महाशिवरात्रि : कपिलवस्तुको ताम्रेश्वर महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो
कपिलवस्तु : महाशिवरात्रिका अवसरमा ताम्रेश्वर महादेवको मन्दिरमा बिहानैबाट हजारौं भक्तजनहरूको घुइँचो लागेको छ । गाउँगाउँबाट आएका शिवभक्तहरू घन्टौं समय लाइन बसी पालो पर्खेर ताम्रेश्वर महादेवको पूजा गरेका छन् ।
विक्रम सम्वत् १८७२ सालमा स्थापित यो मन्दिरमा सम्भवत नेपालकै ठूलो शिवलिंग रहेको छ । कपिलवस्तु जिल्लाको साथै सिमावर्ती भारतको सिद्दार्थनगर जिल्लाका सीमा क्षेत्रका गाउँहरूबाट समेत भक्तालुहरू दर्शन गर्न आएका छन्।
करिब १ किलोमीटरको दुरीमा लामबद्ध भएर भक्तजनहरू पालो पर्खदै पूजा गरेका छन् । प्राचीन तथा सिद्ध मन्दिर भएका कारण यहाँ टाढाटाढाबाट भक्तजनहरू दर्शन गर्न आउने गरेको शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले बताए ।
यसैगरी जिल्लाको शिवराज नगरपालिकाको शिवगढी पहाडमा रहेको शिवगढी मन्दिरमा पनि शिवरात्रीको मेला लागेको छ । करिब ३ किलोमिटर पैदल उकालो चढेर भक्तजनहरू शिवगढीस्थित शिवमन्दिरमा पूजाआजाका लागि आउने गरेका छन्।
हथौसा, बहादुरगंज, बैरिया, लक्ष्मणघाटलगायतका स्थानका शिवमन्दिरहरूमा पनि बिहानैबाट भक्तजनहरूको भीड लागेको छ ।
प्रतिक्रिया दिनुहोस !