जनकपुरमा अवैध अस्पतालको बिगबिगी, २० को अनुगमन गर्दा १९ अवैध
जनकपुरधाम : जनकपुरधामको मुस्कान अस्पतालले एक जना बिरामीको पित्तथैलीको अप्रेसन गर्यो। अवैध रूपमा सञ्चालित उक्त अस्पतालको लापरबाहीका कारण बिरामीको २० दिनसम्म होस आएको छैन। उक्त घटनापछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार बिहानैदेखि निजी अस्पतालको अनुगमनमा जुटे। २० वटा निजी अस्पतालको अनुगमन गर्दा १९ वटा अवैध रूपमा सञ्चालनमा रहेको पाइयो।
मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर, बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, साइन मल्टिस्पेसियालिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, राम मेमोरियल हस्पिटल प्रालि, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल अपोलो हस्पिटल, मिथिला केयर क्लिनिक, जनकपुर मोर्डन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र माँ गायत्री मेमोरियल हस्पिटल प्रालि कतै पनि दर्ता नभई सञ्चालनमा रहेको जनाएको छ।
यस्तै, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वितिका हेल्थ केयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि, ओम दीर्घायु हस्पिटल प्रालि, अरमान हस्पिटल, नैनाँ हस्पिटल र मिहिला इन्टरनेसनल हस्पिटललगायतका निजी अस्पतालहरूको अनुगमन गरिएको थियो। जसमध्ये म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको मात्र कागजात दुरुस्त रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
मुख्यमन्त्री सिंहले अधिकांश अस्पतालहरू दर्ता नगरी सञ्चालनमा रहेको र केही अस्पतालले २ देखि ४ वर्षसम्म नवीकरण नगरेको भेटिएको जानकारी दिए। ती अस्पतालले कानुनी मापदण्ड पूरा नगरेको र जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको भन्दै मुख्यमन्त्री सिंहले २४ घण्टाभित्र अस्पतालमा रहेका बिरामीलाई अन्यत्र सारेर अस्पतालको साँचो सरकारलाई बुझाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले अस्पतालहरूको अनुगमनलाई कडाइका साथ अघि बढाउने प्रतिबद्धता जनाए। जनताको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्ने अस्पताल विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए। अनुगमन टोलीमा मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. राजीव मि श्रा, डा. सन्तोष ठाकुर सहभागी छन्।
अझै होस आएन बिरामीको
मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेसन गरेका बिरामीको अझै होस खुल्न सकेको छैन। अवैधानिक रूपमा सञ्चालित मुस्कान अस्पतालमा गत माघ ३ गते नै पित्तथैलीको अप्रेसन गरेकी सर्लाही हरिपुर्वा नगरपालिका— ५ की पविताकुमारी राय यादवको पित्तथैलीको अप्रेसन गर्दा उनी जीवनमरणको दोसाँधमा जुधिरहेकी छिन्।
बबिता यादवका बुवा ब्रह्मदेवका अनुसार बिचौलिया सुशीलकुमार यादवमार्फत पविताको मुस्कान अस्पतालमा अप्रेसन गरिएको थियो। डाक्टर ज्ञानकुमार साहले पित्तथैलीको अप्रेसन गरेका थिए। तर अप्रेसनसँगै पविताको होस हराएको थियो।
ब्रह्मदेवले भने, ‘शल्यक्रियापश्चात बबितालाई भेन्टिलेटरमा राखियो। तर कुनै सुधार आएन। सिटीस्क्यान गराउन अस्पतालले बाहिर पठायो। सिटीस्क्यान गराएर आइसकेपछि अस्पतालले उनलाई स्नायुसम्बन्धी समस्या रहेको भन्दै अन्तै लगेर उपचार गराउन भन्यो। त्यसपछि माघ ६ गते जानकी हेल्थ केयरमा लगेर भेन्टिलेटरमा राखियो। तर, त्यहाँँ पनि अहिलेसम्म पविताको होस आएको छैन।’
पविताका आफन्त वीरेन्द्र अधिकारीका अनुसार शल्यक्रियाका क्रममा डाक्टरले लापरबाही गरेकाले गम्भीर अवस्था आएको हो। उनले अस्पताल र डाक्टरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेका छन्। ‘अप्रेसनमै भएको चरम लापरबाहीले होस आएको छैन,’ अधिकारी भन्छन्, ‘लापरबाही गर्ने डाक्टर र मुस्कान अस्पतालमै राम्रो उपचार हुन्छ भनेर ललाइफकाइ अप्रेसन गर्न पठाउने बिचौलिया सुशीलकुमार यादवलाई कारबाही हुनुपर्ने र पविताको जीवनरक्षाका लागि उपचारको प्रबन्ध मिलाउन सबै पक्षसँग माग र न्यायका लागि गुहार गरिरहेका छौं।’
अस्पतालको ब्यानरमा दिइएको नम्बरमा फोन गर्दा आफूलाई अस्पतालका सल्लाहकार बताउने कमल राईले दर्ता भए÷नभएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘मलाई यो विषयमा केही थाहा छैन, डाक्टरसँग सोध्नुस् यो मेरो सरोकारको विषय पनि होइन, म अस्पतालको सल्लाहकारमात्र हो।’ पविताको अप्रेसन गरेका डा. साहले अस्पताल दर्ता भए नभएकोसँग आफूलाई मतलव नभएको बताए। उनले भने, ‘अस्पताल दर्ता छ कि छैन, मलाई थाहा हुने विषय भएन, मेरो सरोकारको विषय पनि भएन।’
यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले मुस्कान अस्पताल प्रालि बन्द गर्न निर्देशन दिए। शुक्रबार राति मुस्कान अस्पताल पुगेका मुख्यमन्त्री सिंहले अस्पतालका सञ्चालक सैयद अलीलाई अस्पताल बन्द गरी सरकारलाई साँचो बुझाउन निर्देशन दिए। मुस्कान अस्पताल बन्द गरेर सञ्चालकले सरकारलाई साँचो हस्तान्तरण गरेका छन्। अस्पतालका बिरामीहरूलाई जानकी हेल्थ केयरमा सारिएको छ।
प्रतिक्रिया दिनुहोस !