सुधार नभएका बालसुधार गृह
१८ वर्षमुनिका बालबालिकाले कानुन उल्लंघन वा अपराध गरे जेल पठाइन्न । बालसुधार गृहमा राखिन्छ । नेपालमा सबैजसो प्रदेशमा बालसुधार गृह छन् र तिनमा अहिलेसम्म १२ जनाभन्दा बढी कसुरदार थुनिएका छन् ।
बालसुधार गृहको उद्देश्य बालबालिकाले अपराध गरेमा तिनलाई कारागार सजाय दिनुभन्दा सुधार गर्ने भन्ने हो । त्यसो त कारागार स्वयंलाई पनि सुधारगृह बनाइनुपर्छ भन्नेमा अर्काे मत रहँदैन । खासगरी बालबालिका जो उमेर नपुग्दै आपराधिक क्रियाकलापमा संलग्न हुन्छन् तिनलाई त झन् सुधारबाहेकको विकल्प रोज्नै सकिन्न । तसर्थ नै बालसुधार गृह चाहिएको छ, बनाइएको छ । तर उद्देश्यविपरीतका गतिविधि चाहिँ तिनै बालसुधार गृहमा भइरहेका छन् । साँच्चिकै पहिला बालसुधार गृहकै सुधारको खाँचो देखिएको छ । त्यो खाँचोको औचित्य पुष्टि गर्ने काफी घटनाक्रम भइसकेका छन् ।
भक्तपुरको मध्यपुरथिमीस्थित बालसुधार गृहमा १८ वर्षीय कमल बस्नेतको ज्वरोका कारण मृत्यु भएपछि त्यहाँ तोडफोडमात्रै भएन । २ सय १९ जना बालकहरू गृहबाटै बाहिर निस्किए । प्रहरीसँग ठूलो मुठभेड पनि भयो । २०८० साल भदौको त्यो घटना नै बालसुधार गृहमै सुधारको सुरुआत गर्न पर्याप्त थियो । त्यसपछि वीरगन्जको बालसुधार गृहमा पनि प्रदर्शन र तोडफोडको घटना भएको थियो । हालै विराटनगरको बालसुधार गृहमा झडप भएको छ र १४ जनालाई स्थानान्तरण गर्नुपरेको छ ।
क्षमताभन्दा बढी संख्याका बालकहरू सुधार गृहमा हुँदा उनीहरूको बसाइ नै सहज छैन । अनि त्यहाँ शिक्षा र स्वास्थ्यको पनि कुनै गतिलो प्रबन्ध छैन । उमेर पुगिसकेका व्यक्ति पनि बाल सुधार गृहमै कोचिएका पनि छन्, जसले आफूभन्दा सानालाई आपराधिक बनाइरहेका पनि देखिन्छ । बालसुधार गृह केवल बनाउनका लागि बनाइएजस्तो गरी बनाएको छ । त्यसपछिका कर्तव्य पूरा गर्न राज्य हदैसम्म निरीह र अनुत्तरदायी भएको छ । त्यसैको परिणाम सुधार गृह आपराधिक थलो भएका छन् ।
चार गुणासम्म बढी क्षमताभन्दा बालक कोचेर बालसुधार गृहमा राख्नु भनेको वास्तवमा यातना दिनु हो । त्यसैले नै सुधार गृहले सुधार नगरी बिगारेको मानसिकता बढाएको छ । यातना गृहको जस्तो बसाइकै कारण बालकहरू हिंसा प्रेरित भएका छन् । उनीहरूको असन्तुष्टिले हिंसा निम्त्याएको छ । बालसुधार गृहको संख्या बढाएरमात्रै र सजिलो बसाइ दिएरमात्रै यो समस्या समाधान हुँदैन । पहिलो त बालबालिकाहरूलाई आपराधिक कार्यबाट जोगाउनेतिर समाज र राज्यले काम गर्नुपर्छ । अनि कथं आपराधिक कार्यमा संलग्न भएका बालकहरू भए भने साँच्चिकै सुधार गर्ने गरी सुधार गृहहरूलाई विकास गर्न गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !