फ्रि भिसा फ्रि टिकटको चक्करमा २ लाख ६० हजार तिर्नुपर्ने बाध्यता

फ्रि भिसा फ्रि टिकटको चक्करमा २ लाख ६० हजार तिर्नुपर्ने बाध्यता

डोल्पा : प्रत्येक वर्ष पुस, माघमा फुर्सदिलो समयको सदुपयोग गर्न म डोल्पाबाट काठमाडौं आउने गर्छु। यस समयमा आफन्त भेटघाटदेखि घुमफिर हुने भएकाले पनि एक किसिमको उत्साह छाउने गर्दछ। सधैंजस्तो यस पटक पनि १९ पुसमा म बुवाआमा र गाउँका दुई जना दाइसँग काठमाडौं हिँडे। घर नजिकको त्रिपुराकोट बजारबाट सिधै काठमाडौंको बस चढियो।

मेरो काठमाडौं यात्रा घुमघाम र भेटघाट उन्मुख थियो। तर, ती दुई जना दाइहरूको यात्रा भने बाध्यात्मक अवस्थाको उपज थियो। अर्थात् उहाँहरू बाध्यताले काठमाडौं हिँड्नु भएको थियो। छोराछोरीको पढाइलेखाइ गराउन, घरपरिवार पाल्न, लागेको ऋण तिर्न र सुखी जीवनको सपना साकार पार्न काठमाडौं जान लागेको उहाँहरूको भनाइ थियो। सिधा भन्नुपर्दा वैदेशिक रोजगारमा खाडी मुलुक छिर्ने दुवैको घरदेखिकै योजना हो। 

डोल्पादेखि काठमाडौंसम्मको यात्रा करिब एक रात एक दिन लाग्छ। त्यही भएर पनि गाडीमा वैदेशिक रोजगारसम्बन्धी कुराहरू गर्दै हामी लाग्यौं। मेरो पेसा पत्रकारिता भएकाले वैदेशिक रोजगारका विषयमा बुझ्ने जिम्मा र भरोसा उहाँहरूले मलाई दिनुभयो। विश्वासिलो र भरपर्दो अनि न्यूनतम लागतमा विदेश पठाउने म्यानपावर खोजेर पठाइदिन दुवै जनाले आग्रह गर्नुभयो।

म आफैं वैदेशिक रोजगारका विषयमा केही सैद्धान्तिक रूपमा जानकार भए पनि पूर्ण जानकारी थिएन। कहाँ कुन म्यानपावरमार्फत कुन देश जाँदा राम्रो हुन्छ भन्ने पनि खासै थाहा थिएन। म यसअघि एउटा पनि म्यानपावर पुगेकै पनि थिइनँ। उहाँहरूको याचनामा मैले आफूले सक्दो सहयोग गर्ने र सँगसँगै बुझ्न जाने वाचा गरेँ। ती दुई जनामध्ये एक मेरो दाइ नाता पर्ने हुनुहुन्थ्यो भने अर्का मेरो गाउँले दाइ र सँगै एसएलसी दिएको साथी हुनुहुन्थ्यो। 

वैदेशिक रोजगारमा जाने धेरै व्यक्तिहरू दलालबाट ठगिएका घटनाहरू उहाँहरूले पनि धेरै सुन्नुभएको रहेछ। त्यसैले पनि यस विषयमा कुरा उठाउँदा नै ठगिने चिन्ता व्यक्त गर्नुहुन्थ्यो। मैले पनि यस्ता घटनाहरू बारम्बार सुनेको थिएँ। कोरिया पठाउँछु भनेर विराटनगर झारेको, वैदेशिक रोजगारमा पठाउँछु भनेर लाखौं करोडौं ठगी गरेको। यस्तै–यस्तै ठगीका कैयन घटना सुनिएका छन्। त्यही भएर पनि पत्रकारलाई नै अघि लगाएर बुझ्यो भने ठगिँदैन भन्ने उहाँहरूको आशय थियो।

यस्तै गफगाफमै हामी काठमाडौं पुग्यौं। पुगेको भोलिपल्टदेखि नै उपयुक्त वैदेशिक रोजगारको खोजीमा भौंतारिन थालियो। काठमाडौंमा जति बस्यो धेरै खर्च लाग्ने भएकाले एक साताभित्र भिसा लगाएर डोल्पा फर्किने दुवैको इच्छा थियो। आफूहरू आर्थिक रूपमा विपन्न भएकाले सकभर फ्रि भिसा फ्रि टिकटमा उड्ने प्रयास दुवैको थियो। मैले पनि मलेसिया, साउदी अरब, दुबई, ओमानलगायतका देशमा सरकारले शून्य लागतमा कामदार पठाउँछ भन्ने थाहा पाएको थिएँ। त्यही भएर पनि चिनजानका नेता र प्रशासकको भनसुनको सहयोग मागेर भए पनि फ्रि भिसा फ्रि टिकटमा दुवैलाई वैदेशिक रोजगारमा उडाउन कोसिस गर्ने आश्वासन दिएँ। 

वास्तवमा दुवै जनाको आर्थिक अवस्था निकै नाजुक थियो। काठमाडौं आउँदा नै एक जना दाइले आमाको वृद्धभत्ताको रकम ल्याएर खर्च जोहो गरेको बताउनु भएको थियो। अर्कोले चर्को ब्याजमा ऋण काडेर खर्च जोहो गरेको दुःखेसो पोख्नु भएको थियो। यी दुवै खर्चका स्रोतले नै आर्थिक अवस्था प्रस्ट पार्दछ। खासमा यस्ता व्यक्तिले नै फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा जान पाउनुपर्ने होइन र ? नेपाल सरकार र प्रधानमन्त्रीज्यूलाई हाम्रो प्रश्न छ। तर, यो परिस्थिति पक्कै थिएन र छैन पनि। फ्रि भिसा र फ्रि टिकट पाउन गरेका निम्न प्रयासहरूले वैदेशिक रोजगारीका संघर्षलाई छर्लंग पारेको छ।

काठमाडौं पुगेको भोलिपल्ट देखिनै फ्रि भिसा फ्रि टिकट दिने म्यानपावर कम्पनीको खोजीमा हामी निक्लियौं। लक्ष्य प्राप्तिका लागि काठमाडौंका चोक गल्ली चाहार्न थालियो। नामै नसुनेका राष्ट्रिय दैनिकमा प्रकाशित शून्य लागतमा वैदेशिक रोजगारीको अवसर भन्ने सूचनामा राखिएको नम्बरमा पनि फोन गरियो। कतिपयले फोनबाटै सम्बन्धित म्यानपावरको ह्वाट्स एप नम्बरमा पासपोर्ट, बायोडाटा र फोटो पठाउन लगाए। कतिपयले कार्यालयमै आएर बुझ्न अनुरोध गरे। हामी भने एकाबिहानैदेखि कहिले एयरपोर्ट, कहिले गौशाला, कहिले बसुन्धरा त कहिले सामाखुसी गर्दै फ्रि भिसा फ्रि टिकट लागू भएका म्यानपावरहरू भौंतारिरह्यौं। तीन वटा म्यानपावरले दुवै जनाको पूर्व अन्तर्वार्ता लियो तर पास नभएको भन्दै फिर्ता पठाइदियो।

कतिपयले अन्तर्वार्ताको लागि पासपोर्टको सक्कल कपी नै राख्नुपर्ने भने। कतिपयले फ्रि भिसा फ्रि टिकट भने पनि आधा रकम तिरेमा भनेकै देशमा उडाइदिने आश्वासन दिए। वैदेशिक रोजगारमा म्यानपावरभन्दा शक्तिशाली बिचौलिया एजेन्ट हुने रहेछन्। यो कुरा म्यानपावर चाहार्दै हिँडेपछि प्रस्ट भयो। एजेन्डहरूले नै वैदेशिक रोजगारीमा जाने मान्छे ल्याइदिने भएकाले उनीहरूले भनेको म्यानपावर सञ्चालकले सजिलै मान्ने रहेछन्।

ooo

फ्रि भिसा फ्रि टिकटको पहिलो प्रयास असफल भएपछि हाम्रो दोस्रो प्रयास सुरु भयो। एजेन्टमार्फत आधाउधी रकम तिरेपछि फ्रि भिसा फ्रि टिकटमा उड्न पाइने सुइँको पाइयो। हामी आफैं महिनौं म्यानपावर धाए पनि वैदेशिक रोजगारमा जान पाइन्न भन्ने प्रस्ट भयौं। अब एजेन्टमार्फत जाने निधो गरियो। वैदेशिक रोजगारमा दक्खल राख्ने एक एजेन्टसँग कुरा भयो। भेटेर कुरा गर्ने उनले बताए।

उनीसँगको भेटमा दुई जनालाई फ्रि भिसा फ्रि टिकटमा खाडी मुलुकको कुनै एउटा देशमा पठाइदिन हामीले अनुरोध गर्‍यौं। तलबमा खाइपाइ गरेर ४० हजार बचे पनि हुन्छ भने दुवै जनाको एउटै स्वर थियो। ती एजेन्टले भने, ‘म फ्रि भिसा फ्रि टिकटमै उडाउने म्यानपावरमार्फत विदेश पठाइदिन्छु। तर, आधा रकम होइन पूरै रकम लाग्छ।’ एकछिन हामी छक्क पर्‍यौं। फ्रि भिसा फ्रि टिकटमा पैसा तिरे त कसरी भयो फ्रि। हामीले उनलाई प्रतिप्रश्न गर्‍यौं। एजेन्टले भने सरकारको फ्रि भिसा फ्रि टिकट नाम मात्रको हो।

‘लाग्ने पूरै रकम तिर्नुपर्छ’, उनले निर्धक्क भने, ‘कि त प्रधानमन्त्री, मन्त्री, मन्त्रालयका उच्च पदस्थ कर्मचारी वा वैदेशिक रोजगारअन्तर्गतका विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीको आफन्त हुनुपर्‍यो। होइन भने फ्रिमा उडाउन सकिँदैन। त्यतिमात्र होइन म तपाईंहरू दुवै जनालाई विदेश पठाउने ग्यारेन्टी दिन्छु। तर, फ्रि भिसा फ्रि टिकटको लागि हुने अन्तर्वार्तामा तपाईंहरूले हामीले एक रुपैयाँ तिरेको छैन भन्दै झुट बोल्नुपर्ने हुन्छ।’ मलेसिया, दुबई, साउदी अरब, ओमान, कतारलगायतका देशमा फ्रि भिसा फ्रि टिकटमा उड्न कामको प्रकृति हेरेर चार लाखसम्म खर्च गर्नुपर्ने उनको भनाइ थियो। एजेन्टको यस्तो कुरा सुनेपछि हाम्रो दोस्रो प्रयास 
पनि असफल भयो।

ooo

तेस्रो प्रयासस्वरूप चिनजानका जनप्रतिनिधिमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीलाई भनसुन गर्न लगाए फ्रिमा उड्न पाइन्छ कि भन्ने आशा एजेन्टले देखाएका थिए। सोही अनुसार हामीले दौडधुप सुरु गर्‍यौं। ती एजेन्टले पनि मन्त्री र मन्त्रालयका उच्च अधिकारीको कोटा हुने भएकाले उनीहरूले चाहेमा एक दुई जनालाई फ्रि भिसा फ्रि टिकटमा उडाउन सक्ने बताएका थिए।

एजेन्टले भनेअनुसार श्रम मन्त्रालयका एक उच्च अधिकारीलाई हामीले भेट्ने प्रयास गर्‍यौं। लगातार दुई दिनको प्रयासपछि मन्त्रालयका एक अधिकारीले दुई मिनेट समय दिए। भेटघाटको क्रममा दुवैको आर्थिक अवस्था कमजोर भएकाले फ्रि भिसा फ्रि टिकटमा उडाउन म्यानपावरलाई भनसुन गरिदिन आग्रह गरियो। ती अधिकारीले पनि योग्यताका विषयमा सोधपुछ गरी बायोडाटा टेबुलमा राख्न भन्दै उनी बैठकमा निस्किए। कसलाई भेट्ने कहाँ भेट्ने केही खुलाएनन्। हामी पनि साँझसम्ममा खबर आउँछ कि भन्ने आसमा पर्खिबस्यौं तर, खबर आएन।

भोलिपल्ट फेरि मन्त्रालयमा उनैलाई भेट्न गयौं। करिब तीन घण्टा कुरेपछि जम्मा एक मिनेट भेटको समय पाइयो। ‘सर, हजुरले भन्दिन्छु त भन्नुभयो कहाँ भेट्ने कसलाइ भेट्ने भनेर हिजो भन्नु भएन। त्यही भएर आज हामी यकिन गर्न आएका हौं’, मेरो जिज्ञासा सकिन नपाउँदै सिँढी चढ्दै गरेका ती अधिकारीले भने,‘ ठीक छ तर, प्रत्येक दिनजसो भेटेर हुन्छ र ? म काम भएपछि खबर गरिहाल्छु नि। अहिले जानुस्।’ उनको रुखो र अनिश्चित जवाफपछि भनसुन गरेर शून्य लागतमा वैदैशिक रोजगारीमा जाने आशा मरेर गयो। हाम्रो तेस्रो प्रयास पनि यसरी असफल भयो। 

फ्रि भिसाको कुरै नउठाउने निधो 
अब फ्रि भिसा फ्रि टिकटको कुरै नउठाउने निधो गरेर हामी कोठा फर्कियौं। नेपाल सरकारले २०७२ सालदेखि लागू गरेको फ्रि भिसा फ्रि टिकट नाम मात्रको रहेछ भन्ने लाग्यो। पहुँचवालाको मात्र अधीनमा रहेछ भन्ने पनि प्रस्टै देखियो।

प्रत्येक ६/६ महिना जस्तोमा परिवर्तन हुने सरकारका श्रम मन्त्री र फ्रि भिसा फ्रि टिकटको वैदेशिक रोजगार भनेर नारा लगाउने नेतृत्वको चुनाव लक्षित फन्डामात्र रहेछ। फ्रि भिसा फ्रि टिकट लागू भएको एक दशक पुग्न लाग्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु आफैंमा दुःखद् कुरा हो। अहिले पनि लाखौं नागरिक वैदेशिक रोजगारमा फ्रि भिसा फ्रि टिकटको पछि लाग्दा काठमाडौंका गल्लीगल्लीमा महिनौंसम्म भौंतारिन बाध्य छन्। एजेन्टको जालोमा सोझासाझा जनता पर्दा राज्य भने उदासीन छ। फ्रि भिसा फ्रि टिकट म्यानपावरको मनग्य कमाउने भाँडो बनेको छ। 

त्यसपछि हामी फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने म्यानपावरबाहेकका निश्चित रकम लिएर वैदेशिक रोजगारीमा पठाउने म्यानपावर धाउन थाल्यौं। म पनि आफन्त साथीभाइ, चिनेजानेका व्यक्तिहरूमार्फत सुरक्षित म्यानपावरका बारेमा बुझ्न थालेँ। 

सार्वजनिक बसमा पनि एजेन्टको ठगी प्रयास
काठमाडांैमा चल्ने सार्वजनिक बसमा समेत एजेन्टहरू भेटिए। एक दिन हामी साँझ म्यानपावरमा बुझेर घर फर्किंदै थियौं। दाइ पछाडि हुनुहुन्थ्यो। म अगाडिको सिटमा थिएँ। दाइभन्दा पछाडिको सिटमा बसेका एक व्यक्तिले ‘तपाईं वैदेशिक रोजगारमा जाने हो भने मकहाँ आउँनुस्’ भन्दै थिए।

अलि राम्रो कमिसन दिए एक सातामै भिसा झार्दिन्छु भनेर दाइलाइ फकाउँदै थिए। घर खोटाङ बताउने ती एजेन्टका कुरा सुनेर मनमनै छक्क परे। काठमाडौंका प्रत्येक सार्वजनिक बसमा दुई, चार जना एजेन्ट हुँदा रहेछन् जस्तै लाग्यो। एउटा मान्छे म्यानवापरको सम्पर्कमा ल्याइदिएमा एजेन्टलाई ५० हजारसम्म आम्दानी हुने रहेछ। अझ भिसा झरे पछि सम्बन्धित रोजगारमा जाने व्यक्तिले खुसीले पार्टी दिनुपर्ने चलन रहेछ। 

सार्वजनिक बसमा भेटिएको थाकेको अनुहार 
दाइ र म सामाखुसीस्थित एक म्यानपावरमा आवश्यक कागजात बुझाएर फर्किंदै थियौं। हामी गाडीको पछाडिको सिटमा थियौं। अगाडिको सिटमा गाला ख्याउँटो परेको र झुत्रो कपडा लगाएका एक व्यक्ति क्लियर ब्यागमा केही कागजात लिएर बसेका थिए। उमेरले सायद ४० को हाराहारीका देखिन्थे। क्लियर ब्यागभित्र पासपोर्ट पनि थियो। उनको अनुहारमा निराशाको बादल मडारिएको प्रस्ट देखिन्थ्यो। सायद ठूलै पारिवारिक समस्याले गर्दा उनलाई यो उमेरमा पनि बिदेसिनुपर्ने बाध्यता आइलागेको थियो।

दाइ कुन देशको भिसा लगाउनु भयो नि भनेर दुईचार पटक सोध्दा पनि उनले बोल्न चाहेनन्। नसुने झैं गरेर बसिरहे। मलाई लाग्यो उनले मलाई एजेन्ट सम्झिए। एजेन्टबाट ठूलै धोका पाएरै मसँग बोल्ने चाहेनन् जस्तो मैले अनुमान गरे। जे भए पनि उनको त्यो निराशा अनि ढल्किँदो उमेरमा पनि बिदेसिन तम्सिनु परेको बाध्यात्मक परिस्थिति नियाल्दा मन साह्रै अमिलो भयो। 

एयरपोर्टमा जब मोलमोलाइ भइरहेको थियो

वैदेशिक रोजगारीका विषयमा बुझ्न हामी सिनामंगलस्थित एउटा म्यानपावरमा पुग्यौं। हामी त्यहाँका सञ्चालकसँग कुरा गर्दै थियौं। त्यत्तिकैमा कपाल, दाह्री फुलेका अन्दाजी ५० वर्ष नाघेका एक व्यक्ति भित्र छिरे। उनी तराई मूलका थिए सायद। हाम्रो कुराकानी चलिरहेकै थियो। यतिकैमा ती व्यक्ति सञ्चालकसामु आएर भने, ‘म ५० जना मान्छे ल्याउँछु। मलाइ प्रतिव्यक्ति कमिसन कति दिने ? ’ प्रतिप्रश्न गर्दै ती सञ्चालकले भने, ‘ हामीबाट प्रतिव्यक्ति कति कमिसनको आस गनुएभको छ, भन्नुस्।’ तर, ती व्यक्ति बोलेनन्। फेरि तिनै सञ्चालकले जतिसक्दो धेरै मानिस ल्याउनु भयो तपाईंलाईं उत्तिकै धेरै कमिसन आउँछ भनेर ती व्यक्तिलाई प्रलोभन देखाए। ‘एकछिन पछि तपाईंसँग छुट्टै मिटिङ गर्छु’, उनले भने। 

निरीह राज्य
म्यानपावर र एजेन्ट मिलेर खुल्लमखुला मान्छे बेच्नेधन्दा चलिरहँदा पनि राज्य निरीह बनेको देखियो। मान्छे बाध्यताले नै वैदेशिक रोजगारीमा जाने गर्छन्। घरपरिवार आफ्नो देश छोडेर विदेशी भूमिमा पशुझैं पिल्सिएर बस्न कसलाई पो रहरलाग्दो हो ? वैदेशिक रोजगारीमा जानेहरू धेरैजसो चर्को ब्याजमा ऋण काडेर बिदेसिने गर्छन्। त्यसमा पनि काठमाडौं आउजाउ खर्च, एजेन्टलाई बुझाउनुपर्ने चर्को रकम, रकम फसाइदिने जोखिम। यस्तै अनेकन् समस्या नेपाली नागरिकले झेल्नु परेको छ। विदेशमा श्रम पसिना बगाएर कमाएको पैसाबाट आएको रेमिट्यान्सबाट देश चलेको छ। तर, वैदेशिक रोजगारीमा पसिना बगाउन जान्छुभन्दा पनि नागरिकलाई सहज छैन। 

यसरी हुन्छ राज्यको कर छली
हामीले घुमेका धेरैजसो म्यानपावरले वैदेशिक रोजगारीमा गएबापतको रकम नगदमै एजेन्टलाई बुझाउनुपर्ने बताए। मलाई शंका लागेर सामाखुसीस्थित एक म्यानपावरका प्रमुखसँग सोधे पनि। नगद नै दिए पनि बैंक खाता वा चेकमार्फत दिए हुँदैन भनेर हामीले सोध्दा उनले हुँदैन भने। ‘चेक वा बैंक खातामार्फत दिने भए हामी तपाइलाईं विदेश पठाउन सक्दैनौं, अन्तै जानुस्’, उनले भने। मैले अझ नम्रतापूर्वक फेरि भने, ‘नगद रकम दिँदा ठगिने सम्भावना धेरै हुन्छ। हिजोआज यस्ता धेरै घटना तपाईंले पनि सुन्नु भएको होला नि। हामी तपाईंकै म्यानपावरमार्फत जान्छौं तर, नगदनै दिनुपर्ने कारण के हो। राम्रोसँग बुझाइदिनुस् न।’

यति भनेपछि उनले कुरा खोले। बैंक खातामा पैसा जम्मा गर्दा कारोबार धेरै देखिने भएकाले राज्यलाई धेरै कर तिर्नुपर्ने उनले जनाए। ‘त्यसैले पनि नगदनै लिने गरेका छौं। तपाईंका मान्छेलाई भनेकै काममा विदेश उडाए त भयो नि’, उनले थपे। काठमाडौंको एकाधबाहेक प्रायः म्यानवारवले वैदेशिक रोजगारमा पठाएबापतको रकम नगदमै लिने गरेको पाइयो। 

२ लाख ६० हजार दिने सर्तमा दुबई भिसा आवेदन

वैदेशिक रोजगारको खोजीमा करिब दुई साताको दौडधुप पछि बल्लतल्ल एक एजेन्टमार्फत मसँगै काठमाडौं आएकामध्ये एक दाइको दुबईको भिसाको लागि आवेदन दिइयो। यदि भिसा लागेमा उहाँले २ लाख ६० हजार रुपैयाँ ती एजेन्टलाई बुझाउनुपर्ने सर्तमा उनीहरूले सक्कली पासपोर्ट राखेका छन्। अर्को साथीको मेडिकल पास नभएपछि त्यत्तिकै घर फर्किनु पर्‍यो। 

के भन्छन् सरोकारवाला ?

सूर्यबहादुर खत्री - महानिर्देशक, वैदेशिक रोजगार विभाग

फ्रि भिसा फ्रि टिकटको लागि म्यानपावरले जम्मा १० हजार सेवा शुल्क दिने व्यवस्था भए पनि आन्तरिक रूपमा उनीहरूले धेरै पैसा उठाएको सुनिन्छ। लिखित उजुरी आएका माथि हामीले कारबाही गर्ने गरेका छौं। कारोबार गर्दा बैंकिङ प्रणालीमार्फत गर्ने नीति नियम बनाइए सर्वसाधारण ठगिने क्रम धेरै हदसम्म घट्नेछ। भारत र बंगलादेशले जस्तै सम्बन्धित रोजगारदाता कम्पनीले एक महिनाबराबरको तलब फ्रि भिसामा पठाउने नेपालका म्यानपावरलाई उपलब्ध गराउने नियम बनाइएमा यो समस्या निराकरण हुनेछ। 


डा.द्वारिका उप्रेती - कार्यकारी निर्देशक,  वैदेशिक रोजगार बोर्ड 

फ्रि भिसा फ्रि टिकटको कुरा सुन्दा कर्णप्रिय भए पनि व्यवहारमा लागू भएको छैन। यो अवसर आए पनि म्यानपावरहरूले आफन्त र चिनजानलाई पठाउने गरेका छन्। सम्बन्धित रोजगारदाता विदेशी कम्पनीको पनि यसमा मिलेमतो नभई एजेन्टले फ्रि भिसाका लागि पैसा उठाउन सक्दैन। 


रामेश्वर नेपाल, श्रमविज्ञ

गरिबी र बेरोजगारीका कारण मानिस वैदेशिक रोजगारीमा जान बाध्य छन्। स्वदेशमा सानातिना अवसर पाए पनि जीविकोपार्जन गर्न नसकिने भएकाले बिदेसिनु परेको हो। नेपालमा कुनै एक व्यक्ति विदेश जान्छु भनेर सपना देख्न थालेदेखि नै ठगिन थाल्छ।

विदेशीने नेपाली नागरिकले श्रम शोषणमात्र नभई यौन शोषण र आर्थिक शोषणमा पनि पर्नु परेको छ। वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन वैदेशिक रोजगारसम्बन्धी ऐनकानुनलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्छ। वैदेशिक रोजगारसम्बन्धी सही सूचनालाई गाउँगाउँमा पुर्‍याएर सर्वसाधारणलाई सचेत गराउनुपर्छ । 


आलिसान म्यानपावर कार्यालयका स्रोत के हुन् ? 

काठमाडौं पुगेको दुई सातामा हामी झन्डै एक दर्जन म्यानपावरका कार्यालयमा पुग्यौं। ती म्यानपावरको कार्यालयमा पुग्दै गर्दा अधिकांश म्यानपावरका कार्यालय आलिसान बंगलाभन्दा कम थिएनन्। बाहिर सेक्युरिटी गार्ड, भित्र छिर्न अनुमति लिनुपर्ने। भित्र छिरिसकेपछि सुरुमा सोधपुछ कक्षमा नबुझी अन्य व्यक्तिलाई भेट्नै नपाइने। कार्यालयको भित्री सजावट उत्तिकै भव्य। दर्जनांै कर्मचारी। उनीहरू हाउभाउ हेर्दा कुनै एक सुविधासम्पन्न मन्त्रालयका कर्मचारीभन्दा कम देखिन्नथियो।

म्यानपावरका कार्यालयको त्यस्तो साजसज्जा देख्दा मासिक लाखौं आम्दानी हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो। म्यानपावरको सञ्चालकलाई त भेट्नै नसकिने रैछ। हामी वैदेशिक रोजगारमा जानुअघि सबैकुरा राम्रोसँग बुझ्नुपर्छ भन्नेमा अडिक थियौँ। कति पैसा लाग्ने, कहाँ जाने, के काम गर्ने, रकम कसरी भुक्तानी गर्नुपर्ने, यस्तै यस्तै विषयमा कसैले प्रस्ट पारिदियोस् भन्ने हामी चाहान्थ्यौं। त्यसैले यी सबै बुझ्न म्यानपावरका मुख्य व्यक्तिलाई नै भेट्न हामीले धेरै ठाउँमा प्रयास गर्‍र्याैें। एकाधबाहेक अन्य ठाउँमा भेट्न पाइएन। हामीले कति रकम बुझाउनुपर्छ भनेर यकिन गर्न खोज्दा धेरैले बताउन आनाकानी गरे। 

म्यानपावरमा पनि आन्तरिक सिन्डिकेट अचाक्ली रहेछ भन्ने हामीले अनुभव गर्‍र्यौं। प्रत्येकजसो म्यानपावरमा आवेदन गर्न पासपोर्टको सक्कल कपी नै राख्नुपर्ने रहेछ। सक्कल कपी नराखे आवेदन नै नलिने उनीहरूले जनाए। सक्कल कपी नराखे, फेरि अन्य म्यानपावरमा आवेदन गर्छन् र यता आउँदैनन् भनेर पासपोर्टको सक्कल कपी राख्न लगाउने गरेका मैले बुझेँ। सकेसम्म वैदेशिक रोजगारीका लागि जान चाहने सम्बन्धित व्यक्तिलाई म्यानपावरका कर्मचारीहरूले रोजगारका विषयमा जानकारी दिन नमान्ने रहेछन्। उनीहरूसँग आर्थिक मोलमोलाइ गर्न अप्ठ्यारो हुने भएकाले एजेन्टमार्फत नै आउनुपर्ने उनीहरूको आशय झल्किन्थ्यो। त्यतिमात्र नभई, भविष्यमा कुनै उजुरबाजुर परेमा सबैभन्दा पहिले एजेन्ट नै समातियोस् भन्ने पनि रहेछ। 

एयरपोर्टस्थित एक म्यानपावर कम्पनीमा वैदेशिक रोजगारका विषयमा बुझ्न खोज्दा सुरुमा कम्पनीका कर्मचारीले बोल्न चाहेनन्। उहाँहरू दुई जना रोजगारीमा जाने हो र थप पाँच, सात जना पनि गाउँबाट आउँदै छन् भने पछि बल्ल कुरा गर्न थाले।

‘हामी सकभर वैदेशिक रोजगारीमा जाने सम्बन्धित व्यक्तिसँग डिल गर्दैनौं। किनभने पैसाको विषयमा कुरा गर्न पनि गारो, फेरि भोलि कुनै घटना घटेमा सरकारी झमेला पनि कसले झेल्छ र ? ’ म्यानपावरका प्रमुखले भने, ‘तपाईंहरू आइहाल्नु भयो। फेरि थप अरू छन् भनेपछि मात्र कुरा गरेको हो। नत्र भने एजेन्टमार्फत नै भिसा लगाइन्छ।’ यो दुई साताको अवधिमा म्यानपावरको खोजीमा काठमाडौंमा रहँदा यहाँका स्टेसनरी, चिया पसल, फोटोकपी र प्रिन्ट गर्ने पसल, जताततै छ्यापछ्याप्ती एजेन्टहरू भेटिए। उनीहरूले फोनमा कुराकानी गर्दै यहाँ यस्तो रोजगारीको अवसर छ तर यति रकम अग्रिम चाहिन्छ भनेर मोलमोलाइ गरिरहेका देखिन्थे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.