रौतहटको जंगलमा घाइते हात्ती ‘यमगज’ संकटमा

रौतहटको जंगलमा घाइते हात्ती ‘यमगज’ संकटमा
सुन्नुहोस्

रौतहट : दुई महिनादेखि रौतहटको उत्तरी भेगका जंगल र वरपरका बस्तीहरूमा घाइते अवस्थामा देखिएको जंगली हात्ती ‘यमगज’ उचित उपचार र हेरचाहको अभावमा जीवन-मरणको दोसाँधमा पुगेको छ।

चन्द्रपुर नगरपालिका–२ र ३ स्थित जंगलमा देखिएको यो हात्ती पूर्वी पर्सा राष्ट्रिय निकुञ्जबाट भटकिँदै आदर्श सामुदायिक वनको नर्सरी क्षेत्रमा आएको बताइन्छ। अगाडिको दाहिने खुट्टा सुनिएको र हिँड्न कठिन अवस्थामा रहेको कारणले ‘यमगज’ दिनप्रतिदिन कमजोर हुँदै गएको छ। आफैं चरन गर्न नसक्दा झनै संकटमा परेको छ।

पीडाले छटपटाइरहेको ‘यमगज’लाई लिएर सामाजिक सञ्जालमा टिकटक र रिल भिडियोहरू भाइरल भइरहेका छन्। हात्ती हेर्न आउने मानिसहरूको भीड लाग्ने गरेको छ, जसले हरियो मकैको घोगा र केरा लिएर खुवाउने गरेका छन्। तर, शिकारीहरूको उपस्थिति रहेको यस क्षेत्रमा ‘यमगज’को जीवन थप जोखिममा रहेको छ।

 
२०७० साल चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट भट्किएको गैँडालाई शिकारीहरूले गोली हानेका थिए। घाइते अवस्थामा रहँदा उचित उपचार नपाउँदा दुई महिनापछि गैँडाको मृत्यु भएको थियो। सोही नियति ‘यमगज’ले भोग्न नपरोस् भनेर स्थानीयहरू चिन्तित बनेका छन्।

यस विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यलाई गत साता सम्पर्क गर्दा, उनले हात्ती जंगली भएकाले त्यसै छाडिदिनुपर्ने बताएपछि स्थानीय बुद्धिजीवीहरू आक्रोशित भएका छन्। संरक्षणको जिम्मेवारीमा रहेका अधिकारीहरूको यस्तो गैरजिम्मेवारीपूर्ण धारणा प्रति स्थानीय समाजसेवी एवं शिक्षाविद् बुद्धिराज नेपालीले गम्भीर आपत्ति जनाए।

डिभिजन वन कार्यालयले हात्तीको उद्धार तथा उपचारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं र राष्ट्रिय प्रकृति संरक्षण कोष ललितपुरलाई फागुन १५ गते पत्राचार गरिसकेको छ। वन कार्यालयले समयमा उपचार गर्न नसके हात्ती मर्ने खतरा रहेको स्पष्ट पारेको छ।

यसअघि फागुन १ गते चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सक टोलीले ‘यमगज’लाई डार्ट गरेर जंगलमै उपचार गरेको थियो। तर, उपचार प्रभावकारी नहुँदा अहिले पनि घाउ निको भइसकेको छैन। शिकारीको गोली लागेको हुनसक्ने अनुमान गरिएको भए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
चन्द्रपुर नगरपालिकाका स्थानीयहरू तथा संरक्षणकर्मीहरूले ‘यमगज’को उचित उपचार र उद्धार तत्काल गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.