पाल्पामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
तानसेन : पाल्पामा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रामपुर नगरपालिका-३ निस्दी खोलाबाट कृतिपुरतर्फ आइरहेको लु ४ त ५२७१ नम्बरको ढुङ्गा बोकेको ट्याक्टरको ट्रलीमा बसेका रामपुर नगरपालिका-१ बर्दाकोटको १५ वर्षीय नारायण सारुको मृत्यु भएको हो।
सारु ढुङ्गा बोकेका ट्याक्टरको ट्रलीबाट लडेका थिए। उनको उपचारका क्रममा इनोभा अस्पताल काठमाडौंमा मृत्यु भएको हो। सो ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
यसैगरी तानसेन नगरपालिकाको जोगीपानीस्थित पाल्पा– गुल्मी सडक खण्डमा इभी गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
हार्थोकदेखी तानसेनतर्फ आउँदै गरेको लु प्रदेश ०१००१ ज ००७१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट जाँदै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।
घाइते हुनेमा मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका-१ हुँगाका ३८ वर्षीय प्रकाश पाण्डे र मोटरसाइकल पछाडी सवार मोटरसाइकल चालककी श्रीमती ३१ वर्षीय कमला पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते दुवै जनालाई मिसन अस्पताल पाल्पामा प्राथमिक उपचारपश्चात थप उपचारकाका लागि हेलिकोप्टरमार्फत ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
प्रतिक्रिया दिनुहोस !