सबै समर्थकसँग माफी माग्न चाहन्छु’

सबै समर्थकसँग माफी माग्न चाहन्छु’
सुन्नुहोस्

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिाला तुम्बाप्पो सुब्बाले समर्थकहरूसँग माफी मागेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै एञ्जिाले फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि उनले समर्थकसँग माफी मागेकी हुन्। ‘फेरि पनि हामी फाइनलमा पुग्यौं, तर चुक्यौं। कप्तानका रूपमा म सबै समर्थकहसँग माफी माग्न चाहन्छु’, एञ्जिलाले स्टाटसमा लेखेकी छन्, ‘मैदानमा उपस्थित १६ हजार दर्शक र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकको अपेक्षा र चाहना अनुसारको नतिजा दिन सकेनौं।’ 

उनले म्यानमार बलियो टोली रहेको बताउँदै पहिलो गोल आफ्नो गल्तीका कारण खान पुगेको बताएकी छन्। ‘म्यानमार हामीभन्दा धेरै बलियो टोली हो। पहिलो हाफ राम्रो खेलेका थियौं। तर, दोस्रो हाफमा मेरो गल्तीका कारण पहिलो गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ’, उनले अगाडि भनेकी छन्, ‘यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले आलोचनाभन्दा बढी हामीलाई अझ धेरै अवसर आवश्यक छ। यस्तै प्रतियोगिता र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ।’

पछिल्लो एक वर्षको अवधिमा नेपालले फाइनलमा तेस्रो हार बेहोरेको हो। सन् २०२४ को फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप र गत सेप्टेम्बरमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल पराजित भएको थियो। समग्रमा भने नेपालको १३औं फाइनल हार हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा घरेलु टोली नेपाल म्यानमारसँग २–० गोलले हार बेहोरेको थियो। पछिल्लो एक वर्षमा एञ्जिलाको कप्तानीमा नेपालको यो तेस्रो फाइनल हार हो।

‘पछिल्लो वर्षमा हामीले तीनवटा फाइनल खेलेका छौं। यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए हामीले अवश्य पनि उपाधि उचाल्नेछौं। हामीलाई मात्र तपाईंहरूको माया, साथ र समर्थनको खाँचो छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो प्रतियोगिता आयोजना गरी हामीलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग र टिम स्टाफ सबैलाई धेरै धेरै धन्यवाद ! कृपया खेलाडीलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहनत गरेका छौं। नतिजा जस्तो भए पनि तपाईंहरूको समर्पण प्रशंसनीय छ।’

एञ्जिलाले ग्रीसको निस अट्रोमिटौबाट व्यावसायिक फुटबल खेल्दै आएकी छन्। उनले अट्रोमिटौमा तीन खेलमा मौका पाएकी थिइन्। उनले गोलरक्षकको भूमिका निर्वाह गरेको खेलमा अट्रोमिटौले एक जित, एक हार र एक बराबरीको नतिजा निकालेको थियो। एञ्जिला शुक्रबार ग्रीस प्रस्थान गर्नेछिन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.