बालबालिकालाई ब्लड क्यान्सर, स्वदेशमै सम्भव छ उपचार
काठमाडौं : धेरैलाई लाग्न सक्छ, बाल्यावस्थामै रक्त (ब्लड) क्यान्सर हुनु भनेकै मृत्युको मुखमा पुग्नु हो। तर, अहिले सयौं नेपाली बालबालिकाहरू ब्लड क्यान्सर जितेर सामान्य जीवनमा फर्किएका छन्। स्कुल गएर सुनौलो भविष्यको सपना बुन्दै छन्।
बालबालिकालाई हुने विभिन्न क्यान्सरमध्ये सबैभन्दा धेरै देखिएको छ, ब्लड क्यान्सर। वरिष्ठ बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीका अनुसार ब्लड क्यान्सर पहिचान भएका उमेर समूहलाई हेर्दा ब्लड क्यान्सरले सामान्यतया एक वर्षदेखि १० वर्षसम्मका बालबालिकालाई पिरोलेको छ। बाल्यावस्थामै सन्तानलाई ब्लड क्यान्सर हुँदा अभिभावक पिरोलिन्छन्। समयमै उपचार नपाउँदा कैयौंको ज्यान गइरहेको छ। तर, पछिल्लो समय उपचार गराउन आउनेहरूको संख्या क्रमिक रूपमा बढ्दो छ। भक्तपुर क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा.ऋतु लामिछाने भन्छिन्, ‘सन्तानलाई ब्लड क्यान्सर भएको सुन्दा अभिभावकहरू आत्तिनु स्वाभाविक हो। सुरुकै अवस्थामा ब्लड क्यान्सर पहिचान भएकाहरू निको भएर घर फर्केका उदाहरण प्रसस्तै छन्।’
जटिल अवस्थामा मात्रै उपचारमा आउने
कान्ति बाल अस्पतालमा ब्लड क्यान्सर भएका बिरामीहरू जटिल अवस्थामा आउँछन्। ढिलो उपचार गर्न आउँदा निको हुने सम्भावना थोरै हुने कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सनि सिपाई बताउँछन्। डा. सिपाई भन्छन्, ‘विकसित मुलुकहरूमा ९० प्रतिशत निको भएको तथ्यांक छ। तर, हाम्रोमा स्पष्ट तथ्यांक छैन। कान्ति अस्पतालमा उपचारका लागि आएकामध्ये ६५ देखि ७० प्रतिशत निको भएको पाइएको छ।’
कलिला बालबालिकामा के कारणले ब्लड क्यान्सर हुन्छ ? वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. तिवारी भन्छन्, ‘कोषिकामा हुने जिन, क्रोमोजोममा कुनै कारणवस क्षति पुग्न गएमा असामान्य कोष बन्न थाल्छ। असामान्य कोषहरू नै क्यान्सर हो।’ विकिरणको प्रभावका साथै विषादीयुक्त र दूषित खाद्यपदार्थको सेवनले ब्लड क्यान्सर हुने जोखिम रहने डा. तिवारी बताउँछन्।
हरेक वर्ष थपिन्छन् बिरामी
ब्लड क्यान्सर ४० भन्दा बढी प्रकारहरू हुन्छन्। ब्लड क्यान्सर मुख्य गरी ल्युकेमिया, लिम्फोमा बढी पाइएको छ। ल्युकेमिया एक रक्त क्यान्सर हो जुन रगत र बोन म्यारोमा उत्पन्न हुन्छ। शरीरले धेरै असामान्य सेतो रक्त कोशिकाहरू सिर्जना गरेको अवस्थामा ब्लड क्यान्सर हुन्छ। ल्युकेमियामा पनि धेरै किसिमका हुन्छन्। जसमध्ये एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) र एक्युट मेलोइड ल्युकेमिया (एएमएल) ले धेरैलाई सताएको पाइएको छ।
डा. तिवारीका अनुसार एएलएलभन्दा एएमएल बढी कडा खालको हुन्छ। अर्को लिम्फोमा ब्लड क्यान्सर हो। हचकिन तथा ननहचकिन लिम्फोमाको समस्या पनि बालबालिकामा देखिएको छ। जुन लिम्फोसाइट भनिने कोशिकाहरूबाट लिम्फेटिक प्रणालीमा विकसित हुने डा. तिवारी बताउँछन्।नेपालमा हरेक वर्ष १ हजार ५ सय जना बालबालिकामा विभिन्न किसिमका क्यान्सरको पहिचान हुने गरेको छ। जसमध्ये ७० देखि ७५ प्रतिशत ब्लड क्यान्सर भएका बालबालिका उपचारको पहुँच बाहिरै रहेको बाल क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। डा. सनि सिपाई चिन्ता व्यक्त गर्दै भन्छन्, ‘हरेक वर्ष ब्लड क्यान्सर भएका सयौं बालबालिका उपचारको दायरामा आउन सकेका छैनन्। बालबालिकामा छिटो पहिचान गर्ने र उपचार सुरु गर्न सकेमा निको पार्ने सम्भावना बढी हुन्छ।’ ब्लड क्यान्सर भएका २५ प्रतिशत बालबालिकामात्र उपचारको दायरामा आएको चिकित्सकहरूको अनुमान छ।
स्वास्थ्यकर्मी नै अनविज्ञ
ब्लड क्यान्सरले एक वर्षदेखि १० वर्षसम्मका बालबालिकालाई बढी पिरोलेको पाइएको छ। तर, जटिल अवस्थामा पुगेपछि बल्ल उपचारमा आउँछन्। डा. प्रकाशनिधि तिवारी, वरिष्ठ बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ
भक्तपुर क्यान्सर अस्पतालमा सन्तानलाई जँचाउन आएका कतिपय अभिभावक चिकित्सकलाई उल्टै प्रश्न गर्छन्, ‘बालबालिकालाई पनि ब्लड क्यान्सर हुन्छ र ? ’
जन्मेदेखि १८ वर्षमुनिका बालबालिकालाई क्यान्सर बढ्दो क्रममा छ। डा.लामिछाने भन्छिन्, ‘दुःख लाग्दो कुरा कतिपय अभिभावकलाई बालबालिकालाई क्यान्सर हुन्छ र ? भन्दै सोध्नु हुन्छ। बाल क्यान्सरको उपचार गर्ने विशेषज्ञ हुन्छन् भन्ने पनि कतिपय अभिभावकलाई थाहै छैन।’
कान्ति बाल अस्पतालका ब्लड क्यान्सर रोग विशेषज्ञ डा. सनि सिपाई रक्त क्यान्सरका बारेमा अभिभावक मात्र नभई कतिपय स्वास्थ्यकर्मीमा समेत पर्याप्त जानकारी नभएको बताउँछन्। ‘क्यान्सर भन्ने बित्तिकै ठूलो मान्छेलाई मात्र हुने हो भन्ने अज्ञानता गाउँघरमा अझैं छ,’ डा. सिपाई भन्छन्, ‘स्थानीय तहमा कार्यरत कतिपय स्वास्थ्यकर्मीलाई रक्त क्यान्सरबारे जानकारी नै छैन। यदि कुनै स्वास्थ्यकर्मीमा जानकारी छ भने पनि त्यो पर्याप्त छैन।’
डा. सिपाई रक्त क्यान्सरका विषयमा पर्याप्त जानकारी नहुँदा अभिभावकको उपचारमा भौतारिनु परेको बताउँछन्। ‘सन्तानको उपचारका लागि विभिन्न अस्पताल धाउने, सन्चो नभएको भन्दै विभिन्न चिकित्सकहरूलाई जँचाउने गरेको पाइएको छ,’ डा. सिपाई भन्छन्, ‘निकै ढिलो मात्र रक्त क्यान्सरको उपचार हुने अस्पतालमा आएका उदाहरणहरू धेरै छन्।’
छिटो पहिचानको चुनौती
रोग पहिचानमा समस्यादेखि खर्चिलो उपचारका कारण सर्वसाधारणले खेप्नुपरेका हैरानी खेप्नु परेको छ। ब्लड क्यान्सरको छिटो पहिचान गर्ने र उपचारको दायरमा ल्याउने ठूलो चुनौती रहेको बाल क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। बालबालिकाको वजन घट्दै गएको, राति पसिना आउने, टाउको दुख्ने वा बारम्बार संक्रमण भइरहने समस्या सन्तानलाई देखिएको छ भने यथाशीघ्र स्वास्थ्य जाँच गराउनुपर्ने बाल क्यान्सर रोग विशेषज्ञ डा. तिवारीको सुझाव छ।
सामान्य बालबालिकामा देखिने लक्षणहरू क्यान्सर भएका बालबालिकामा पनि देखिने हुन्छ। यसैले अभिभावकहरूमा ब्लड क्यान्सरको अनुमान वा शंका नै नगर्ने प्रवृत्ति रहेको चिकित्सकहरूको भनाइ छ। अन्य रोगसँग मिल्दोजुल्दो खालका लक्षणहरू ब्लड क्यान्सरमा देखिने भएकाले अभिभावक मात्र नभई स्वास्थ्यकर्मीसमेत अलमलमा पर्ने गरेको पाइएको छ।
भौगोलिक विकटता, जनचेतनाको अभाव र गरिबीका कारण पनि ब्लड क्यान्सर भएका बालबालिका उपचारको पहुँचमा आउन सकेका छैनन्। डा.ऋतु लामिछाने, भक्तपुर क्यान्सर अस्पताल
डा. लामिछाने बेलैमा ब्लड क्यान्सर रोग पहिचान गर्ने चुनौती रहेको बताउँछिन्। ‘बालबालिकासँग सम्बन्धित रोगको प्रभावकारी उपचार गर्ने बाल स्वास्थ्य संस्था र विज्ञ चिकित्सकको कमीले गर्दा पनि प्रारम्भिक पहिचानमा ढिलो हुने गरेको छ,’ डा. लामिछाने भन्छिन्, ‘भौगोलिक विकटता,जनेचतनाको अभाव र गरिबीका कारण पनि ब्लड क्यान्सर भएका बालबालिका उपचारको पहुँचमा छैनन्।’
डा.सिपाईका अनुसार, स्थानीयतहका स्वास्थ्यकर्मीलाई ‘अर्लि चाइल्डहुड वार्निङ, साइन्स एन्ड सिम्टम्स’ नामक कार्यक्रम चलाइएको छ। प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत, नर्स, अहेबलगायतका प्यारामेडिक्सहरूलाई लक्षित गरेर यो कार्यक्रम चलाइएको हो।
डा. सिपाई भन्छन्, ‘स्थानीय तहका स्वास्थ्यकर्मीलाई बाल क्यान्सरसम्बन्धी तालिम दिने जमर्को गरिरहेका छौं।’ मुलुकका सातवटै प्रदेशका प्यारामेडिक्सहरूलाई तालिम दिन सके बाल क्यान्सरको छिटो पहिचान गर्न र उपचारको दायरामा ल्याउन सकिने डा. सिपाईको विश्वास छ।
भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतलामा अधिकांश बिरामी जटिल अवस्थामा आउने गरेको चिकित्सकहरू बताउँछन्। समयमै उपचारको दायरामा आएको अवस्थामा ८० प्रतिशतको हाराहारीमा बिरामीहरूलाई निको पार्न सकिने भक्तपुुर क्यान्सर अस्पतालकी डा. लामिछाने बताउँछिन्।
स्याम्पल विदेश पठाउनुपर्ने बाध्यता
मुलुकका सरकारी एवं निजी अस्पतालमा ब्लड क्यान्सरको किसिम पत्ता लगाउने स्याम्पल(नमुना) को जाँच नेपालमा हुँदैन। अस्पतालहरूले भारत लगायतका विभिन्न मुलुकमा पठाउने गरेका छन्।
क्यान्सरको प्रकार पत्ता लगाउने उपकरण हो, जेनेटिक एनालाइसिसका उपकरण। देशभित्र ब्लड क्यान्सरको उपचार सेवा प्रवाह गरिरहेका अस्पतालमा ब्लड क्यान्सरको प्रकार पत्ता लगाउने जेनेटिक एनालाइसिसका उपकरणहरू छैनन्। पर्याप्त उपकरण, औषधि, बेड, विशेषज्ञ चिकित्सक र नर्सहरूसमेत छैनन्। सन् २००९ मा बीपी क्यान्सर अस्पतालले जेनेटिक एनालाइसिसका उपकरणको सेटमध्येको एक फ्लुरेसेन्स माइक्रोस्कोप झन्डै ६५ लाख रुपैयाँमा खरिद गरिएको थियो। हाल उक्त उपकरण थन्क्याइएको छ। भारतमा स्याम्पल पठाएर क्यान्सरको पहिचान गर्नुपर्ने अवस्था छ। त्यस्तै मोलिक्युलर ल्याबसमेत छैन। क्यान्सरको कोषभित्र हुने क्रोमोजोममा भएका खराबी पत्ता लगाउने तथा साइटोजेनेटिक जाँच्ने उपकरणसमेत छैन।
यस्तै, कान्ति अस्पतालमा क्यान्सरको कोषको प्रकार पत्ता लगाउने फ्लोसाइटोमिटर उपकरण नै छैन। नर्वेले सन् २००८ मा दिएको यो उपकरण लगत्तै बिग्रिएको कान्ति अस्पतालबाट सेवा निवृत्त डा. तिवारी बताउँछन्। क्यान्सरको कोषको प्रकार पत्ता लागेपछि मात्र बिरामीलाई आवश्यक औषधि उपचार थालिन्छ। तर, अस्पतालले उक्त उपकरणको मर्मतमा चासो नदिँदा बिरामीका आफन्तले भारत पु¥याएर रगत जाँच्नुपर्ने बाध्यता कायम छ। बीपी क्यान्सर अस्पतालमा पनि फ्लोसाइटोमिटर एक वर्षदेखि थन्किएको छ।
हरेक वर्ष ब्लड क्यान्सर भएका सयौं बालबालिका उपचारको दायरामा आउन सकेका छैनन्। रोग छिटो पहिचान गरी उपचार गर्दा निको हुने सम्भावना बढी हुन्छ। डा. सनि सिपाई, बाल क्यान्सर रोग विशेषज्ञ, कान्ति बाल अस्पताल
डा. तिवारीका अनुसार, ब्लड क्यान्सरको प्रकार छुट्ट्याएर उपचार गर्दा कम खर्च लाग्ने र छिटो निको पार्न सकिने हुन्छ। डा. तिवारी भन्छन्, ‘जति राम्रोसँग जाँच र परीक्षण गर्न सकियो त्यति थोरै औषधि लाग्छ। क्यान्सरको प्रकार पत्ता लागेपछि थोरै औषधि प्रयोग हुन्छ।’
भारतमा स्याम्पल नमुना पठाउने लाग्ने शुल्कमा समेत एकरूपता छैन। क्यान्सर पीडित बालबालिकाको गुणस्तरीय उपचार गर्न मोलिक्युलर ल्याब पनि अत्यावश्यक मानिन्छ। तर, देशभर कतै पनि यो ल्याब नभएको डा. तिवारी बताउँछन्।
कान्ति बाल अस्पतालका डा. सिपाईका अनुसार, जनशक्तिको समस्या, औषधिको अभाव लगायतका समस्या हुँदाहुँदै प्रभावकारी उपचार भइरहेको छ। ‘रोगको पहिचान (डायग्नोसिस)को लागि विभिन्न जाँच गर्नुपर्ने हुन्छ। अधिकांश जाँचको नतिजा थाहा पाउन भारत पठाउनुपर्छ,’ डा. सिपाई भन्छन्, ‘निजी ल्याबबाट भारत पठाउनु पर्दा नमुना (स्याम्पल) बिग्रने पनि हुन सक्छ। अर्कोतर्फ रिपोर्ट पनि ढिलो आउँछ।
वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा सातवटै प्रदेशमा रहेका प्रादेशिक अस्पतालमा केयर सेन्टर स्थापना गरिएको छ। फलोअप गर्नुपर्ने खालका केसहरूमा केयर सेन्टरअन्तर्गत प्रदेशमै दिने गरिएको छ। ‘प्रदेश तहमै उपचार होस्। काठमाडौं आइरहनु नपरोस् भनेर यो व्यवस्था गरिएको हो,’ डा. सिपाई भन्छन्, ‘अहिलेसम्म मधेस प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा सेवा सुरु भइसकेको छ।’
निःशुल्क हुन्छ उपचार
सरकारले मंसिर १ गतेदेखि १४ वर्ष मुनिका विभिन्न क्यान्सर रोगबाट प्रभावित बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सेन्ट जुड चिल्डे«न्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्ड हुड क्यान्सर मेडिसिन्स अन्र्तगत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरिसकेको छ। क्रमैसँग थप औषधी उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
ब्लड क्यान्सरको प्रमुख उपचार किमोथरापी (औषधि) महँगो छ।
सरकारले विपन्न नागरिकका लागि १ लाख रुपैयाँ बराबरको उपचार सहयोग दिने गरेको छ। बाल क्यान्सर रोग विशेषज्ञका अनुसार,बोनम्यारो प्रत्यारोपण र कार्टिसेल प्रत्यारोपण उपचारबाहेक अन्य उपचार नेपालमै हुन्छ। यो जानकारीसमेत अभिभावकहरूलाई छैन।
जतिजति ढिलो उपचार हुन्छ, त्यति निको हुने सम्भावना चुनौतीपूर्ण हुन्छ। त्यस्तै कतिपय बिरामीहरू काठमाडौं उपचार गराउँदा बेखर्ची भएपछि उपचार हुँदाहुँदै बीचैमा बिरामी सन्तान बोकेर घरतर्फ फर्कने गर्छन्। बाल क्यान्सर रोग विशेषज्ञहरू भन्छन्, ‘ब्लड क्यान्सर भएको छ भने पनि घरमा नराख्नुहोस्। अस्पतालमा ल्याउनु भएको छ भने उपचार गर्दागर्दै बीचैमा नछोड्नु होस्।’
वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. तिवारी रोग निदानका लागि सबै उमेरका व्यक्तिलाई हुने क्यान्सरको आधारभूत लगायतका जाँचहरू निःशुल्क हुनुपर्ने बताउँछन्। टारगेटेड थेरापी, इम्युनो थेरापी र कुनै केसमा बोन म्यारो ट्रान्सप्लान्ट लगायत विधिबाट ब्लड क्यान्सरको उपचार गर्न सकिने भएकोले स्वदेशमै पूर्वाधार सहित दक्ष जनशक्ति, औषधिको पर्याप्त व्यवस्था हुनुपर्नेमा डा. तिवारीको सुझाव छ।
१४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार
डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
बालबालिकालाई हुने विभिन्न क्यान्सरमध्ये ब्लड क्यान्सरले बालबालिकालाई बढी प्रभावित गरेको छ । बालबालिका भनेका भविष्यका कर्णधार हुन्। त्यसैले सरकारले ब्लड क्यान्सरसहित अन्य क्यान्सरहरू पुष्टि भएका १४ वर्षमुनिका सबै बालबालिकाको निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ। गत मंसिर महिनादेखि निःशुल्क उपचार गर्ने घोषणा गरिएको हो।
सरकारी अस्पतालहरू कान्तिबाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ब्लड क्यान्सर भएका बालबालिकाकोे उपचार भइरहेको छ। सरकारले बालबालिकालाई हुने विभिन्न क्यान्सरलाई उपयोग हुने ३५ प्रकारका औषधिको निःशुल्क उपलब्ध गराउँछ।
सरकारले निःशुल्क उपचार मात्र होइन क्यान्सर रोगविरुद्ध सचेतना अभियान समेत सञ्चालन गरिरहेको छ।
क्यान्सर नियन्त्रण रणनीतिलाई व्यवहारमा कार्यान्वयन गर्न रोकथाम र सचेतनाका कार्यक्रमहरू अघि बढाएको छ। मुलुकका सातवटै प्रदेशमा बालबालिकाको समयमै स्वास्थ्य परीक्षण गर्ने अभियानलाई पनि जोड दिएका छौं। सरकारले गरिरहेका क्यान्सर विरुद्धको निरोधात्मक, प्रचारात्मक र उपचारात्मक कार्यक्रमले उपचार बाहिर रहेका बालबालिकालाहरू उपचारको दायरामा ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौं।
प्रतिक्रिया दिनुहोस !