पाणिनिलाई विश्वमा चिनाउन पाणिनि सम्मेलन : मन्त्री न्यौपाने
अर्घाखाँची : लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पाणिनि तपोभूमिलाई विश्व सामु चिनाउन पाणिनि सम्मेलन गर्न थालिएको बताएका छन्।
संस्कृत व्याकरणका रचयिता पाणिनि ऋषिको तपस्यास्थल पाणिनि तपोभूमिको प्रचारप्रसार गर्न र यसको महत्व बुझाउन प्रदेश सरकारको पहलमा यही चैत २७ र २८ गते पाणिनि सम्मेलन आयोजना गर्न थालिएको बताएका हुन्।
लायन्स क्लब पाणिनिले दुर्गाफाटमा रहेको दुर्बाशेश्वर गुफा नजिकै शिवरात्रीका अवसरमा आयोजना गरेका खुला भजन प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री न्यौपानेले अर्घाखाँचीमा रहेका सुपा देउराली मन्दिर, दुर्बाशेश्वर गुफा, अर्घा भगवती, मालारानी, छत्र महाराजको मन्दिर लगायतका स्थानको प्रचारप्रसार गर्न सके अर्घाखाँची पर्यटनको क्षेत्र बन्न सक्ने बताएका छन्।
धार्मिक पर्यटक आकर्षण गर्न अर्घाखाँचीको पाणिनिमा खुला भजन प्रतियोगिता आयोजना गरिएको हो। संस्कृत व्याकरण र लोक भजनको उद्गमस्थलकै रूपमा दाबी गरिएको पाणिनि तपोभूमि, दुर्बाशेस्वर गुफा लगायतका धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरि पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता राखिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए।
९ समूहको सहभागिता रहेको भजन प्रतियोगितामा प्रथम हुने टिमले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ, द्वितीय हुने टिमले नगद २२ हजार २ सय २२ रुपैयाँ, तृतीय हुने टिमले नगद ११ हजार १ सय ११ रुपैयाँ तथा सान्त्वना हुने टिमले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !