कति हेरिरहनुहुन्छ स्क्रिन ? आँखा खराब होला नि !

कति हेरिरहनुहुन्छ स्क्रिन ? आँखा खराब होला नि !

आजभोलि धेरैले मोबाइल फोन, कम्प्युटर र ट्याब्लेटमा घण्टौं बिताउँछन्। अध्ययन वा कामको लागि होस् वा मनोरञ्जनका लागि होस् दुई आँखा डिजिटल स्क्रिनहरूमा व्यस्त हुन्छन्। धेरैलाई थाहा नहुन पनि सक्छ कि स्क्रिनमा धेरै समय बिताउँदा आँखामा समस्याहरू देखिन सक्छन्। यो अवस्थालाई डिजिटल आँखा तनाव (डिजिटल आई स्ट्रेन ) वा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ।

दैनिक जीवनमा स्क्रिनको प्रयोग बढ्दै जाँदा, आँखाको स्वास्थ्य बढ्दो चिन्ताको विषय बन्दै गएको छ। जसलाई दीर्घकालीन क्षति रोक्न सचेतना र समाधानहरू आवश्यक पर्दछ। लगातार दुई घण्टा स्क्रिन प्रयोग गरेपछि लक्षणहरू देखा पर्न सक्छन् र समयसँगै झन् खराब हुन सक्छन्। यसमा निम्न लक्षणहरू देखिन सक्छन्।

आँखा सुक्खा हुन्छ 

जब हामी स्क्रिन हेर्छौं, आँखा कम झिम्क्याउँछौं। आँखा झिम्क्याउनु महŒवपूर्ण छ। किनभने यसले हाम्रो आँखाको सतहमा आँसु फैलाउँछ र ओसिलो राख्छ। कम झिम्क्याउँदा आँखा सुक्खा हुन्छ,। जसले गर्दा चिलाउने, रातो हुने र असहजता महसुस हुन्छ।

धमिलो दृष्टि 

धेरै बेरसम्म स्क्रिनमा हेर्दा फरक–फरक दूरीमा रहेका वस्तुहरूमा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। यसले अस्थायी रूपमा धमिलो दृष्टि निम्त्याउन सक्छ। र, स्क्रिनबाट टाढा भएपछि पनि चीजहरू अस्पष्ट देखिन्छन्।

आँखाको थकान र तनाव 

उज्यालो स्क्रिन, सानो अक्षर र भिडियोहरूमा ध्यान केन्द्रित गर्दा आँखाको मांसपेशीलाई थकित बनाउँछ। जसले गर्दा भारीपन हुन सक्छ। यसले ध्यान केन्द्रित गर्न गाह्रो बनाउन सक्छ र बारम्बार टाउको दुखाइ निम्त्याउन सक्छ।

नजिकैको दृष्टिदोष (मायोपिया)को जोखिम 

अध्ययनहरूले देखाउँछन् कि अत्यधिक स्क्रिन प्रयोगले टाढाका वस्तुहरू हेर्न कठिनाइ बढ्दै जान्छ। यो विशेषगरी बच्चाहरूको लागि चिन्ताजनक हुन्छ, किनकि उनीहरूको आँखाको विकास भइरहेको हुन्छ। ‘इन्डियन जर्नल अफ ओफ्थाल्मोलोजी’मा प्रकाशित रिपोर्टले अत्यधिक स्क्रिन समयलाई बच्चाहरूमा मायोपियाको बढ्दो जोखिमसँग जोडेको छ। आजकल आमाबाबुले बच्चाहरूलाई खाना खुवाउँदा वा शान्त पार्दा आफ्नो फोनमा भिडियो देखाउने प्रवृत्ति छ। जसले गर्दा भविष्यमा बालबालिकाहरू चश्मा प्रयोग गर्ने उच्च जोखिममा पर्छन्। 

प्रकाश संवेदनशीलता 

स्क्रिनहरूबाट नीलो प्रकाश निस्किन्छ, जसले आँखामा असुविधा र उज्यालो प्रकाशप्रति संवेदनशीलता बढाउँछ। 

घाँटी र काँध दुख्ने 

स्क्रिन ​प्रयोग गर्दा खराब आसनले आँखा मात्र नभई घाँटी, काँध र ढाड पनि दुख्न सक्छ। कतिपय व्यक्तिलाई कम्प्युटर वा फोनमा लामो समयसम्म हेर्दा शरीरमा कडापन अनुभव हुन सक्छ।

निद्रा गडबडी

स्क्रिनहरूबाट निस्किने नीलो प्रकाशले शरीरको प्राकृतिक निद्रा चक्रलाई असर गर्ने हुन्छ। कतिपयलाई निदाउन पनि कठिनाइ हुन सक्छ। विशेषगरी साँझ सुत्नुभन्दा अगाडि फोन वा कम्प्युटर प्रयोग गर्नाले मस्तिष्कमा मेलाटोनिन हर्मोनको रिलिज घटाएर निद्रा चक्रमा बाधा पुर्‍याउन सक्छ। निदाउन गाह्रो बनाउँछ। पर्याप्त निद्राको अभावले आँखाको तनाव बढाउन सक्छ।

बिरामीको समस्या

हामीकहाँ धेरै बिरामीहरू डिजिटल आँखा तनावका क्लासिक लक्षणहरू लिएर आउँछन्। जसमा आँखा सुक्खा हुने, टाउको अगाडिको भाग दुख्ने, निद्रामा गडबडी हुने, धमिलो दृष्टि हुने लगायतका हुन्छन्। सोधखोज गर्दा धेरै समय विशेषगरी फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालहरूमा बिताएको सुनाउँछन्। निरन्तर स्क्रोल गर्ने बानीले सामाजिक सञ्जालहरू हेर्ने लत लगाई आँखालाई अत्यधिक क्षति पुर्‍याउँदैछ। यस्ता लक्षणहरू देखिने मुख्य उमेरसमूह १६–२५ वर्ष हो। जसमा मुख्यतया विद्यार्थी र युवाहरू पर्छन्। सामाजिक सञ्जालले दैनिक जीवनमा प्रभुत्व जमाउँदै जाँदा दीर्घकालीन दृष्टि समस्याहरू रोक्न स्क्रिन समय सन्तुलन गरी  आँखाको स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक छ। विश्वभरका अनुसन्धानकर्ताहरूले लामो समयसम्म स्क्रिन एक्सपोजरको दीर्घकालीन प्रभावहरूको अनुसन्धान गरिरहेका छन्।

मायोपियाको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ। ‘ओफ्थाल्मोलोजी’ नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित एक अध्ययनले पत्ता लगायो कि हप्तामा सात घण्टाभन्दा बढी स्क्रिनमा बिताउने बालबालिकाहरूमा मायोपिया हुने सम्भावना बढी हुन्छ। 

सुक्खा आँखा सिन्ड्रोम 

आँखाको थकान, धमिलो दृष्टि, टाउको दुख्ने र सुक्खा आँखाजस्ता लक्षणहरू समयसँगै बिग्रन्छन्। जसले गर्दा दीर्घकालीन सुक्खा आँखा सिन्ड्रोम निम्त्याउन सक्छ।

अवरुद्ध निद्रा चक्र र अनिद्रा

स्क्रिनले नीलो प्रकाश उत्सर्जन गर्छ। जसले निद्रालाई नियमन गर्ने हर्मोन मेलाटोनिन उत्पादनमा बाधा पुर्‍याउँछ। ‘स्लिप मेडिसिन’ जर्नलमा प्रकाशित भएको अध्ययनले देखाएको छ कि राति अबेरसम्म स्क्रिन हेरेर बस्दा निद्रा लाग्न ढिलाइ हुन सक्छ। र निद्राको गुणस्तर घट्न सक्छ। जसले गर्दा दीर्घकालीन अनिद्राको जोखिम बढ्छ।

आँखाको पर्दा क्षतिको बढ्दो जोखिम

स्क्रिनबाट निस्किने नस्लो प्रकाशको लामो समयसम्म सम्पर्क हुनाले आँखाको पर्दा (रेटिना)मा मा क्षति देखिन सक्छ। ‘इन्भेस्टिगेटिभ ओफ्थाल्मोलोजी र भिजुअल साइन्स’मा प्रकाशित अनुसन्धानसहित केही अध्ययनहरूले लामो समयसम्म नीलो प्रकाशको सम्पर्कले रेटिनाको कोषहरूमा स्थायी रूपमा क्षति पुग्न सक्ने औल्याएका छन्। 

२०–२०–२० नियमको पालना 

सबैभन्दा धेरै सिफारिस गरिएका उपायहरूमध्ये एक २०–२०–२० नियम हो। थाइल्यान्डको चोनबुरी प्रान्तको अनुसन्धानले २०–२०–२० नियम लागू गरेपछि तीन हप्ताको अवधिमा डिजिटल आँखाको तनावमा उल्लेखनीय कमी आएको देखाएको छ। प्रत्येक २० मिनेटमा २० सेकेन्डको लागि २० फिट टाढाको कुनै चीज हेर्न वि   श्राम लिने सहभागीहरूले आँखाको थकान, धमिलो दृष्टि र टाउको दुखाइजस्ता लक्षणहरूबाट राहत अनुभव गरेको बताएका छन्। त्यसैले २०–२०–२० नियम पालना गरौं। प्रत्येक २० मिनेटमा, २० सेकेन्डको लागि २० फिट टाढा हेरौं।

बेलाबेलामा आँखा झिम्क्याउ

आँखा सुक्खा हुनबाट जोगाउन बेलाबेलामा आँखा झिम्क्याउनु आवश्यक छ। ‘आँखा विज्ञान र थेरापी’ मा प्रकाशित भएको अध्ययनअनुसार, स्क्रिनमा हेर्दा धेरै कम आँखा झिम्क्याँछन् । सामान्यतया प्रतिमिनेट १८–२० झिम्काइबाट घटेर केवल ३–७ झिम्काइ । यसले आँखा सुक्खा हुने, जलन हुने र रातो हुने गर्छ। यसको समाधानको लागि सचेत भएर बेलाबेलामा आँखा झिम्क्याउनु पर्छ। विज्ञसँग परामर्श गरी आवश्यक परेमा लुब्रिकेटिङ  आई ड्रपहरू प्रयोग गर्न सकिन्छ। 

स्क्रिनको चमक कम गरौं 

उच्च स्क्रिनको चमकले आँखा दुख्ने समस्या निम्त्याउँछ। तनाव कम गर्न वरपरको प्रकाशसँग मिल्ने गरी स्क्रिनको चमक समायोजन गर्नु आवश्यक छ। एन्टिग्लेयर स्क्रिनहरू प्रयोग गर्न सकिन्छ। कम प्रकाश भएको वा रातिको समयमा उपकरणहरू प्रयोग गर्दा नाइट मोड अन गर्न सकिन्छ। 

स्क्रिनको उचित दूरी कायम राखौं

‘अमेरिकन एकेडेमी अफ ओफ्थाल्मोलोजी’का विज्ञहरूले आफ्नो कम्प्युटर स्क्रिनलाई आँखा र मोबाइल स्क्रिनबाट सकेसम्म कम्तीमा एक हातको लम्बाइ (लगभग २५ इन्च) टाढा राख्न सिफारिस गर्छन्। घाँटीको तनाव कम गर्न स्क्रिन आँखाको लेवलभन्दा अलि तल हुनुपर्छ। विशेषगरी रातमा नीलो प्रकाशको एक्सपोजर सीमित गर्नु उपयुक्त हुन्छ। नीलो प्रकाश फिल्टर गर्ने चश्मा वा स्क्रिन फिल्टर प्रयोग गर्न सकिन्छ। उपकरणहरूमा नाइट सिफ्ट वा ब्लु लाइट फिल्टर मोड अन गरौं।मस्त निद्राको लागि सुत्नुभन्दा कम्तीमा एक घण्टाअगाडि स्क्रिन हेर्नु हुँदैन। उचित स्क्रिन दूरी र आसन कायम राखौं । स्क्रिनलाई हातको दूरीमा राखौं। सही आसनमा बसौं।

कृत्रिम आँसु प्रयोग गरौं 

आँखाको हाइड्रेसनको लागि कृत्रिम आँसु प्रयोग गर्नु उपयुक्त हुन्छ। आँखा लगातार सुक्खा हुनेहरूका लागि नेत्र रोग विशेषज्ञहरूले कृत्रिम आँसु वा लुब्रिकेटिङ आँखा ड्रपहरू सिफारिस गरेको पाइन्छ । यसले लामो समयसम्म स्क्रिन प्रयोग गर्दा हुने सुक्खापन र जलनलाई कम गर्न सक्छ।

नियमित आँखा जँचाउ

‘जर्नल अफ ओफ्थाल्मोलोजी’मा प्रकाशित एक समीक्षाले लामो समयसम्म स्क्रिनमा बिताउने मानिसहरूका लागि नियमित आँखा परीक्षणको महŒवलाई जोड दिन्छ। आँखा जाँच गर्दा डिजिटल आँखा तनाव, मायोपिया र अन्य दृष्टि समस्याहरूको प्रारम्भिक संकेतहरू पत्ता लगाउन सकिन्छ। बेलैमा जँचाएर आँखामा हुन सक्ने दीर्घकालीन क्षतिलाई रोक्न सकिन्छ। ६ महिनामा एक पटक नेत्र रोग विशेषज्ञसँग आँखा जँचाई परामर्श लिनु उपयुक्त हुन्छ। 

डा. अडिगा, वरिष्ठ, आँखा रोग विशेषज्ञ एवं अकुलोप्लास्टिक सर्जन

 प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.