क्यान्सरलाई रेडियोथेरापी, पालो पाउनै मुस्किल

क्यान्सरलाई रेडियोथेरापी, पालो पाउनै मुस्किल

काठमाडौं : क्यान्सरका ६० प्रतिशत बिरामीलाई रेडियोथेरापी सेवा चाहिन्छ। तर, यसका लागि सरकारी अस्पतालमा तत्कालै सेवा पाउन हम्मेहम्मे पर्छ। अर्थात्, पालो पाउन महिनौं कुर्नुपर्छ।

शरीरमा कोषहरूको अनियन्त्रित विभाजन र असामान्य वृद्धि नै क्यान्सर हुनु हो। चिकित्सकका अनुसार क्यान्सरका ६० प्रतिशतलाई रेडियोथेरापी सेवा आवश्यक पर्छ। तर, यो सेवा लिने बिरामीको उपचारका लागि मुलुकको सबैभन्दा पुरानो वीर अस्पतालमा तीन महिना पालो कुर्नुपर्छ। क्यान्सर उपचारका लागि डेडिकेटेड भक्तपुर क्यान्सर अस्पतालमा कम्तीमा दुई साता पालो पर्खनुपर्छ। वीर अस्पताल, अन्कोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्य भन्छन्, ‘रेडिएसन सेवा लिन चाहने बिरामीको चाप बढ्दो छ। तीन महिना कुर्नुपर्ने बाध्यात्मक अवस्था छ।’

वीर अस्पतालमा मेडिकल अन्कोलोजी (औषधिबाट गरिने उपचार) र सर्जरी (शल्यक्रियाबाट गरिने) उपचार राम्रो रहेको निर्देशक डा. सन्तोष पौडेल बताउँछन्। डा. पौडेल थप्छन्, ‘रेडिएसन सेवा लिन चाहने बिरामीहरू चितवन, भरतपुर र काठमाडौंमा उपचार गर्न आउँदा थेग्न गाह्रो भएको हो।’ रेडिएसन सेवा प्रवाहका लागि वीरमा एउटा मात्र टोमोथेरापी मेसिन छ। जसले दैनिक झन्डै ४० बिरामीलाई सेवा दिन सक्छ। अस्पतालका एक क्यान्सर रोग विशेषज्ञ भन्छन्, ‘मुलुकको ऐतिहासिक पुरानो अस्पताल हो। तर रेडिएसन सेवा लिन आएका बिरामीलाई अन्यत्रै रेफर गर्न बाध्य छौं।’

क्यान्सर बिरामीका लागि भनेर स्थापना गरिएको भक्तपुर क्यान्सर अस्पतालमा पनि बिरामीको चाप थेगी नसक्नु हुन्छ। अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार, वर्षमा झन्डै पाँच हजार बिरामी उपचारका लागि आउँछन्। जसमध्ये करिब एक लाख बहिरंग विभागमा उपचारका लागि भक्तपुर धाउँछन्। झन्डै २५ हजार बिरामी अन्तरंग सेवा प्रवाहको आशाले अस्पताल पुग्छन्। ‘न्यून शुल्क एवं निःशुल्क रूपमा प्रवाह गराइरहेका छौं,’ निर्देशक डा. चालिसे भन्छन्, ‘रेडिएसन सेवामा पनि चाप बढ्दो छ। सेवा लिन एक महिना कुर्नुपर्ने हुन सक्छ। बेडको पनि अभाव छ। बेडको अकुपेन्सी दर झन्डै ९९ प्रतिशत नै छ।’ भक्तपुर क्यान्सर अस्पतालमा लिनियर एक्सिलेटर, कोवाल्ट र ब्राकिथेरापी गरी तीनवटा मेसिन छन्। अप्रेसनका लागि पनि दुई-तीन साता पालो कुर्नुपर्ने अवस्था छ।

बिरामीलाई रेफरै रेफर

मुलुकका नाम चलेका ठूला अस्पतालमा पर्छन्, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको सुरेश वाग्ले स्मृति क्यान्सर उपचार केन्द्र र पाटन अस्पताल। तर, यी दुवै अस्पतालमा रेडिएसन सेवा छैन। रेडिएसन उपचारका लागि आएका बिरामीलाई अन्यत्रै रेफर गर्नुपर्ने अवस्था छ।

सुरेश वाग्ले क्यान्सर उपचार केन्द्रकी मेडिकल अन्कोलोजिस्ट रक्षा श्रेष्ठका अनुसार, रेडिएसन सेवाको लागि बंकर छ। तर, मेसिन छैन। जसका कारण बिरामीहरूलाई सेवा लिन अन्य अस्पताल रेफर गर्नुपर्ने बाध्यता छ। ‘उपचारका आशामा टाढाटाढबाट बिरामी आएका हुन्छन्। त्यस्तो सेवा यहाँ छैन। गह्रौं मन बनाएर अन्य अस्पतालमा रेफर गर्नु परिरहेको छ,’ डा. श्रेष्ठ भन्छिन्, ‘मेसिन नै उपलब्ध गराउन वा बजेट व्यवस्था गर्न कहिले स्वास्थ्य त कहिले अर्थ मन्त्रालयमा कुरा पु¥याएका छौं। सरकारले बिरामी मात्र होइन डाक्टरहरूको पनि कुरा सुनोस्। रेडियोथेरापी सेवा सञ्चालन गर्न पाइयोस्।’

डा. श्रेष्ठले भनाइजस्तै अवस्था छ, पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीको पनि। ‘ठूला सरकारी अस्पतालमा त सबै उपचार सेवा पाइने आशामा बिरामीहरू रहेका हुन्छन्। तर, सेवा छैन भनेर फर्काउँदा बिरामी निराश हुन्छन्,’ डा. श्रेष्ठ भन्छन्, ‘कम्तीमा एउटा रेडियोथेरापी मेसिन उपलब्ध भए बिरामीलाई रेफर गर्न पर्दैनथ्यो।’

सरकारी अस्पतालमा क्यान्सरको उपचारका लागि पालो पर्खनुपर्ने अवस्थाले कतिपय बिरामीहरू निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन्। कयौं बिरामी उपचारका लागि भारतलगायत विभिन्न मुुलुक गइरहेका छन्। नेपालमा मेडिकल अन्कालोजी र सर्जरी सेवा सहज भए पनि रेडियोथेरापी सेवा पाउन धौ धौ छ। नेपाल चिकित्सक संघका अध्यक्ष एवं क्यान्सर सर्जन डा. अनिलविक्रम कार्की भन्छन, ‘क्यान्सर उपचारका नाममा करोडौं रुपैयाँ विदेशतिर गइरहेको छ। यसतर्फ खोइ चासो र चिन्ता ?’

के हो रेडियोथेरापी सेवा ? 

शरीरमा बढिरहेका अनियन्त्रित कोषको वृद्धि रोक्न र क्यान्सर लागेको भागलाई नष्ट गर्न विकिरणद्वारा गरिने उपचार विधि हो, रेडियोथेरापी (रेडिएसन)। रेडिएसन अन्कोलोजिस्टहरूका अनुसार, करिब ७० प्रतिशत विभिन्न खालका क्यान्सरमा रेडिएसन थेरापीको आवश्यकता पर्दछ। विगतमा कोबाल्ट मेसिनको बढी प्रयोग गरिन्थ्यो। अहिले ब्राकिथेरापी, टेलेथेरापी र टोमोथेरापीबाट बढी चल्तीमा रहेका छन्। अहिले रेडिरेसन मेसिनको लागि ४० करोडभन्दा बढी लाग्छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी क्यान्सरका बिरामीलाई तत्कालै उपचार सेवा उपलब्ध नहुनु लाजमर्दो भएको बताउँछन्। ‘राष्ट्रप्रमुख एवं राजनीतिक दलका ठूलाठूला नेताहरू केही हुनेबित्तिकै विदेश पुग्छन्। राष्ट्रकै ढुकुटी प्रयोग गरेर उपचार गर्छन्। निको भएर फर्कन्छन्,’ पूर्वन्यायाधीश केसी भन्छन्, ‘गरिब नेपालीहरू समयमै उपचार नपाएर अकालमा मर्न बाध्य हुन्छन्। योभन्दा दुःखलाग्दो के हुन्छ? स्वास्थ्यमा सर्वव्यापी पहुँच भनेको यही हो ?’

१३ प्रतिशतले बढ्दै बिरामी !

नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरका बिरामीहरू बढ्दै गएका छन्। विगत एक दशकको अवधिमा क्यान्सरका बिरामीहरू १३ प्रतिशतले वृद्धि भएको तथ्यांक छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, क्यान्सर रजिस्ट्रीका आधारमा वार्षिक झन्डै २२ हजार क्यान्सरका नयाँ बिरामी थपिएको देखिन्छ। करिब १४ हजार क्यान्सरका बिरामीको मृत्यु भएको छ। नेपालमा हुने कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी हिस्सा अर्थात् ७१ प्रतिशत नसर्ने रोगको कारणले हुन्छ। जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरकै कारणले हुने गर्छ।

पुरुषहरूमा हुने क्यान्सरमा सबैभन्दा पहिलो नम्बरमा आउँछ, फोक्सोको क्यान्सर। महिलामा हुने क्यान्सरमा पहिलो स्तन र दोस्रोमा पाठेघरको मुखको क्यान्सर पर्छ। पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारण हो। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन औसत चार जनाको ज्यान जान्छ।

क्यान्सरका नयाँ र पुराना बिरामीको दर घटाउन एवं क्यान्सरका बिरामीको जीवन, आयु र गुणस्तर व्यवस्थापन गर्न राष्ट्रिय क्यान्सर रणनीति (२०२४ —२०३०) बनाएको छ। तर, यो रणनीति कार्यान्वयन भएमा क्यान्सर उपचारमा सहज हुने विश्वास क्यान्सर रोग विशेषज्ञहरूको छ। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी भन्छन्, ‘कार्यान्वयन गर्नकै लागि रणनीति बनाइएको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.