न मलाई फलानाले पालेको हो, न मैले अरुको भैँसी चराएको हुँ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत अवस्थामा नागरिकता हराएकाले अर्को नागरिकता बनाएको बताएका छन्। पत्नी राधिका शाक्यको किताब ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले दुइटा नागरिकताका भएको भनेर भ्रम फैलाइएको बताए।
उनले आफूले नागरिकतामा आमा-बुबा फेर्न नसक्ने बताए। 'भूमिगत बेला कसले नागरिकता च्यापेर बस्छ? जसले ठाउँठाउँमा आफ्नो नाम परिवर्तन गर्दै हिंडेको छ, हुलिया बदल्दै हिंडेको छ, उसले नागरिकता खल्तीमा हालेर हिँड्छ?,' प्रधानमन्त्री ओलीले प्रश्न गरे, 'नागरिक हराएपछि अर्को बनाएँ। त्यसमा कुनै ब्यहोरा फरक छैन। किनकि केपी ओलीले त्यही भन्छ। म बाउ आमाको नाम परिवर्तन गर्न सक्दिनँ।'
उनल आफ्नोबारे थुप्रै अफवाह फैलाइएको बताए। बन्चरोले बाउ छोरालाई मारेको, अर्काको घरमा भैँसी चराएको लगायत भ्रम फैलाइएको उनले बताए। 'म सामान्य परिवारमा जन्मिएको मान्छे हुँ। एक माना बन्दोबस्त भएको, खेतबारीबाट धान फल्ने घरमा जन्मिएको हुँ। मलाई फलानाले लगेर पालेको, भैँसी चराएको भन्छन्। हो, मैले आफ्नै भैँसी-गाई चराएको हो। आफ्नै खेत जोतेको हो। मेरो आमा बित्नुभएपछि हजुआमाले मजाले हुर्काएको मान्छे हुँ,' उनले भने।
उनले त्यसबेलाको ट्रेन्डअनुसार आफ्नो बुबा-आमा मधेस झरेको बताए। बाढीले घरबार लगेपछि मात्रै आफ्नो दुःखका दिन सुरू भएको उनको भनाइ छ। 'हदबन्दी लाग्ने भएपछि हाम्रो जग्गा खेत पनि गएकै हो। बाढीले खेतबारी बगाएपछि हाम्रो दुःखका दिन आए। हामीले चरम गरिबी भोगेकै हो। अहिलेसम्म पनि हाम्रो दुःखका दिन हटेको छैन,' उनले भने।
उनले युवा अवस्थामा आफूमा विद्रोही स्वभाव भएको बताए। त्यसैले २२ वर्षकै उमेरमा जेल जानुपरेको उनको भनाइ छ। 'खेल्न, पढ्न मलाई राम्रो लाग्थ्यो। साथीभाइको पनि प्यारो थिएँ। हुर्किँदै गएपछि म विद्रोही स्वभाव बन्दै गयो। समाजको बेथितिको कुरा उठाउन थाले। सबै कुरा बुझ्दै जाँदा व्यवस्था र राजनीतिबारे बुझे। अनि त्यतैतिर लागे। २२ वर्षमा चल्दै थिएँ, मलाई समातेर जेल हालियो। यातना दिइयो। उदाउँदो युवालाई विभिन्न मुद्दा लगाइयो। फाँसीको माग गरियो। भात खाँदाखाँदै बाउछोरालाई बन्चरोले हानेको भ्रम छर्न थाले। पञ्चायतका मतियारहरु अहिले पनि त्यस्तै कुरा गरिरहेका छन्। मैले व्यवस्थाविरुद्धको लडाइँ लडेकै हो। मैले मान्छे सचेत बनाएकै हो। राजतन्त्रविरुद्ध लागेकै हो। म गणतन्त्रवादी भएकै हो।
निरर्थक हल्ला किन गर्नु,' उनले भने। प्रधानमन्त्री ओलीले आफ्नो जीवनकालमा १४ वर्ष जेल र ६ वर्ष भूमिगत बसेको बताए।
प्रतिक्रिया दिनुहोस !