कूटनीतिमा खराब कीर्तिमान

कूटनीतिमा खराब कीर्तिमान
सुन्नुहोस्

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीचको ‘महत्वशाली’ भनिएको वार्ता जब अपमान र तिक्ततामा परिणत भयो, त्यसले विश्वसमुदायमै टिकाटिप्पणी ल्याएको छ। पछिल्ला समय बढ्दा यस्ता घटनाले विश्वमा कूटनीतिक मर्यादालाई मजाक बनाउँदै लगिएको आभास दिलाएको छ। राष्ट्रपतिद्वय डोनाल्ट ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच वार्ताका क्रममा भएका गैरकूटनीतिक संवाद, अपमानजनक परिवेश र कतिपय प्रोटोकल उल्लंघन संसारकै लागि रमिताको विषय बनेको छ। त्यसमा पनि ह्वाइट हाउसभित्र पत्रकारबीच प्रत्यक्ष प्रसारणमै गरिएको संवादको यो अवस्था अशोभनीय रह्यो।

रूसले सुरु गरेको युद्धमा प्रतिरक्षात्मक लडाइँमा रहेको युक्रेनलाई अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको छ। त्यसकै आधारमा भाउ–मर्यादा पाउनुपर्ने अमेरिकी अहम् र कमजोर युद्धकर्तालाई शक्तिशाली राष्ट्रले व्यवहारतः होच्याउन नहुने युक्रेनको जिकिर अन्त्यमा असहजतामा परिणत भएको छ। उपराष्ट्रपति जेडी भेन्सलाई साथमा राखेर राष्ट्रपति ट्रम्पले जसरी हायलकायल बनाउन चाहे, त्यसका लागि आक्रोशित बनाउन जेलेन्स्कीले पनि केही भूमिका निर्वाह अवश्य गरे। जस्तो ः पोसाक र हात बाँधेर बोल्ने शैली जेलेन्स्कीका गैरकूटनीतिक आँट थिए। उता शक्ति राष्ट्रले जे भन्यो मान्नैपर्ने दबाब ट्रम्प–भेन्सको अभिव्यक्तिमा झल्किन्थ्यो। अमेरिकी राजनीतिज्ञ लिङ्क्लोन च्याफीले भनेका थिए, ‘कूटनीतिको दुनियाँमा कतिपय कुरा नभनिएकै जाती हुन्छ।’ त्यही अमेरिकामा ‘धेरै भनेर’ कूटनीतिको नयाँ परिभाषा निर्माण भएको छ। र, घटनालाई लिएर विश्व समुदायले क्षोभ प्रकट गरेको छ।

अमेरिकी व्यवहारले हाम्रो मुलुकका नेतृत्वलाई पनि पाठ सिकाएको छ। दुई ठूला छिमेकीका बीचमा रहेको नेपालले कूटनीतिक व्यवहारमा तटस्थता कायम राख्नुपर्छ। कुनै देश आकारमा साना हुन सक्छन् तर आत्मसम्मानमा कुनै कमजोर हुँदैनन् भन्ने सबै राष्ट्रले बुझ्नुपर्छ। प्रविधिको विकासले सिंगो विश्व नै एक हुँदै गइरहेको अवस्थामा द्वन्द्व समाधानका उत्तम विकल्प पहिल्याउनु पर्नेमा झन् कूटनीतिक मर्यादा बिर्सिएर अन्योल सिर्जना गर्नु आफैंमा अनुपयुक्त छ।

राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रहरूबीच सम्मानजनक सम्बन्ध कायम हुनुपर्छ। जसको हातमा शक्ति छ, उसले नै नियम बनाउने होइन, सबै राष्ट्र बराबर हुन्छन् भन्ने भावना अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित हुनुपर्छ। नत्र, आज युक्रेन अपमानित छ, भोलि अर्काे कुनै राष्ट्र पनि यही नियतिमा पर्नेछ। बरु एकअर्का मुलुकबीच मैत्री र करुणाको भावना विकास गर्न सके सिंगो विश्व नै शान्तिमय बन्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.