वीर अस्पतालमा दुवै सिफ्टमा अप्रेसन सेवा सुरु
काठमाडौं : देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन सेवा दुई सिफ्टमा सुरु गरेको हो।
अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अप्रेसन आरम्भ गरिएको बताए। यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अप्रेसन सेवा उपलब्ध भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए।
सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अप्रेसन बल्ल सुरु गरेको हो। ‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा सुरु भएका छन्, उनले भने, विस्तारै बाँकी अरू सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ। आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए।
दुवै सिफ्टमा हुने अप्रेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए। डा. गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !