सराङकोट धाममा पञ्चमुखी गणेशको मूर्ति उद्घाटन

सराङकोट धाममा पञ्चमुखी गणेशको मूर्ति उद्घाटन
सुन्नुहोस्

पोखरा : राष्ट्रपति रामचन्द्र पौडेलले पोखराको सराङकोट धाममा निर्माण भएको पञ्चमुखी गणेश मूर्ति एवं देवालयको शनिबार उद्घाटन गरेका छन्। 
सूर्योदयसँगै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला, पोखरा बजार, फेवातालको अवलोकनका लागि प्रख्यात पोखराको सराङ्कोटमा थप पर्यटकीय आकर्षणका रूपमा विकास गर्न पञ्चमुखी गणेश मूर्ति र देवालयको निर्माण भएको हो। 

मञ्चमुखी गणेश एवं देवालयको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकासले पर्यटन विकास र दिगो पर्यटन विकासमा महत्वपूर्ण रहने बताए। पोखरालाई अझै आधुनिक र विकास निर्माण गर्न नीतिनिर्माता, तीन तहका सरकार, पर्यटन उद्यमी व्यवसायी र स्थानीय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए। 

यस क्षेत्रको विशेषता प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रबद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिने पनि राष्ट्रपति पौडेलले बताए। पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताउँदै लगानी मैत्री वातावरण बनाउन तीन तहकै सरकारले उपयुक्त नीति नियम र कानुन निर्माण गरी प्रोत्साहन गर्नुपर्ने पनि उनले बताए। 

जनताको बलिदानबाट संघीय गणतान्त्रिक लोकतन्त्र प्राप्त गरेको बताउँदै  ‘राजनीतिक परिवर्तन भएपछि मुलुकले चाहेको आर्थिक विकास हो,’ उनले भने, ‘केही भएन होइन, धेरै भएको छ,’ राष्ट्रपति पौडेलले सुनाए। तर, देश र जनताका लागि थुप्रै गर्न बाँकी रहेको बताउँदै, ‘राष्ट्र निर्माणको महायज्ञमा जुट्न सबैलाई अपील गर्छु,’ उनले भने।

युवा जनशक्ति विदेश पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको उनले बताए। यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए। देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन पूर्वाधारको विकास हो भन्दै उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्नेमा पनि उनले जोड दिए। स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको पनि उनले बताए। ‘यो पवित्र धर्मस्थलबाट म अपील गर्न चाहन्छु सबै नीति निर्माण तहमा रहेका सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस्,’ उनले भने। 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखराको पर्यटन विकासमा आआफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता जाहेर गरे। प्राकृतिक, सांस्कृतिक रूपमा पोखरा र समग्र गण्डकी प्रदेश धनी रहेकाले पर्यटन प्रवर्द्धन र विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने पनि वक्ताहरूले बताएका छन्। 

अन्नपूर्ण, धौलागिरि, माछापुच्छे«लगायतका हिमशृंखला, फेवाताल, पोखरा बजारको साथै सूर्योदय र सूर्यअस्तको अवलोकानका लागि प्रमुख पर्यटकीय गन्तव्य सराङकोट धार्मिक पर्यटनका लागि थप आकर्षणको केन्द्र बनेको छ। सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाएर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास भएको हो। 

हालसम्म प्राचीन शिव मन्दिरसँगै विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेशको मूर्ति, १०८ शिवलिंग, भ्यूटावर, भूमे कालिकालगायतका संरचना बनाउन ३५ करोड खर्च भएसकेको छ। सराङकोटमा थप धार्मिक तथा पर्यटकीय संरचना निर्माण समेत गर्ने उद्देश्यले महायज्ञ पनि भएरहेको छ। यहाँ नयाँ पर्यटकीय आकर्षण ५१ फिट अग्लो पञ्चमुखी गणेशको मूर्ति थपिएको छ। 

समुद्र सतहदेखि करिब १६ सय मिटर उचाइमा रहेको सराङकोटलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरी विशेष धार्मिक र पर्यटनको केन्द्र बनाउने उद्देश्यले पुरानो शिव मन्दिरलाई नयाँ रूपमा निर्माणका साथै पञ्चमुखी गणेशको मूर्ति स्थापना गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.