'स्वस्थ मुख : सकारात्मक सोच' भन्ने नाराका साथ मनाइयो विश्व मुख स्वास्थ्य दिवस
काठमाडौं : दाँत तथा मुख स्वास्थ्यको महत्त्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ। 'स्वस्थ मुख : सकारात्मक सोच' भन्ने नाराका साथ यसपालिको मुख स्वास्थ्य दिवस मनाइएको छ। तथ्यांक अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ।
दिवसका अवसरमा नेपाल डेन्टल एसोसिएसन लगाएतका संस्थाहरूले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमा दाँत तथा मुख रोग विशेषज्ञ एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा संक्रमण हुँदा त्यसले अन्य असर समेत गर्ने भएकाले बर्षको ६–६ महिनामा मुख र दाँत परीक्षणको परीक्षण गराउनुपर्ने बताए।
उनले अहिले मुख्य स्वास्थ्यका विषयमा मन्त्रालयले आवश्यक रणनीति बनाइएको जानकारी दिए। बुढाथोकीले स्वस्थ मुखका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मँदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ। नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ।
प्रतिक्रिया दिनुहोस !