क्यान्सरमा नडराऔं, खेलाँची नगरौं
रेडियोथेरापी सेवामा चाप बढी छ : डा. सन्तोष पौडेल, निर्देशक, वीर अस्पताल
क्यान्सर रोगको अवस्था, निदान, उपचारका विषयमा बहस कार्यक्रम आयोजना गरेकोमा अन्नपूर्ण मिडियाप्रति आभार व्यक्त गर्दछु। वीर अस्पतालले मेडिकल, रेडिएसन र सर्जरी तीनै किसिमको सेवा प्रवाह गरिरहेको छ। तीनवटै सेवाहरू अब्बल छ। मेडिकल अन्कोलोजी र सर्जिकल सेवालाई प्राथमिकता दिएका छौं। सबैखालको क्यान्सरको सर्जिकल सेवा राम्रोसँग भइरहेको छ। आधारभूतदेखि विशिष्टिकृत सेवा दिनु पर्दा चापमा छौं।
रेडिएसनमा राम्रो मानिएको टोमोथेरापीबाट सेवा प्रवाह गरिरहेका छौं। अधिकांश बिरामीको चाहना टोमोथेरापीबाट सेवा लिने हुन्छ। नेपालमा एउटा मात्रै छ। विकल्पमा लिन्याक र ब्राकीथेरापी मेसिन भएको भए सेवा दिन सकिन्थ्यो। मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रेडियोथेरापी मेसिन छैन। सबै बिरामी काठमाडौं नै आउँछन्। कि भरतपुर जानु पर्यो कि काठमाडौं आउनु पर्यो। वीर अस्पतालमा बंकर छ। त्यो बंकरमा मेसिन राख्न चाहन्छौं।
क्यान्सरलाई ‘कम्प्रिहेन्सिभ केयर’का रूपमा लिनुपर्ने जरुरी छ। स्पेसलाइज्ड जनरल अस्पतालमा क्यान्सर युनिटलाई बलियो बनाउनु उपयुक्त हुन्छ। वीर अस्पतालको अनुभवले पनि यहि भन्छ। अहिले रेडिएसन सेवा लिनेहरूको संख्या बढ्दै गएकाले केन्द्रीय अस्पतालहरू र प्रादेशिक अस्पतालमा एक/एक वटा रेडिएसन मेसिन अति आवश्यक देखिन्छ। क्यान्सरका बिरामीलाई उपलब्ध गराइने एक लाख रकम अपुग छ। त्यसलाई समयानुकूल परिमार्जन गर्नु जरुरी छ।
बेड अकुपेन्सी ९९ प्रतिशत छ : डा. उज्ज्वल चालिसे, कार्यकारी निर्देशक, भक्तपुर क्यान्सर अस्पताल
क्यान्सरका विषयमा जुन बहस भएको छ, यो सकारात्मक कुरा हो। यस खालका कार्यक्रममा धेरै मन्थन पनि हुन्छ। आयोजक अन्नपूर्ण पोस्ट मिडियालाई धन्यवाद दिन चाहन्छु। भक्तपुर क्यान्सर अस्पताल गैरसरकारी प्रयासबाट सञ्चालन भएको अस्पताल हो। पछि मात्र सरकारले अपनत्व लिएर सञ्चालन भइरहेको छ। यस अस्पतालमा क्यान्सरका बिरामीको मर्म बुझ्ने काम हुन्छ। रोगको पहिचान, निदान गर्नुका साथै उपचारमा महत्व दिइरहेका छौं। अन्य अस्पतालमा रोग पत्ता लागेपछि रेफर भएका बिरामी पनि आउँछन्। वर्षमा झन्डै ५ हजार बिरामी दर्ता भएको पाइन्छ। वर्षमा करिब १ लाख बिरामीलाई ओपिडी सेवा प्रवाह गर्छौं। २५ हजार बिरामीलाई अन्तरंग सेवा प्रवाह गर्छौं। सेवाहरूमा सर्जिकल, रेडिएसन र मेडिकल अन्कोलोजी उपलब्ध छन्।
पेडियाट्रिक, गाइने, हेड एण्ड नेक लगायत क्यान्सरमा देखिने प्रायः सबै उपचार सेवा प्रवाह गरिरहेका छौं। सेवाहरू कतिपय न्युनः शुल्क एवं निःशुल्क पनि प्रवाह गराइरहेका छौं। क्यान्सर एउटै रोग होइन। विभिन्न किसिमका रोगहरू पनि विद्यमान हुन्छन्। हामीले गुणस्तरीय सेवा दिइरहेका छौं। बिरामीहरू परीक्षण एवं उपचार गर्न आउनेहरू बढ्दै गइरहेका छन्। बेडको अभाव छ। अकुपेन्सी दर ९९ प्रतिशत नै हुन्छ। रेडिएसन सेवामा पनि चाप बढ्दो छ। लिनियर एक्सिलेटर, कोवाल्ट र ब्राकीथेरापी गरी तीनवटा मेसिन छ। एक महिना कुर्नु पर्छ। अप्रेसनका लागि पनि दुई/तीन साता पालो कुर्नुपर्ने अवस्था छ। ब्लड क्यान्सरको सन्दर्भमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा प्रवाह गर्न सकिएको छैन। सरकारको सहयोग भएमा थप सेवाहरू प्रवाह गर्न सकिन्थ्यो।
सबैको सहयोग चाहिन्छ : डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अन्नपूर्ण मिडियाले क्यान्सर रोगको विषयमा राउन्ड टेबल कार्यक्रम आयोजना गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट र व्यक्तिगतरूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। सञ्चारमाध्यमबाट क्यान्सर रोकथामका लागि जनचेतना प्रवाह भइरहेको छ तर हामी नेपाली व्यवहारमा लागू गर्दैनौं। उपचार लगायतका सबै कुरा नेपालमै होस्, अझ एकैचोटी होस् अझ तुरुन्तै भन्छौं। तर, कुल बजेटमध्ये स्वास्थ्य क्षेत्रमा ४.२ प्रतिशत बजेट छुट्याइएको अवस्था छ। यो अवस्थामा चुनौती धेरै छन्। जुन व्यक्तिको कोही छैन, त्यसका लागि राज्य छ भन्ने सोचका साथ विभिन्न कार्यक्रम सरकारले गर्दै आएको छ। राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) बनाएका छौं। ९ वटा रणनीति, ५५ वटा कार्यनीति र कार्ययोजना छ। यसको कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय एकदमै संवेदनशील छ। यहाँहरूको निरन्तर सहयोग सँगै दबाब पनि चाहिन्छ।
अहिले सातवटै प्रदेशमा क्यान्सर रोग जँचाउन, फलोअप गर्न र निदानको व्यवस्था मिलाएका छौं। भक्तपुर क्यान्सर अस्पतालबाट कोशी र मधेस प्रदेशमा बीपी कोइराला भरतपुरबाट गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट लुम्बिनी प्रदेशमा सेवा प्रवाह भइरहेको छ। सामान्य अवस्थाका बिरामीलाई काठमाडौं आउनु नपरोस् भनेर नै यसरी सेवा प्रवाहको व्यवस्था मिलाइएको हो। सेटेलाइटका रूपमा भए पनि सेवा विस्तार गरिएको सबैलाई जानकारी नै छ। बाल क्यान्सरलाई दृष्टिगत गर्दै निःशुल्क बाल क्यान्सरको उपचार सुरु गरेका छौं। त्यसमा उपयोग हुने ३५ वटा केमोथेरापी औषधि नेपाल आइपुग्दैछ।
केमोथेरापी औषधि महँगो छ। विज्ञहरूसँगको छलफलको आधारमा बढी प्रयोग हुने केमोथेरापीको सूची बनाइएको छ। संघसंस्थाबाट सहयोगका लागि पहल गरिरहेका छौं। स्वास्थ्य कर कोषमा सुरुदेखि नै ५ करोड आएको छ। कोषमा रकम वृद्धिका लागि अर्थ मन्त्रालयमा अनुरोध गरेका छौं। कर कोषको रकम जनचेतना जगाउन खर्च हुन्छ। सरकारी, सामुदायिक र निजी अस्पतालले पनि उपचारमा सहयोगका लागि उपलब्ध गराएका छौं। अहिले १२ वटा क्यान्सर अस्पतालबाट क्यान्सरको दर्ता भएको छ। ९ जिल्लाबाट क्यान्सर बेस्ड रजिस्ट्री भइसकेको छ। मुलुकभरका सबै स्वास्थ्य संस्था, आधारभूत एवं प्रादेशिक अस्पतालबाट डीएचआईएस टुलमार्फत पनि क्यान्सर रजिस्ट्री भइरहेछ।
रेडियोथेरापी मेसिन उपलब्ध होओस् : डा. रक्षा श्रेष्ठ, मेडिकल अन्कोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल, सुरेश वाग्ले मेमोरियल क्यान्सर उपचार केन्द्र
क्यान्सर रोग विशेषज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु भएकोमा आभार व्यक्त गर्दछु। तीन वर्षअघिसम्म केमोथेरापी सेवा लिन आउने बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नु पथ्र्यो। त्रिवि शिक्षण अस्पतालमा क्यान्सरको सर्जरी सेवा थियो। तर, केमोथेरापी सेवा थिएन। गतवर्ष मेडिकल अन्कोलोजीमा बहिरंग विभागमा नौ हजारभन्दा बढी बिरामी सेवा लिन आएका थिए। त्यस्तै, हेमाटोलोजी (रक्त क्यान्सर) उपचार सेवा लिन आठ हजारभन्दा बढी बिरामी आएको तथ्यांक छ। हरेक वर्ष बिरामीको संख्या बढ्दै गएको छ। अहिले ९० बेड सञ्चालनमा छ।
उपचार गर्ने जनशक्तितर्फ दुई जना मेडिकल अन्कोलोजिस्ट छौं। मेडिकल अफिसर र रेसिडेन्ट डाक्टरहरूको सहयोग लिएका छौं। रेडियोथेरापी मेसिन राख्नका लागि बंकर बनाइएको छ। रेडियोथेरापी सेवाका लागि मेसिन नहुँदा सेवा प्रवाह गर्न सकिएको छैन। सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु, सुरेश वाग्ले क्यान्सर उपचार केन्द्रमा कम्तीमा एउटा रेडियाथेरापी मेसिन उपलब्ध होस्।
सरकारी छानामुनि सबै उपचार होस् : डा. अरुण शाही, मेडिकल अन्कोलोजिस्ट, पाटन अस्पताल
क्यान्सर रोग र यसका विभिन्न आयामबारेमा आमजनतासमक्ष पुर्याउने कार्यमा अन्नपूर्ण पोस्ट्ले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। यसलाई धन्यवाद दिन चाहन्छु। सुरुका क्यान्सरका बिरामीलाई भर्ना गरेर उपचार हुँदैनथ्यो। जब म बंगलादेशबाट मेडिकल अन्कोलोजी पढेर आएँ, सुरुमा सोलिड ट्युमर र हेमाटोलोजी (रगतको क्यान्सर) सम्बन्धी उपचार सुरु गरियो।
अहिले पाटनमा स्त्री क्यान्सर (गाइने अन्कोलोजी), बालबालिकालाई हुने क्यान्सर (पेडियाट्रिक अन्कोलोजी), अन्को सर्जरी सेवा सञ्चालन भइरहेको छ। पाटनमा दैनिक ५० देखि ६० जना बिरामीलाई केमो औषधि दिइन्छ। २६ बेड मेडिकल अन्कोलोजीका लागि व्यवस्था गरिएको छ। १८ बेड हेमाटोलोजीका लागि छुट्ट्याइएको छ। बालबालिकाका लागि १० बेड छ। प्यालिएटिभका लागि ५ वटा बेड रहेको छ। यी बेडहरू अपर्याप्त छ। हामीले बेडको समस्या भोगिरहेका छौं। अहिले पाटन अस्पतालमा प्यालेटिभ केयरको लागि एक ब्याच उत्पादन भइसकेको छ। अहिले ६ बेडको प्यालेटिभ विभागसमेत छ।
रेडियोथेरापी सेवा प्रवाह हुन सकेको छैन। केमो, रेडियोथेरापी र सर्जरी सेवा प्रवाह एउटै छानामुनि होस् भन्ने हाम्रो अनुरोधलाई सरकारले सुनिदेओस्। सुरुकै अवस्थामा छ भने क्यान्सर उपचारपछि निको हुन्छ। ८० देखि ९० प्रतिशत बिरामी उपचारपछि निको भएका छन्। पछिल्लो समय क्यान्सरका बिरामीलाई उपचार गरेर मात्र हुँदैन भन्ने अनुभव भइरहेको छ। रोकथाम, पहिचान, निदानलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने लागेको छ। सबैको भूमिका क्यान्सर लाग्नै नदिनेतर्फ हुनुपर्छ। यसका लागि खानपानमा ध्यान दिने, सुर्तीजन्य पदार्थ सेवन नगर्ने र सक्रिय जीवनशैली अपनाउनु पर्छ।
वातावरणीय पक्षमा पनि ध्यान दिऊँ : श्रीच्छा प्रधान, मिस नेपाल वर्ल्ड, २०२३
क्यान्सरको रोगको उपचारभन्दा पनि क्यान्सर रोग लाग्नै नदिने लक्ष्य राख्नुपर्छ। हामीले दैनिक खानेकुरामा विषादी प्रयोग भइरहेको त छैन ? यसतर्फ ध्यान दिउँ। वातावरणीय पक्षसँगै पारिस्थितिक प्रणालीतर्फ पनि ध्यान दिउँ। क्यान्सर मानवलाई मात्र होइन, जनावरलाई पनि हुन्छ। परम्परागत एवं रैथाने ज्ञानलाई पनि प्राथमिकता दिनुपर्छ कि ?
हामीले दिनहुँ प्रयोग गर्ने उपभोग्य वस्तुहरूमा क्यान्सरजन्य रसायन त छैन ? यसले हानि पुर्याइरहेको छ कि ? संघीय राजधानी हो, काठमाडौं। यहाँकै हावा र पानी दुवै दूषित छन्। अन्य कुरा त्यस्तै। यस खालको दूषित वातावरणले फोक्सोको क्यान्सरका बिरामी बढ्न सक्छन्। त्यसैले वातावरण स्वच्छ र हरियाली हुनुपर्छ। स्वास्थ्य र वातावरणलाई सँगसँगै नलगेसम्म लक्ष्य हासिल गर्ने कार्य अपूर्ण हुन सक्छ। क्यान्सरको रोकथामका लागि स्वास्थ्य र वातावरणीय पक्षलाई एकसाथ अघि बढाउनु पर्छ।
खोइ त साइकल लेन ? : देवेन्द्र बस्नेत, टेक्निकल डाइरेक्टर, नेपाल साइकल संघ
विश्व क्यान्सर दिवसको अवसरमा अन्नपूर्ण पोस्ट् मिडिया नेटवर्कले विभिन्न काम गर्दै आएको छ। यो सराह्रनीय काम हो। हरेक वर्ष गर्ने साइकल र्यालीका कारण साइक्लिस्टलाई हेर्ने दृष्टिकोण सकारात्मक भएको महसुस गरेका छौं। वातावरणमैत्री साधन सँगसँगै कार्बन उत्सर्जन घटाउनमा पनि साइकलको महŒवपूर्ण भूमिका छ। क्यान्सरलगायत नसर्ने रोग घटाउनका लागि पनि साइकल चढ्नु राम्रो मानिन्छ।
डाक्टरहरूले पनि कतिपय नसर्ने रोगका लागि नियमित शारीरिक अभ्यास गर्न सुझाव दिएको पाइन्छ। क्यान्सर रोग विजेताहरूले अहिले पनि साइकल चढ्ने गर्नुहुन्छ। १२ वर्ष अघिदेखि नै हामीले राजधानीलाई साइकल सिटीको रूपमा अघि बढाउन माग गरिरहेका छौं। साइकल लेन बनाउन ध्यान दिइएको छैन। सरकारी निकायले प्राथमिकता दिएको छैन। तर, साइकल लेनका लागि सरकारी निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु।
क्यान्सर नियन्त्रण रणनीतिको कार्यान्वयन होस् : प्राडा विवेक आचार्य, अध्यक्ष, सार्क फेडरेसन अफ अन्कोलोजिस्ट, नेपाल
क्यान्सरको उपचार सेवा प्रवाह गरिरहेका सरकारी संस्थाहरूमा हेर्दा लाग्छ, बजेट, जनशक्ति र पूर्वाधार पुगिरहेको छैन। कतै जनशक्ति त कतै पूर्वाधार नै पुगिरहेको छैन। कतै बजेट अभाव छ। यो हिसाबले हेर्दा कुनै न कुनै समस्या झेलिरहनु परेको देखिन्छ। सबैभन्दा पहिले रेडिएसनबाट क्यान्सरको उपचार सुरु गरेको हो, वीर अस्पतालले। त्यो बेला झन्डै ३० वर्षअघि एउटा कोबाल्ट मेसिन थियो। अहिले रेडिएसन अन्कोलोजिस्टले क्लिनिकल अन्कोलोजिस्टको पनि काम गरिरहेका छन्। केमोथेरापी र रेडिएसन दुवै सेवा दिन्छन्। क्यान्सर उपचारमा विभिन्न विधाका जनशक्ति चाहिन्छ।
सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति तयार पारेको छ। त्यो रणनीति निर्माणमा संलग्न पनि भएको थिएँ। त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यस रणनीतिमा नेपालमा क्यान्सरको उपचारका लागि आवश्यक पर्ने जनशक्ति, उपकरण, प्रयोगशालालगायतका विविध पक्षमा उल्लेख गरिएको छ। एकैपटक कार्यान्वयन गर्न नसकिए पनि सुरुवात त गरौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मेरो एउटै मात्र अनुरोध छ, क्यान्सर नियन्त्रण रणनीतिलाई कार्यान्वयन गर्नतिर लागौं।
जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिउँ : डा. प्रकाशराज न्यौपाने, अध्यक्ष, नेपाल सर्जिकल सोसाइटी
झन्डै चार दशकदेखि क्यान्सरको उपचारमा संलग्न छु। यस अवधिमा विभिन्न सरकारी संस्थामा काम गरेको अनुभव छ। सुरुको अवस्थामा क्यान्सर उपचारका लागि संस्था र जनशक्ति न्यून थियो। अहिले औषधि, उपचार र जनशक्तिमा केही सुधार भएको छ। नेपालमै पनि क्यान्सरको औषधि उत्पादन हुन थालेको छ।
सुरुको अवस्थासँग तुलना गर्दा क्यान्सर उपचारमा जनशक्तिमा केही सुधार भएको छ। स्वदेशमै जनशक्ति उत्पादनमा हामी पछि नै छौं। मेडिकल अन्कोलोजी र सर्जिकल अन्कोलोजीमा पर्याप्त मात्रामा जनशक्ति उत्पादन भइरहेको छैन। विज्ञ जनशक्तिलाई सहयोग गर्ने प्यारामेडिक्सहरू पनि उत्पादन हुन सकिएको छैन। नर्सिङ अन्कोलोजी बल्ल सुरु भएको छ। रेडियोथेरापी टेक्निसियनहरू पर्याप्त उत्पादन भइरहेको छैन। यति लामो वर्षसम्म पनि एकाध विषयमा पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेको महसुस भइरहेको छ। बाहिरबाट पढेर आएका दक्ष चिकित्सकहरूलाई करारमा
लिएर भए पनि व्यवस्थापन गर्नु जरुरी छ।
दरबन्दी छैन भनेर विज्ञ चिकित्सकलाई सेवा गर्ने ढोका बन्द गर्नु हुँदैन। स्वदेशमा आएको दक्ष जनशक्तिलाई स्वागत गर्न सकेमात्र रोगीले सहज र गुणस्तरीय सेवा पाउने हुन्। सरकारी क्यान्सर अस्पतालहरू छन्। तर, पूर्वाधार निर्माणमा ढिलासुस्ती छ। जसका कारण लागत खर्च बढिरहेको छ। जनताले सेवा पाउन सकेका छैनन्। रेडियोथेरापी मेसिन ल्याउन किन ढिलाइ ? सेवा प्रवाहमा चुस्तता नहुनु पनि नराम्रो पक्ष हो। यसमा अनुगमन हुनै पर्छ।
सहजै निको हुने र मृत्युदर बढाइरहेको क्यान्सरलाई हेर्ने दृष्टिकोणमा समीक्षा हुनुपर्छ। क्यान्सर उपचारमा पैसा बाँड्नेभन्दा सेवा प्रवाहमा जोड दिउँ। क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरौं। रेडियोथेरापीको सेवा शुल्कमा सरकारी र निजीमा धेरै गुणा फरक छ। धनी व्यक्तिले त जसरी पनि उपचार गर्ला तर गरिब मानिसलाई गाह्रो छ। सरकारी अस्पतालमा सेवा प्रवाहमा सुधार ल्याउन जरुरी छ। केही निजी अस्पतालको सेवा शुल्क महँगो छ। यसमा पनि सरकारी अनुगमन जरुरी छ। क्यान्सरको उपचार मल्टिडिसिप्लिनरी हो। विभिन्न अस्पतालमा क्यान्सरको विङ्स बनाएर पनि उपचारलाई प्रभावकारी गर्नुपर्छ।
राष्ट्रिय साइकल दिवस मनाऔं : सञ्जीव बलामी, सदस्य, नेपाल साइकल सोसाइटी
अहिले विभिन्न कार्यक्रमका लागि साइकल जोडिने गर्छ। त्यसैले साइकल लेनको विषय हामीले पटकपटक उठाइरहेका छौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग पनि छलफल गरिसकेका छौं। स्वास्थ्य र वातावरणका दृष्टिले साइकल सबैभन्दा राम्रो साधन हो। राष्ट्रिय साधनका रूपमा साइकललाई लिने गरौं। राष्ट्रिय दिवस बनाऔं। साइकलको अधिकतम प्रयोगले वातावरणीय प्रदूषण पनि घट्छ। साइकल चढौं, सबैले लाभ उठाऔं।
बाल क्यान्सर निको हुने सम्भावना बढी हुन्छ : डा. सनी सिपाई, रक्त बाल क्यान्सर रोग विशेषज्ञ, कान्ति बाल अस्पताल
बाल क्यान्सरको सम्बन्धमा कतिपय स्वास्थ्यकर्मीलाई समेत ज्ञान छैन। यदि ज्ञान छ भने पनि त्यो पर्याप्त छैन। जसका कारण पनि धेरै अभिभावक उपचारका लागि विभिन्न अस्पताल चहार्ने गरेको पाइएको छ। विभिन्न अस्पतालमा जँचाएपछि निकै ढीलो मात्र कान्ति बाल अस्पतालमा उपचार गर्न ल्याएको पाइएको छ। कतिपय क्यान्सर भएका बालबालिका उपचारबाट छुटिरहेका छन्।
बालबालिकालाई क्यान्सर भइसकेपछि खाना मन नगर्ने, वजन घट्ने हुन्छ। वयस्क व्यक्तिलाई क्यान्सर हुँदा रोकथाम र बचाउको दृष्टिले हेर्छौं। बाल क्यान्सर स्क्रिनिङको पाटो त्यस्तो धेरै हुँदैन। त्यसैले छिटो पहिचान र उपचारमा ल्याउन सके निको पार्ने सम्भावना बढी हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), वल्र्ड चाइल्ड क्यान्सरसँग पनि सहकार्य गरेर विभिन्न कार्यक्रम गरिरहेका छौं। ६ वटा प्रदेशका प्रादेशिक अस्पतालमा सेन्टरहरू स्थापना गरिएको छ। मधेस प्रदेशमा सेन्टर स्थापना गर्न बाँकी छ। ती अस्पताल आसपासमा भएका बाल क्यान्सरका बिरामीहरूलाई काठमाडौं आउनु परेन। यसले पारिवारिक, आर्थिक समस्यामा सहयोग भएको पाएका छौं। बालबालिकाको पोषणका लागि आईपानसँगको सहकार्यमा पोषणमा काम गरिरहेका छौं। सेवा प्रवाहतर्फ केही समस्या छन्। कान्ति बाल अस्पतालबाट केमोथेरापी र सर्जरी सेवा दिइन्छ। सर्जरी सेवामा विशेषज्ञताको अभाव खडकएको छ। ग्यास्ट्रो, न्युरोको सर्जरी सेवा भने उपलब्ध छैन। त्यसका लागि हामीले शिक्षण अस्पताल र वीर अस्पतालमा सहयोग लिने गरेका छौं।
बोन म्यारो ट्रान्सप्लान्टका बिरामीका लागि सेवा उपलब्ध गराउन सकिएको छैन। रेडियोथेरापीको पनि सुविधा नभएकाले अन्य सरकारी अस्पतालमा रेफर गरिरहेका छौं। बालबालिकाको क्यान्सरको पहिचानका लागि आवश्यक जाँचहरू कान्ति बाल अस्पतालमै गर्न पाए धेरै सजिलो हुन्थ्यो। बाल क्यान्सरका कतिपय औषधि समयमा नपाइने समस्या छ। सरकारले विपन्न नागरिकलाई लक्षित गरेर एक लाखको उपचार सुविधा दिएको छ। तर, त्यो पर्याप्त छैन।
प्रस्तुति : दिनेश गौतम।
प्रतिक्रिया दिनुहोस !