परीक्षा केन्द्र नहुँदा दुर्गमका परीक्षार्थीलाई सास्ती
गोरखा : बिहीबारदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ। गोरखाका ११ पालिकाका ३ हजार ४ सय ४१ परीक्षार्थी २३ परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुँदै छन्। हिमालपारिको चुमनुब्री गाउँपालिकामा भने परीक्षा केन्द्र छैन। पालिकाभरि परीक्षा केन्द्र नहुँदा त्यहाँका एसईई दिने ८८ जना परीक्षार्थीले सास्ती खेपिरहेका छन्। आफ्नै पालिकामा परीक्षा केन्द्र नहुँदा वडा नं. २ को ल्हो मावि र वडा नं. ३ को बुद्ध माविका विद्यार्थी दुइटा गाउँपालिका कटेर आरूघाट गाउँपालिका ४ आर्खेतस्थित गण्डकी मावि परीक्षा केन्द्रमा आइपुगेका छन्।
जिप चढेर सात घण्टा लामो कच्ची बाटोको यात्रापछि आर्खेत आइपुगेको बुद्ध माविका शिक्षक राजन सापकोटाले जानकारी दिए। ‘कहिल्यै गाडी नचढेका बालबालिका गाडी लागेर लखतरान भएका छन्’, विद्यार्थीको समन्वय गरेर आएका शिक्षक सापकोटाले भने, ‘एसईई दिन आएका बालबालिका बाटोभरि बान्ता गरेर बिरामीजस्ता भएका छन्। कसरी पढ्ने, कसरी परीक्षा तयारी गर्ने ?’ पालिकाभित्रै परीक्षा केन्द्र नहुँदा चुमनुब्री र धार्चे गाउँपालिका कटेर आरूघाट आउन बाध्य भएको उनको भनाइ छ।
आर्खेतमा दुईवटा होटलका कोठा भाडामा लिएर विद्यार्थीलाई व्यवस्थापन गरिएको शिक्षक सापकोटाले बताए। बुद्ध माविबाट यस वर्ष नियमिततर्फ एसईई दिने विद्यार्थी ५१ जना छन् भने स्तरवृद्धि परीक्षा दिनेको संख्या १९ जना छन्। ल्हो माविबाट १७ जना नियमित र एकजनाले आंशिक परीक्षा दिँदैछन्।
प्रतिक्रिया दिनुहोस !