नेपाललाई गणतान्त्रिक हिन्दुराज्य बनाउन कांग्रेसको माग
अर्घाखाँची : नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाको पालिका सम्मेलनले नेपाललाई लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दुराज्य बनाउनु पर्ने माग गरेको छ।
पालिका सम्मेलनमा गणतान्त्रिक हिन्दुराज्य हुनुपर्ने प्रस्ताव राखिएको र सो प्रस्ताव सर्वसहमतिले पास गरिएको सन्धिखर्क नगर सभापति बाबुराम भुसालले बताए।
पालिका सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)ले विभिन्न आन्दोलनबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताए।
उनले भने, 'नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोतान्त्रिक गणतन्त्र माथि पछिल्लो समय विभिन्न तवरबाट प्रहार भएकोले उपलब्धिको रक्षा गर्न कांग्रेस सतिसाल भएर उभिने छ। तर धर्म निरपेक्षताको ठाउँमा हिन्दुराज्य बनाउन अधिकांश नेपालीको माग रहेकोले कांग्रेस अब हिन्दुराज्यको पक्षमा उभिनु पर्छ।'
पालिका सम्मेलनमा नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, महासमिति सदस्य मणिराम परियार, महाधिवेशन प्रतिनिधि नन्दराम भट्टराई, छमा कार्की, जिल्ला सदस्य लिलाराम गौतम, लिलाधर बस्याल, अर्घाखाँची काठमाडौं सम्पर्क समितिका किरण पोख्रेल, वडा अध्यक्ष हुमप्रसाद बन्जाडे, वडा सभापति मुक्तिराम भण्डारी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसाल, रामबहादुर परियार लगायतले मन्तव्य राखेका थिए।
पालिका सम्मेलन नगर सभापति बाबुराम भुसालको अध्यक्षता, तुल्सीराम पौडेलको स्वागत र कृष्णबहादुर आचार्यको सञ्चालनमा सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस !