धार्मिक पर्यटन प्रवर्द्धनका लागि सराङकोटमा महायज्ञ
शनिबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सराङकोट धाममा निर्माण भएको विशाल पञ्चमुखी गणेश मूर्ति एवम् देवालयको उद्घाटन हुँदै।
पोखरा : सूर्योदयसँगै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला, पोखराबजार, फेवातालको अवलोकनका लागि प्रख्यात पोखराको सराङकोटमा थप पर्यटकीय आकर्षणका रूपमा विकास गर्न श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव सुरु भएको छ।
१४ गतेदेखि २१ फागुनसम्म जारी रहने उक्त उत्सवअन्तर्गत बुधबार पूर्वांगसहित महायज्ञ शुभारम्भ भएको हो। बाजागाजा, भजन, युद्धकलासँग सम्बन्धित सरुन खेलसहित पोखरा गाईघाटबाट सेती नदीमा स्नान गरी पञ्चकन्यासहित कलशयात्रा विन्ध्यवासिनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केबलकारमार्फत यज्ञस्थल सराङकोट टप हुँदै मूल समारोहमा परिणत भएको थियो।
पहिलो दिन अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङबाट २५ लाख, सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जीसीबाट १५ लाख, गरिमा विकास बैंकबाट ७ लाख ५० हजार, खिमबहहादुर जीसीबाट २ लाख ३३ हजार एवं अन्यदाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रचार संयोजक कृष्ण थापाले बताए। शुक्रबारसम्म महायज्ञमा ७२ लाख ६० हजार दाताहरूबाट संकलन भएको थापाले बताए। महायज्ञबाट ३ करोड जम्मा गर्ने र आम्दानी पूरा गर्न बाँकी बहुउद्देश्यीय निर्माण कार्यमा खर्च गरिने पनि उनले बताए।
सहमारोहमा अन्नपूर्ण केबलकारका अध्यक्ष गुरुङले सराङकोट धार्मिक पर्यटकीयस्थलका अलवा शक्तिपीठका रूपमा क्रमशः स्थापित हुँदै गएको सराङकोट स्वर्गको टुक्रा भएको अनुभव सुनाए। सत्कर्ममा सहयोग गर्न पाउँदा खुसी लागेको पनि उनले बताए। महायज्ञका मुख्य वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमि भएको बताए। सराङकोट धामको वृद्धि विकासका लागि योसहित ६ यज्ञ गरिएको बताए। उद्घाटनका दिन यज्ञस्थल पुग्ने सम्पूर्ण भक्तजनका लागि केबलकार तथा बसमा निःशुल्क यात्राको व्यवस्था मिलाइएको थियो।
बिहानै सूर्योदयको अवलोकनका साथै शिव, पञ्चमुखी गणेशको दर्शन गर्न फेवाताल किनार सेदीमा सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले पर्यटक र तीर्थयात्रीलाई थप सहज बनाएको छ। अन्नपूर्ण हिमशृंखला, फेवाताल र पोखरा बजारको अवलोकन गर्दे सूर्योदय र पञ्चमुखी गणेशको दर्शन गर्न सहज भएको पर्यटकले बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेशको मूर्ति एवं देवालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाएर धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भएको हो।
हालसम्म प्राचीन शिव मन्दिरसँगै विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिंग, भ्यु टावर, भूमे कालिकालगायतका संरचना बनाउन ३५ करोड खर्च भइसकेको छ। सराङकोटमा थप धार्मिक तथा पर्यटकीय संरचना निर्माणसमेत गर्ने उद्देश्यले महायज्ञ भएको हो।
सूर्योदय, अन्नपूर्ण, धौलागिरि, माछापुच्छे« हिमाल अवलोकनका लागि प्रख्यात पोखराको सराङकोटमा नयाँ पर्यटकीय आकर्षण ५१ फिट अग्लो पञ्चमुखी गणेशको मूर्ति थपिएको छ। समुद्र सतहदेखि करिब १६ सय मिटर उचाइमा रहेको सराङकोटलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरी विशेष धार्मिक र पर्यटनको केन्द्र बनाउने उद्देश्यले पुरानो शिव मन्दिरलाई नयाँ रूपमा निर्माणका साथै पञ्चमुखी गणेशको मूर्ति स्थापना
गरिएको हो।
प्रतिक्रिया दिनुहोस !