :
२०१८ मार्च २७
उपकरण खरिदको लागि पौडेलले लागत अनुमानको आधारमा तीन कम्पनीको कोटेसन दीपक आनन्दसँग मागे।
मार्च २८
दीपक आनन्दले सामग्रीको मूल्य पौडेललाई पठाए। जसमा प्रतिउपकरण १२ लाख ५० हजार अमेरिकी डलर (एफ ५, इन्स्टासेभ र सिस्को कम्पनी) को हुने गरी बीओएम पौडेललाई पठाए।
मार्च २८
१२ लाखको लागत बनाउन डीएनएस फायरवालको मूल्य बढाउने र स्विच र राउटरको पर्ने प्रस्ताव पौडेलले च्याटमार्फत पठाए।
मार्च २९
दीपक आनन्दले खरिद गरिने सामग्रीको मूल्य १२ लाख डलर र इन्स्टासेभ र सिस्को कम्पनी हुने गरी बीओएम पौडललाई पठाए।
मार्च २९
आनन्दले इन्स्टासेभ टेक्नोलोजिस प्रालि बङ्लोर, एक्सक्लुसिभ नेटवर्कस एसिया प्रालि सिंगापुर र टेकडाटा प्रालि सिंगापुरको झुटा कोटेसन सुनीललाई पठाए।
अप्रिल ५
आपूर्ति गरिने सामग्रीको कम्पनीले पाउने रकम, बोलपत्रमा नेपालबाट भाग लिने कम्पनीले पाउने रकम तथा सुनील पौडेलले घुसबापत पाउने रकम २ लाख ७५ हजार डलर हुने भनी दीपक आनन्दले रकमको बाँडफाँड गरी पठाए।
जसमा एफ ५ को ४ सय डलर, सिस्कोबाट ४ सय डलर, इन्स्टासेभबाट २५ डलर, थाक्रल मार्जिनबाट १०० डलर, परामर्श शुल्क २७५ गरी १२०० डलर घुस बाँडफाँड गरी पठाए।
अप्रिल ५ देखि ७
दीपक आनन्दले प्रस्ताव गरेको घुस रकममा पौडेलले असहमति जनाए। ४ लाख डलर चाहिने भनी माग गरे। अन्तमा दीपक आनन्द र सुनील पौडेलबीच घुस रकम बार्गेनिङ भई ३ लाख ७५ हजार डलर रकम दिन लिन स्वीकार÷सहमत भए।
अप्रिल १३
सेक्युरिटी एप्लिकेसन फोर डाटा सेन्टर नेपाल खरिद कार्यको लागि टेक्निकल स्पेसिफिकेसन र लागत अनुमान दीपक आनन्दले दिएको विवरणबमोजिम हुने गरी पौडेलले स्वीकृति गरे।
अप्रिल १५
दीपक आनन्द र पौडेलबीच भएको पूर्वसहमति बमोजिम एफ ५, इन्स्ट्रासेभ र सिस्कोबाट उत्पादित सामग्रीसँग मेल खाने सामग्री खरिद गर्ने गरी बोलपत्र आह्वान
अप्रिल १६
सुनील पौडेल र दीपक आनन्दबीच इन्सुरेन्स कस्टमलगायतको विषयमा संवाद हुँदा घुस बार्गेनिङ भई ३ लाख १० हजार डलरमात्र दिन सकिने भनी दीपकले भने। पौडेलले स्वीकार गरे।
मे १३
ठेक्कासम्बन्धी कागजात दीपक आनन्द नेपाल आएर थाक्रल वन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा आपूर्तिकर्ता अस्ट्रल कम्प्युटर नेपाल प्रालिका अध्यक्ष कृष्ण गिरीसँग भेटे।
मे १४
दीपक आनन्दले भने बमोजिमको रकम कबोल गरी अस्ट्रल कम्प्युटर्स नेपाल प्रालिबाट बोलपत्र पेस भयो।
मे २२
करिब लागत अनुमानबराबरको अंक कबोल गरी गराई अस्ट्रल कम्प्युटरर्स नेपाल प्रालि मात्र बोलपत्रदाताको रूपमा बोलपत्र पेस गराई मूल्यांकन समितिको अध्यक्षमा सुनील पौडेल आफैं बसी बोलपत्र स्वीकृतिका लागि सिफारिस गरी मूल्यांकन प्रतिवेदन पेस गरे।
मे ३१
सुनील पौडल आफैं पक्षको तर्फबाट सम्झौतामा दस्तखत गरी अस्ट्रल कम्प्युटरर्ससँग ठेक्का सम्झौता भएको।
मे ३१
दीपक आनन्दले डरको मूल्य नेरु तुलनामा बढेकोले घुसबापतको रकम पुन घटाएर २ लाख ८० हजार मात्र दिन सक्ने भनी सुनील पौडेललाई भनेको।
जुन १५
अस्ट्रल कम्प्युटरर्सले एफ ५, सिस्को, इन्स्टासेभ कम्पनीको सामग्री आपूर्तिको लागि सिंगापुरमा १० लाख ५३ हजार ६ सय ४ लेटर अफ केडिटमार्फत पठाएको।
जुलाई ८
एफ ५, सिस्को, इन्स्टासेभ कम्पनीका सामग्री नेपालमा आपूर्ति भएको।
जुलाई ९ र १३
गोश्वारा भौचर नम्बर ५४ वटा ठेक्काको ८० प्रतिशत भुक्तानी र भौचर नम्बर ५९ बाट ठेक्काको २० प्रतिशत भुक्तानी भएको।
अगस्ट १०
दीपक आनन्दले सुनील पौडेललाई अमेरिकाको बैंक खाता र भारतमा घुस रकमबापत २ लाख ८० हजार डलर (३ करोड ८ लाख ५० हजार ४ सय) मञ्जुर गरी लिने दिने कार्य भएको।
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक एवं राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र भारतीय एफ–५ कम्पनीका प्रतिनिधि दीपक आनन्दबीच सुरक्षा उपकरण र नेटवर्क उपकरणको आपूर्ति, वितरण र इन्टलेसनको सामग्री खरिदका विषयमा डिल।
000
यसरी घुस बार्गेनिङ गरेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक एवं राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को मुद्दा दायर भएको छ। उनीविरुद्ध ३ करोड ८ लाख घुस लेनदेन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेले जानकारी दिए।
आरोपपत्रमा पौडेलमाथि भारतीय एफ–५ कम्पनीका प्रतिनिधि दीपक आनन्दसँगको मिलेमतोमा विभिन्न उपकरणको खरिदमा घुस लिएको आरोप लगाइएको छ।
अख्तियारले पौडेलविरुद्ध बिगोबमोजिमको जरिबानासहित १३ वर्षसम्मको कैद सजायको माग दाबी गरेको छ। दीपक आनन्दविरुद्ध १० वर्षसम्मको कैद तथा बिगोबमोजिम जरिबानाका साथै घुसबापत ३ करोड ८ लाख ५० हजार ४ सय जफत÷असुल उपरको माग दाबी गरिएको छ।
अख्तियारले पौडेलमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ। विशेष अदालतले पौडेललाई दोषी ठहर गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !