आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै
मन्थली : रामेछापको मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गराउन आउने बिरामीको आकर्षण बढ्न थालेको छ। आयुर्वेदिक चिकित्सा पद्धतिबाट रोगको निदान सहज र सर्वसुलभ तरिकाले हुने भएकाले आयुर्वेदिक उपचार पद्धतिप्रति मानिसहरूको ध्यान आकर्षित हुन लागेको हो।
चिकित्सालयकी प्रमुख डाक्टर पुनम नेपालले आयुर्वेद उपचारको बारेमा जानकारी भएका व्यक्तिहरू उपचार र परामर्शको लागि आयुर्वेदिक उपचार केन्द्रमा आउनेक्रम बढेको जानकारी दिइन्। पछिल्लो समय नेपाललगायत विश्वमा नै आयुर्वेदिक उपचार पद्धति बढ्दो रहेको उनले बताइन्।
चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक दीपक कार्कीले चिकित्सालयमा हाडजोर्नी, बाथ, ग्याष्टिक, रक्तचाप लगायत नसर्ने रोगका बिरामीहरू बढी आउने गरेको बताए।
चिकित्सालयले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत होलबडी चेकअपको सेवा समेत प्रदान गरेकोले सो सेवा लिन आउने बिरामीको सङ्ख्या निक्कै भएको उनको भनाइ छ। सो सेवा अन्तर्गत सुगर, प्रेसर, मिर्गौला, कलेजो, दिसा, पिसाब लगायतका जाँच र उपचार निःशुल्क गरिने भएकोले जाँच र उपचारको लागि आउने बिरामीको सङ्ख्या निक्कै बढेको कार्कीले जानकारी दिए।
चिकित्सालयले बिरामीको ओपिडी जाँच तथा उपचार सेवा, आयुर्वेद उपचारको पञ्चकर्म र पूर्वकर्मका सेवाहरू, ल्याब, फिजियोथेराफि, अकुपञ्चर, क्षारसूत्र शल्यक्रिया, स्तनपाई आमालाई दूधवर्धक औषधी, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धन सेवा लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको जनाएको छ।
अन्यत्र उपचार गर्दा रोग निको नभएपछि बिरामीहरू उपचारको लागि चिकित्सालयमा पुग्ने गरेका छन्। ठोक्किएको शरीर दुखेर बिरामी परेपछि ठाउँ ठाउँमा उपचार गर्दा पनि निको नभएपछि यहाँ उपचार गराउँदा सञ्चो भएको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिका ८५ वर्षीय अम्बरबहादुर बरुवालले बताए। ‘यहाँ सेक्ने र मालिस गर्ने गरेपछि निक्कै सञ्चो भएको छ’, उनले भने।
बेड भर्ना गरेर अस्पतालको सेवा सुचारु गराउन माग
बागमती प्रदेश सरकारको मातहतमा रहेको चिकित्सालयलाई प्रदेश सरकार १६ बेडको अस्पतालको मान्यता दिएको छ। तर संरचना नहुँदा बेड राखेर अस्पतालको सेवा सुरु हुन सकेको छैन। ‘भवन अभाव हुँदा बेडबाट दिने उपचार सेवा दिन सकेका छैनौँ, बिहानदेखि साँझसम्म मात्र सेवा दिने गरेका छौँ, बेडमा नै राखेर बिरामीलाई उपचार दिन सके धेरै राम्रो सेवा दिन सकिन्छ, यसको लागि सबैको सहयोग आवश्यक छ’, कार्यालय प्रमुख नेपालले भनिन्।
सो चिकित्सालयमा बेड सहितको अस्पताल सञ्चालनको लागि मन्थली नगरपालिकामा चिकित्सालय रहेको कारणले पनि नगरपालिकाले आवश्यक समन्वय गर्ने मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए।‘मन्थली नगरपालिकाको तर्फबाट निर्वाह गर्नुपर्ने सबै भूमिका निर्वाह गर्न तयार छौँ’, श्रेष्ठले भने।
बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ पनि आयुर्वेदिक अस्पताल सञ्चालनको लागि आवश्यक पहल गरिरहेको बताए। अस्पताल छिटो भन्दा छिटो पूर्णरुपमा सञ्चालनमा ल्याउन सबै क्षेत्रमा पहल गर्ने उनले बताए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रामेछापको सञ्चालक तथा व्यवस्थापन समितिको अध्यक्ष नवराज पथिक घिमिरेले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत रहेको बताउँछन्। ‘चिकित्सालयमा म भर्खरै आएको छु। यो रामेछाप मात्र नभएर सिन्धुली, दोलखा, ओखलढुंगा, सोलुखुम्बुसम्मका बिरामीको लागि महत्वपूर्ण अस्पताल बन्न सक्छ, सरकारले स्वीकृति दिएको अस्पताल कुनै सञ्चालन गर्न नसक्नु हाम्रो असक्षमता हुने छ।’ उनले भने,‘सबैसँग समन्वय गरेर छिटो अस्पताल सञ्चालनको लागि प्रयास गर्छौँ। हाम्रो प्रमुख काम नै यही हुने छ।’
मलद्वारको रोगको उपचार मन्थलीमा नै हुन्छ
पछिल्लो समय धेरै मानिसमा पाइल्स, फिसर, फिस्टुला लगायत मलद्वारमा हुने विभिन्न खालका रोगको समस्या देखिने गरेको बताउँदै त्यसको उपचार मन्थलीमै सम्भव रहेको डाक्टर नेपालको भनाई छ। मलद्वारबाट रगत आउने, मलद्वार सुन्निने, चिलाउने, घाउ हुने, पिप आउने, दुख्ने, दिसा गरेपछि पनि दिसा बाँकी भएको अनुभव हुने समस्या भए तत्काल उपचार गराउनु पर्ने नेपालले बताइन्। 
यसबाट बच्नको लागि प्रचुर मात्रामा हरियो रेसादार साग सब्जी, फलफूल, तरकारी र प्रशस्त मात्रामा पानी पिउनु पर्ने उनको सुझाव छ। दिसा गर्दा बल प्रयोग नगर्न, ट्वाइलेटमा लामा समय नबस्न, मोबाइल वा किताब लिएर ट्वाइलेटमा नजान उनको सुझाव छ। ‘प्रारम्भिक चरणमा औषधि उपचारबाट नै रोग ठिक हुन्छ, यदि रोग जटिल भई शल्यक्रिया आवश्यक भएमा यस चिकित्सालयमा प्रत्येक महिनाको अन्तिम शनिबार विशेषज्ञ सेवा प्रदान गरिन्छ, काठमाडौंबाट विशेषज्ञ चिकित्सक आएर सेवा दिनुहुन्छ, अति न्यून शुल्कमा काठमाडौँका सुविधा सम्पन्न अस्पतालले दिने सेवा मन्थलीमा नै दिने गरेको छौँ’, उनले भनिन्।
रोग लुकाएर समयमा नै उपचार नगर्दा रोग बिग्रन गई क्यान्सर भएर मानिसको ज्यान जान सक्ने अवस्था आउने भएकोले उपचारको लागि आउन उनले आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस !