फेरि बल्झियो बारपाक र लाप्राकको सीमा विवाद

फेरि बल्झियो बारपाक र लाप्राकको सीमा विवाद
सुन्नुहोस्

गोरखा : लामो समयदेखि भुसको आगोझैं सुषुप्त रहेको बारपाक र लाप्राकबीचको सीमा विवाद फेरि बल्झिएको छ। धार्चे—४ लाप्राकले आफ्नो क्षेत्र प्रवेश गर्ने स्थल गुप्सीभन्ज्याङमा प्रवेशद्वार बनाउन लाग्दा बारपाकले अवरोध गरेपछि विवाद सतहमा आएको हो। लाप्राकको हिमाली आमा समूहले प्रवेशद्वार निर्माणका लागि जग खनेपछि बारपाकका बासिन्दाले जेसीबी लगाएर पुरिदिएका छन्।

‘गुप्सीभन्ज्याङबाट यताको पानीढलो लाप्राकीको, उताको पानीढलो बारपाकीको भनेर बूढापाकाले भन्दै आएका थिए। त्यसैले हिमाली आमा समूहले साँधमा लाप्राकीलाई पनि हुने, बारपाकीलाई पनि हुने गरी गेट बनाउन लागेको थियो’, धार्चे—४ का वडाध्यक्ष किसान गुरुङले भने, ‘तर बारपाकका मान्छेले रातारात आएर डोजर लाएर खाल्डो पुरिदिए।’ 

द्विपक्षीय सहमति जुटाएर काम गर्न खोज्दा पनि बारपाक पक्षले अनिर्णयको बन्दी बनाएर असहज परिस्थिति सिर्जना गरिदिएको उनको आरोप छ।

सहमति जुटाउन आमा समूहले पटकपटक आग्रह गर्दा पनि बारपाक पक्षले आलटाल गरिरहेकाले जग खन्न सुरु गरेको आमा समूहकी अध्यक्ष स्मृति गुरुङको भनाइ छ। ‘यो आर्थिक वर्षभित्र गेट बनाउन पालिकाको सात लाखको बजेट थियो। ढिला गर्दा बजेट फ्रिज होला भन्ने चिन्ताले काम छिटो थाल्नुपर्ने थियो’, अध्यक्ष गुरुङले भनिन्, ‘गिटी, बालुवा, रड, सिमेन्ट किनेर लगिसकेका थियौं। त्यसैले आमा समूहले बारम्बार छलफल गरी सहमति जुटाउन धेरै पहल ग¥यो। तर, हाम्रो अनुरोधलाई बेवास्ता गरी टुंगोमा पुग्न आलटाल गरिरहेकाले महिला समूहले हतार गरी काम सुरु गरेको हो।’ तर, रातारात डोजर ल्याएर जग पुरेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

बारपाक सुलिकोट गाउँपालिका— १ का वडाध्यक्ष धनबहादुर घलेको मत भने फरक छ। सहमति जुटाएर मात्र काम अघि बढाउन आग्रह गर्दागर्दै जबर्जस्ती काम सुरु गरेकाले पुर्न बाध्य भएको उनको तर्क छ। ‘गेट बनाउँदा पर्यटक आकर्षित हुन्छन्। एउटा गेट चाहिन्छ भन्ने पक्षमा हामी पनि हौं’, घलेले भने, ‘तर दुई पक्षबीच सहमति जुटाएर मात्र गरौं भन्दाभन्दै उहाँहरूले हतार गरेर काम सुरु गर्नुभयो। त्यसमा गाउँलेले चित्त बुझाउने ठाउँ नै थिएन। हाम्रो जमिन प्रयोग गरेर बनाएकाले गाउँलेहरू पुर्न बाध्य भएका हुन्।’ भकारी चौताराभन्दा उतापट्टि लाप्राकतर्फ गेट बनाउन आग्रह गर्दागर्दै जबर्जस्ती सोभन्दा यता बारपाकतर्फ गेट बनाउन लागेकाले भत्काउन बाध्य भएको घलेले बताए।

विवाद बढेपछि आमा समूहले जिल्ला प्रशासन कार्यालय गोरखामा सहजीकरण गरिदिन माग गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै सहजीकरण गरिदिन अनुरोध गरेको हो।

यसअघि वर्षौंदेखि यी दुई गाउँका बीच धेरै ठाउँमा सीमासम्बन्धी विवाद हुने गरेको छ। विज्ञहरूको प्रयोग गरी विवादको स्थायी समाधान नहुँदा बेलाबेला सिमानामा अप्रिय घटना पनि हुने गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.