स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङ नगरपालिकालाई
स्याङ्जा : स्याङ्जा जिल्ला क्रिकेट संघद्वारा आयोजित दोस्रो संस्करणको अन्तरपालिका स्तरीय पुरुष स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङ नगरपालिकाले हात पारेको छ।
आँधीखोला गाउँपालिकालाई २४१ रनको फराकिलो अन्तरले पराजित गर्दै गल्याङ सर्वोत्कृष्ट बन्न सफल भएको हो। उपाधि विजेता गल्याङले ४० हजार नगदसहित ट्रफी, मेडल, प्रमाण–पत्र र किटसेट पाएको छ। यसैगरी उपविजेता आँधीखोलाले २० हजार नगदसहित ट्रफी, मेडल, प्रमाण–पत्र र किटसेट पाएको हो।
पुतलीबजार नगरपालिका १३, मातृभूमि खेलमैदानमा भएको फाइनल प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको गल्याङले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१८ रन जोडेको थियो।
तीन सय १९ रनको लक्ष्य पाएको आँधीखोलाले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनायो। प्रतियोगिताका उत्कृष्ट एवं बेस्ट बलर चापाकोट नगरपालिकाका करण पंगेनी, ब्याटर आँधीखोला गाउँपालिकाका ईश्वर क्षत्री, किपर आँधीखोलाका पुर्णबहादुर जिटी, फिल्डर चापाकोटका विशाल कोइराला, इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट भीरकोट नगरपालिकाका साइमन खाँण र प्लेयर अफ द टुर्नामेन्टमा आँधीखोलाका ईश्वर क्षेत्री भएका छन्।
माघ ३० देखि जारी प्रतियोगितामा जिल्लाभरका अधिकांश पालिकाको सहभागिता थियो। खेलाडीको क्षमता पहिचान गरी उनीहरूलाई प्रशिक्षित गराउने उद्देश्यले प्रतियोगिता गरिएको स्याङजा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिए।
उपाधी विजेता गल्याङका खेलाडीलाई प्रोत्साहन स्वरूप जनही ५-५ हजार नगद प्रदान गर्ने गल्याङका नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !