नेपाली टाइम

नेपाली टाइम

प्रसंग एक – मलाई कतै जानु थियो। यसैले मैले एकजना नजिकै बस्ने साथीलाई मेसेन्जरमा मेसेज ठेलें, ‘मलाई तपाईंको अफिसतिरै जानु छ। समय पनि मिल्ने मलाई लिफ्ट दिनुस् हैै ?’

उहाँले सहर्ष स्वीकार्नु भयो, ‘हुन्छ नि !’

मैले फेरि भनें, ‘मलाई बाहिर निस्कन समय लाग्छ। त्यही भएर तपार्इं निस्कँदै गर्दा म्यासेज गर्नुस् है। म निस्कँदै गर्छु।’ केही समयमा उहाँको म्यासेज आयो, ‘म निस्कें। ५ मिनेटमा आइपुग्छु। म त्यहीअनुसार बाहिर निस्कें। ५ मिनेट कटेर ८ मिनेट पुग्यो। ८ कटेर १० मिनेट पुग्यो। हेर्दाहेर्दै १८ मिनेट पुग्यो। मेरा आँखा टटाए। खुट्टा फत्रक्कै भयो। केही समय अगाडि एक्सिडेन्टपश्चात् खुट्टामा सपोर्ट लगाइरहेको हुँदा मलाई धेरै बेर एकै ठाउँमा उभिन गाह्रंो भयो। सुन्नियो, दुख्यो।

यो कुरा उहाँलाई पनि राम्रोसँग थाहा भएकाले उहाँ सही समयमै आउनु होला भन्ने लागेको थियो। त्यही विश्वासमा परें र बाहिर निस्किहालें। १९ मिनेट पुगेपछि उहाँ आउनु भयो र फिसिक्क हाँस्दै भन्नुभयो, ‘ल तपार्इं त बाहिर निस्की पो सक्नु भयो ? म आएर कल गरिहाल्थें नि। गाह्रो भयो होला तपाईंलाई।’

मेरो मुख रातो भइसकेको थियो। अलि झोक्किँदै बोलें, ‘तपाईंले भनेको समयमा निस्केको नि म। बोलेको समय त ख्याल गर्नुपर्छ नि !’

उहाँले हल्कासँग भन्नुभयो, ‘नेपाली टाइम !’

मनमनै सोच्दै थिएँ, ‘नेपाली समयको बदनाम गर्ने को होला ? नेपाली समयको बदनाम हुन कहिलेबाट सुरु भयो होला ? कहिले के भएको थियो र यसरी नेपाली समय सधैं बदनाम हुँदै आएको छ ? यो सबै थाहा पाएर नै मान्छेले नेपाली समयलाई बदनाम गरेको हो कि हावाको तालमा मानिसले आफू जोगिन यी शब्दहरू प्रयोग गरिरहेको छ ?’ यसबाट भने म पूरै अनविज्ञ छु।

प्रसंग दुई – कुनै एउटा कार्यक्रमको निम्ता आएको थियो। समय दिइएको थियो, बिहान ९ बजेको। मैले थाहा पाएँ, मेरो एकजना साथीलाई पनि त्यो कार्यक्रमको निम्तो आएको रहेछ। सल्लाह गर्‍यौं, एउटै साधनमा जाने। हामीलाई कार्यक्रमस्थलमा पुग्न आधा घण्टा लाग्थ्यो। त्यही भएर ९ बजे साथीकै स्कुटरमा हामी हिँडौं। शनिबारको दिन, बिहानीको प्रहर। सडक खाली नै थियो। हामी ९ बजेर २० मिनेटमै कार्यक्रमस्थल छेउ पुग्यौं। दुवैजना कार्यक्रमको अतिथि। उहाँले कार्यक्रमस्थल छेउमा पुगेर स्कुटरमा ब्रेक लगाउँदै भन्नुभयो, ‘हैट हामी त ठिक्क समयमा पो आइपुग्यौं त।’

‘ठीक भयो त। समयमा पुगियो, झनै राम्रो।’

उहाँले भन्नुभयो, ‘हैन ! यसरी ठिक्क समयमा त जान हुन्न लाज हुन्छ। कति ठाउँमा त आयोजकै आइसकेका हुँदैनन्। झन् हामी अतिथि त कार्यक्रम सुरु भइसकेपछि पुगेको राम्रो। बरु एकछिन यतै कतै बसेर चिया खाउँ अनि जाउँ।’ उहाँले हामीले केही अगाडि बाटामा छोड्दै आएको रेस्टुरेन्टतिर स्कुटर मोड्नु भयो। त्यहाँ आधा घण्टा बसेर उक्त कार्यक्रममा पुग्दासमेत कार्यक्रम सुरु हुने छाँटकाँटै थिएन।

साथी मतर्पm हेरेर मुसुक्क हाँस्नुभयो। हुन त म पनि यस्ता कार्यक्रममा हुने अनिश्चित समयसँग अनविज्ञ त होइन, भुक्तभोगी नै हुँ। तर त्यसैका लागि भनेर समय छुट्ट्याइसकेपछि थाहा हुँदाहुँदै पनि मन विचलित भइरहेको हुन्छ। समयमै मेरा गोडाहरू त्यतातिर लम्किहाल्छन्। कहिलेकाहीँ त आफू पुग्दा हल नै खाली भएको पनि पाउँछु।

 पुगेको केही समयमा मात्रै मानिस यस्तै हो नेपाली टाइम भन्दै उल्टै समयको खिल्ली उडाउँदै भित्र छिरेको पनि पाएकी छु। यस्ता मान्छेहरू देख्दा त्यो ‘नेपाली टाइम !’ भनेर हल्ला पैmलाउने मान्छेको आत्माले चाहिँ कति शान्ति पाउँदो हो ? अनि हामी जस्ताले चाहिँ नचाहँदा नचाहँदै पनि समयलाई पछ्याउनै पर्ने रहेछ। कार्यक्रममा सही समयमा पुग्दा लाजले मुख छोप्नुपर्ने नै रहेछ।

प्रसंग तीन – एक वर्ष अगाडितिर प्रकाशनकै कामको सिलसिलामा उपत्यका बाहिर जाँदै थियौं। बालबालिकाकै लागि काम गर्ने संस्थाको कार्यक्रम थियो। त्यो संस्थासँगै जोडिएर काम गर्न चाहेका थियौं। उहाँहरूले दिएको समय थियो, दिनको २ बजे। हामी २ बज्न ५ मिनेट अगाडि पुग्दा त्यहाँ कोही आएको थिएन। हामीले सोच्यौं, दुई बज्न बाँकी नै छ। आउँदै हुनुहोला। तर २ बजेर ३० मिनेट पुग्दासमेत कोही आउनु भएन। 

कार्यक्रम नै पो अन्तै हो कि ? हामी गलत ठाउँमा पो आइपुग्यौं कि ? भन्ने डरले सतायो। तर होइन रहेछ। त्यहाँ बुझ्दा थाहा भयो, कार्यक्रम त्यहीँ रहेछ। हल सजाएर ठिक्क पारिएको थियो। ३ बजिसकेपछि मात्र सबैजना आउन थाल्नुभयो। लगभग एक घण्टा बढी कुरेपछि बल्ल सास आयो। तर हामीलाई त काठमाडौं फर्कनु थियो। अझ अरू केही काम भ्याउनु पनि थियो। उहाँहरूको अनुहारमा एक घण्टा ढिला भएकोमा केही पछुतो थिएन।

सायद उहाँहरूलाई पनि यो नेपाली टाइमको भूतले नराम्ररी गाँजिसकेको थियो। तर मलाई एउटा कुराले भने नराम्ररी चिमोटिरह्यो। हामी बालबालिकाको क्षेत्रमा काम गर्ने मानिसले समयको अलि ख्याल गर्नुपर्ने हो। बालबालिकालाई समयको महŒवबारे वादविवाद गराएर र उनीहरूलाई निबन्ध लेख्न लगाएर मात्रै त नहोला कि ? सिकाउनेले पनि व्यवहारमा उतारेदेखि केही प्रभावकारी हुन्थ्यो कि ?    

प्रसंग चार – केही समयअगाडि मलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो। धेरै कुरा भइसकेपछि अन्त्यमा कार्यक्रम प्रस्तोताले मलाई सोध्नुभयो, ‘तपाईं धेरैतिर जोडिनु भएको छ। घरपरिवारदेखि  लेखन, व्यापार। कसरी सम्हाल्नु हुन्छ ? गाह्रो हुँदैन ?’ सटिक उत्तर दिएकी थिएँ, ‘समयको महŒव बुझेर त्यहीअनुसार काम गर्‍यो भने जे गर्न पनि भ्याइन्छ। मसँग त जति पनि समय हुन्छ।’

यसपछि उहाँले मीठो स्वरमा समयको महŒवबारे दर्शक श्रोतालाई ज्ञान बाँड्नुभयो। त्यो सुनेर म अचम्ममा परें। उहाँलाई यति धेरै कुरा थाहा रहेछ त, मलाई चाहिँ किन उहाँले केही मिनेट कुराउनु भएको होला ? जे कुरा पनि बोल्नु र व्यवहारमा उतार्नु फरक रहेछ त। हामीले कसैलाई बाँड्ने ज्ञानलाई केही प्रतिशतमात्रै आफूमा लागू गर्ने हो भने कस्तो हुन्थ्यो होला ?

हामीलाई यो नेपाली टाइम भन्नेले यस्तरी गाँजिसक्यो कि आफूले कसैलाई घरमा बोलाउन पर्‍यो भने पनि एक घण्टा अगाडि नै बोलाउनु पर्छ। अरू त परका कुरा, उसलाई खानै खाइदिन पनि समयमा कठिन हुने। ऊ गणना गर्न थाल्छ, मलाई ९ बजेलाई भनेको हो तर १० बजे पुग्दा चाहिँ ठीक होला। प्रश्न मनभरि छ, कुनै डाक्टरले चाहिँ नेपाली टाइम भनेर बिरामी हेर्न ढिला हेरिदियो भने ? अब त एउटै प्रार्थना गर्न मन लाग्छ, त्यसो चाहिँ नगरिदेओस्।
जय नेपाली टाइम !
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.