जसले लुटेराहरूलाई कुटीकुटी खेदाए
काठमाडौं : कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटका एक सुरक्षागार्डले लाठीले कुटेर लुटेराहरूलाई लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल छ। शुक्रबार साँझदेखि नै उक्त भिडियो भाइरल छ। ती गार्डको हिम्मतलाई सबैले सराह्रना गर्दै मन पराइरहेका छन्।
पहिले नै घोषित कार्यक्रमअनुसार चैत १५ गते राजावादीले तीनकुनेमा प्रदर्शन गरे। उता कोटेश्वरको भाटभटेनी अन्य दिन जस्तै खुल्लै थियो। राजवादीको प्रदर्शनकै कारण अन्य दिन जस्तो सो दिन ग्राहकको भीड भने थिएन। तर, करिब ३ बजेपछि एकाएक २५ जना जतिको हुलले भाटभटेनी तोडफोड गर्न लाग्यो। भाटभटेनीमा ढुंगामुढा बर्साउन थाल्यो। भवनका सिसा फुटाउनुका साथै भाटभटेनी हातामा राखिएका सवारी पनि फोड्न थाले।
प्रदर्शनकारी एकाएक आक्रामक बनेर आएपछि गार्डलगायत त्यहाँको व्यवस्थापन पछि सर्यो। किनकि त्यतिखेर प्रहरी प्रशासन त्यहाँ थिएन। कसैले जोखिम मोलेनन्। तोडफोडको केहीबेरमा भाटभटेनीमा लुटपाट मच्चियो। सबै सुरक्षा गार्डहरू साइड लागेर मूकदर्शक बनिरहेका थिए। तर, लुटपाट नै मच्चिन थालेपछि भाटभटेनीका गार्डमध्येका एक कृष्णप्रसाद पराजुलीले नजिकै रहेको लठ्ठी उठाएर त्यहाँ लुट्न आउनेलाई हान्न थाले। उनै पराजुलीले लठ्ठी नै भाँचिने गरी लुटपाटकर्तालाई हानेको र भगाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो। ‘पहिले ढुंगामुढा गर्न थाले। सुरुमा नै सबैजना मिलेर लाठीले हान्न खोजेका थियौं। तर, उनीहरूले ढुंगामुढा गरेपछि हामी पछि सर्यौं। सुरुमा ज्यान जोगाउन लुकेर बस्यौं।
ढुंगामुढा भएको केहीबेरमा सबैले भाटभटेनी भित्रबाट सामान ओसार्न थाले। त्यसपछि ल भएन भनेर लठ्ठी लिएर मैले हान्न थालेँ,’ उनले अन्नपूर्णसँग भने। अन्य साथीहरूलाई पनि लिएर आएका पराजुली आफू बाहिर बसे भने अन्य ४ जनालाई सुपरस्टोर भित्र पठाए। भित्रबाट अन्य गार्डले लठ्ठीले पिट्दै लुटपाट गर्नेलाई बाहिर निकाले भने पराजुलीले बाहिर नै भटाभट हाने। उनको लठ्ठी भाचिँदा पनि उनले लुटपाटकर्तालाई भगाउन छोडेनन्। भाँचिएको लठ्ठीले पनि २–४ जनालाई हानेर भगाएको भाइरल भिडियोमा देख्न सकिन्छ। उनका अनुसार केहीबेरमा त्यहाँ प्रहरी प्रशासन आयो र स्थिति सामान्य भयो।
भाटभटेनीमा कुल १६ सुरक्षा गार्ड छन्। जसमा पराजुलीसहित ४ गार्ड भाटभटेनीका हुन् भने बाँकी सेक्युरिटी एजेन्सीहरूबाट आएका छन्। पराजुलीले भाटभटेनी सुपरस्टोरमा सुरक्षा गार्डको काम गरेको २२ वर्ष भयो। पहिले नक्सालस्थित भाटभटेनीमा रहेका उनले कोटेश्वर शाखाको भाटभटेनीमा काम गर्न थालेको पनि १० वर्ष हुन लाग्यो। उनी त्यहाँ सुरक्षागार्डका सुपरभाइजरको रूपमा कार्यरत छन्। उनको जन्म सिन्धुपाल्चोकको बतासे गाविसमा भएको हो।
उमेरले ५० टेक्न लागेका उनको त्यो दिनको जोश २२ वर्षे ठिटो जस्तो देखिन्थ्यो। आफ्नो ज्यानको पनि पर्वाह नगरी ती लुटपाटकर्तासँग उनी भिडे। ‘डराउनु त हुँदै भएन नि। डराएर झन् काम नहुने भयो। आफूले काम गरिहेको ठाउँ, रोजीरोटी दिने थलोमा लुटपाट मच्चिन थालेपछि अघि बढेको हुँ। त्यो मेरो जिम्मेवारी हो। मैले जिम्मेवारी वहन गरेको हुँ,’ उनी भन्छन्।
शुक्रबारको प्रदर्शनका धेरै अराजक भिडियोहरूको बीचमा उनको भिडियोले बहादुरी र जिम्मेवारीपन इंकित गरेको छ। हेर्दाहेर्दै भाइरल पो हुनुभयो त, यस विषयमा परिवारले के भने त ? जिज्ञासा मेटाउँदै उनी मुसुक्क हाँसे र भने, ‘परिवारले राम्रो काम गर्नुभयो भने।’
सोही दिन साँझ नै भवन अवलोकन गर्न आएका सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले पनि उनको कामको प्रशंसा गर्दै उनलाई स्याबासी दिए। गुरुङले ‘सुपरस्टोरको पुरानो र असल मान्छे उहाँले धेरै राम्रो काम गर्नुभयो’ भनेको पराजुलीले खुसी हुँदै सुनाए। व्यवस्थापनले पनि उनको त्यो दिनको बहादुरीको सराहना गरेको उनले बताए।
कोटेश्वर भाटभटेनीमा त्यसदिन करोडौं क्षति भएको अध्यक्ष गुरुङले भन्दै आएका छन्। तर, आफ्नो ज्यानको बाजी थापेर पराजुली अघि नबढेको भए थप लुटपाट हुनेमा कुनै शंका छैन। एउटा ढुंगामात्रै लागेको भए के हुन्थ्यो तपाईंलाई ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘जोखिम त थियो। तर, त्योभन्दा बढी कर्तव्य ठूलो भयो।’ लाठीले हानेर भगाउँदै गर्दा पराजुलीले ती प्रदर्शनकारी र लुटपाटकर्ता एकै हुन् या फरक हुन् भन्ने छुट्ट्याउन भने सकेनन्।
प्रतिक्रिया दिनुहोस !