महिला नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिता : प्रारम्भिक नेपाली राष्ट्रिय टिममा २५ जना खेलाडी छनोट
हेटौंडा : आगामी नोभेम्बर महिनामा नेपालमा हुने महिला नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला टिमको प्रारम्भिक खेलाडी छनोटको कार्य सकिएको छ।
गत शनिबारबाट हेटौंडा उपमहानगरपालिका-४ स्थित हुर्पाचौरमा नेत्रहीन क्रिकेट संघ नेपालको आयोजना तथा नेपाल अपांग राष्ट्रिय महासंघको सहकार्यमा नेत्रहीन राष्ट्रिय क्रिकेट महिला टिम छनोट प्रतियोगिता कार्यक्रम सुरु भएको थियो।
जसमा ७ प्रदेशबाट ३८ जना खेलाडी सहभागी भएका थिए। सहभागी भएका खेलाडीहरूलाई ३ वटा समूह बनाएर खेल खेलाएर उनीहरूको खेल क्षमता हेरेर २५ जना खेलाडीलाई छनौट गरिएको नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्ष पवन घिमिरेले बताए।
उनका अनुसार पहिलो चरणको छनोटमा परेका २५ जना खेलाडीलाई प्रारम्भिक सूचीमा राखिएको छ भने दोस्रो चरणमा हाल राष्ट्रिय टिममा रहेका मध्येसहित गरि १५ जना खेलाडीलाई छनोट गरि बन्द प्रशिक्षणमा राखिने उनले बताए। २०६२ सालमा स्थापित नेत्रहीन क्रिकेट संघले निरन्तर नेत्रहीन क्रिकेट खेललाई बिस्वमाझ अघि बढाउने कार्य गर्दै उनले बताए।
प्रतिक्रिया दिनुहोस !