मोटरबाटोले फेरिएको नाग्चेत पाङसिङ
गोरखा : ‘चुमनुब्री’ गोरखाको हिमालपारि पर्ने गाउँपालिका हो। यसको वडा नं. ३ नाग्चेत गाउँ दुई वर्षअघिसम्म ‘कोल्टो’ परेको थियो। मनास्लु पदमार्ग, गाउँपालिकाको केन्द्र फिलिम पुग्ने मूलबाटोबाट माथि, कसैको नजर नपर्ने पाखामा गाउँ थियो। मूलबाटो हिँड्ने सबैजना जगत, सल्लेरी, सिर्दिबास, घट्टेखोला हुँदै फिलिम तर्थे। आफ्नै गाउँबाहेक बाहिरका कोहीमान्छे पनि नपुग्ने हुँदा २३ घरधुरी रहेको नाग्चेत ओझेलमा परेको थियो। यहाँका बासिन्दा पनि आफ्ना दैनन्दिन कामधन्दामै व्यस्त हुन्थे।
नाग्चेतकै नियति भोगिरहेको थियो, त्योभन्दा ठूलो अर्को गाउँ पाङ्सिङले। यात्रुहरू सबै फिलिम, चिसापानी एक्लेभट्टी हुँदै चुमभ्याली, मनास्लु क्षेत्रतर्फ जाने हुँदा करिब एक सय घरधुरी रहेको पाङसिङ पनि अपायकमा थियो। शिक्षक र काम विशेषले जाने प्रहरी तथा स्वास्थ्यकर्मीबाहेक त्यहाँ पनि स्थानीयबासीको मात्र आवतजावत हुन्थ्यो।
तर अचेल यी दुवै गाउँको स्वरूप, संरचना, दैनिकी सबै परिवर्तन भएको छ। नाग्चेत र पाङसिङ अहिले बेनीघाट, आरुघाट, लार्के सडकले छोएको छ। गाउँपालिकाको केन्द्र फिलिम पुग्ने स्थानीय तथा विदेशी यात्रु नाग्चेतसम्म सवारीसाधनमा जान सक्छन्। यहाँ उत्रिएर लर्कन लाएर फिलिमतर्फ उकालो लाग्छन्। सामान ढुवानी गर्ने ठूला गाडीहरू पनि यहाँसम्म मात्र पुग्छ र सामान यहीँ अनलोड गर्दछ।
गोरखा बजार, आरुघाट तथा आर्खेतबाट सामान बोकेर गएका ट्रकहरू नाग्चेतमै पुगेर सामान ओह्राल्छन्। ट्रकले ओह्रालेको सामान फेरि मान्छे अथवा खच्चडले बोकेर बाँकी गन्तव्यसम्म पु¥याउँछन्। त्यसैले सामान अनलोड र लोड गर्नेको चहलपहल निकै बढेको देखिन्छ। गाउँलेले पनि नगदी काम पाएका छन्।
अहिले नाग्चेत र पाङसिङका सडक छेउमा चामल, नुनलगायतका खाद्य सामग्री तथा सिमेन्ट, रड निर्माण सामग्रीको खात लाग्छ। बिहान झिस्मिसेदेखि साँझ अबेरसम्म यहाँ बजारबाट लगेको सामान अनलोड गर्ने र गन्तव्यसम्म पु¥याउनुपर्ने सामान खच्चडमा लोड गर्नेको भीडभाड लाग्छ। जिप, ट्र्याक्टर र साना ट्रकमा लगिएका सामान पाङसिङसम्म पनि पुग्न सक्छ तर ठूला ट्रक भने नाग्चेतसम्म मात्र पुग्ने गरेका छन्।
नाग्चेतसम्म सामान आइपुग्दा पनि धेरै सुविधा भएको छ। ‘पहिले कोल्टो परेको नाग्चेत र पाङसिङ अहिले त धेरै परिवर्तन भएको छ’, चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ भन्छिन्, ‘फिलिम आउने मान्छे पनि गाडीबाट नाग्चेत ओर्लिएर आउँछन्। छिटो हिँड्नेहरू पाँच मिनेटमै फिलिम आइपुग्छन्। त्यहाँसम्म गाडीले बोक्ने भएपछि सामान पनि धेरै सस्तोमा आउने भयो। दुर्गम गाउँ हो, धेरै राम्रो भयो त के भनुँ, तैपनि विगतको तुलनामा चाहिँ धेरै राम्रो भएको छ।’ गाउँमा चहलपहल बढेपछि स्थानीयवासीले पनि आयआर्जनको काम पाएका उनले बताइन्।
पहिले पिछडिएका नाग्चेत र पाङसिङ अहिले ‘बजार’ बनेको वडाध्यक्ष रामकुमार गुरुङ बताउँछन्। ‘होटल, टी सप, होलसेल पसलहरू खुलेका छन्। आउने जाने मान्छेको भीड लाग्छ। पहिले पिछडिएका ती गाउँ अहिले गुल्जार भएका छन्।’
प्रतिक्रिया दिनुहोस !