भन्सार छली गरी ल्याउँदै गरिएको अवैध सामान बरामद
रौतहट : नेपाल–भारत सीमा क्षेत्र हुँदै अवैध रूपमा भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न सामानहरू रौतहट प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षाकर्मीहरूबाट खटिएको चेकिङ टोलीले विभिन्न स्थानमा सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा ती सामानहरू नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सामग्रीहरूमा लत्ता-कपडा, कस्मेटिक सामान, किराना सामग्रीसहित करिब १ लाख ३ हजार ३ सय रुपैयाँ बराबरको अवैध वस्तुहरू रहेका छन्। साथै भन्सार छली गरी ल्याइएका खसी २ वटा समेत नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ। सुरक्षा निकायहरूले सीमा क्षेत्रमा हुने अवैध सामान तस्करी रोक्न निगरानी अझ कडा बनाइएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !