प्रतिनिधिसभा बैठक
प्रचण्डलाई विश्वप्रकाशले भने : दोहोरो मानसिकता त्याग्नुस्, माओवादीसँग मिल्दा प्राकृतिक, एमालेसँग मिल्दा कसरी अप्राकृतिक ?
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कांग्रेस र एमालेको सरकार कसरी अप्राकृतिक भयो भन्दै प्रश्न गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस र माओवादीको सरकार हुँदा प्राकृतिक हुने कांग्रेस र एमाले हुँदा कसरी अप्राकृतिक भयो भन्दै प्रश्न गरेका हुन्।
‘दोहोरो मापदण्डको मानसिकतालाई भत्काउन म आह्वान गर्छु। प्रतिपक्ष दलका नेताले माघको २४ गते सम्बोधनको क्रममा वर्तमान सरकार संवैधानिक र प्राकृतिक नभएको भन्नुभयो। कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो। अनि कांग्रेस र एमाले मिल्दा कसरी अप्राकृतिक भयो। यसको बारेमा उहाँको व्याख्या कुनै बेला सुनौंला।’
दुई वटा भिन्न दर्शनको सरकार बन्नु गणितिय बाध्यता र परिस्थितिको आवश्यकता भएको उनले बताए। ‘प्राकृतिक त हामीले पनि कोही दावा गरिरहेका छैनौं। तर,संवैधानिकमा पनि छैन त ? उनले प्रश्न गर्दै भने‘ संविधानको धारा बमोजिम कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा संवैधानिक अनि त्यहि संविधानको त्यहि धारा-उपधाराको त्यहि नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक ? ’
उनले प्रचण्डको अभिव्यक्ति आवेगात्मक अभिव्यक्तिको नमूना रहेको उल्लेख गरे। उनले अध्यादेश संविधानबमोजिम नै आएको धारणा राखे। उनले विषय र परिस्थितिलाई केन्द्रमा राखेर ढृष्टिकोणमा राख्दै आएको धारणा राखे।
शर्माले आवेगात्मक प्रस्तुतीले जनताप्रति विश्वास घटेको होकि भन्ने तर्क गरे। ‘हाम्रो शैलीले नागरिक पङ्तिमा असर गर्यौं कि !’ उनले भने,‘विधेयक टुंगोमा नपुग्दा कसैलाई दोष दिएर उम्किने स्थान छैन।’ संसद्को आस्था र नेतृत्वप्रति भरोशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। देशप्रति विश्वास जगाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
उनले अड्किएका विधेयक परिमार्जनसहित पारित गर्न र विकास निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !