पञ्चायतकालदेखि बहुदल र गणतन्त्रसम्म निर्वाचित थिए दीपक बोहरा

पञ्चायतकालदेखि बहुदल र गणतन्त्रसम्म निर्वाचित थिए दीपक बोहरा

काठमाडौं/भैरहवा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक सदस्य एवं वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ । ७४ वर्षीय बोहराको मंगलबार बिहान पौने ११ बजे निधन भएको हो ।

पटक–पटक गरी ८ पटक मन्त्री बनेका बोहरा पछिल्लो तीन वर्षदेखि उपचाररत थिए । उनको नेपाल, भारत र अमेरिकामा समेत उपचार भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पोस्ट कोभिड—१९ का कारण बोहरालाई घाँटीमा समस्या थियो । आवाज हराएको थियो । पछिल्लो समय घरमै स्वास्थ्य लाभ गरिरहेका उनको मंगलबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

पञ्चायतकालदेखि बहुदल र गणतन्त्रसम्म जनप्रतिनिधिका रूपमा उनी निर्वाचित भएका थिए । उनी रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य हुन् । २०७९ सालको संघीय चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनले तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । राप्रपाका संस्थापक सदस्य एवं वरिष्ठ नेता बोहराको निधनले राप्रपा र राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको जनाइएको छ ।

राप्रपाका सांसद एवं पूर्वमन्त्री पशुपतिशमशेर जबराका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा बोहरा यति लोकप्रिय थिए कि बोल्दै नबोली पछिल्लोपटक निर्वाचित भएका थिए । ‘बोल्दै नबोलेर, भाषणै नगरेर पनि पछिल्लो संघीय चुनाव जितेका बोहरा स्थानीय जनतामाझ लोकप्रिय थिए,’ जबराले अन्नपूर्णसँग भने, ‘असाधारण र सशक्त व्यक्तित्व भएका नेता गुमाउनु पर्दा अत्यन्तै दुःखित छु ।’

सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै मंगलबारको प्रतिनिधिसभा बैठक सकिएको छ । बोल्न असहज हुने भएकाले प्रतिनिधिसभामा पनि लिखित मन्तव्य पेस गर्दै निर्वाचन क्षेत्रको विकासमा उनी प्रतिबद्धता व्यक्त गर्थे ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विद्यार्थी जीवनदेखिकै अभिन्न मित्र गुमाउन पुगेकोमा दुःख महसुस भएको बताए । ‘मुलुकले लोकप्रिय नेता र पार्टीले कुशल संगठनकर्ता र व्यक्तिगत रूपमा सुखदुःखको साथी गुमाएको छुँ,’ उनले भने ।

४ दशक राजनीतिमा, ८ पटक मन्त्री 

राप्रपाका सांसद जबराका अनुसार राजनीतिमा झन्डै चार दशक सक्रिय बोहरा पटक–पटक गरी ८ पटक मन्त्री भएका थिए । उनको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको थियो । २०३८ र २०४० मा पर्यटन सहायक र पर्यटन राज्य मन्त्री बनेका थिए । २०४३ र २०४४ सालमा निर्माण तथा यातायातमन्त्री भएका थिए ।

२०५७ सालमा बैंक अफ काठमाडौंको अध्यक्षसमेत बनेका थिए । २०६७ सालमा वन तथा भूसंरक्षणमन्त्री भएका थिए । २०६७ मै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षसमेत उनी बनेका थिए । २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि पटक–पटक मन्त्री भए । उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए ।

बोहराकी पत्नी उन्नती र दुई छोरा गौरब र प्रज्ज्वल छन् । जेठो छोरा गौरब पाइलट हुन् । कान्छो छोरा प्रज्ववल इञ्जिनियरका साथै राजनीतिमा समेत संलग्न छन् । बोहराकी छोरीको डेढ महिनाअघि हृदयघातका कारण निधन भएको थियो ।

समकक्षीहरूको सम्झनामा दीपक 
बोहराले पञ्चायतकालदेखि गर्दै आएको विकासका कार्यहरू रुपन्देही–३ क्षेत्रका पुराना पुस्ता र उनका समकक्षीहरूको सम्झनामा अझै ताजा छ । पुराना पुस्ताका मध्ये नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सांसद देवीप्रसाद चौधरीले उनलाई सम्झिदै भन्छन्, ‘बोहराले पञ्चायतकालमा धेरै काम गर्नुभएको छ । अस्वथ्य भएको बेला काम गर्ने कुरा हुँदैन । त्यो अलग कुरा हो । तर, उहाँको निधनले यस क्षेत्रलाई कमी महसुस भएको छ ।’

रुपन्देहीमा भैरहवा–लुम्बिनी भूमिगत जलसिँचाइ (भैलुभुज) परियोजनाको सुरुवात गरेका बोहराको निधनले अपुरणीय क्षति पुगेको यस क्षेत्रका बासिन्दा बताउँछन् । जग्गाजमिन नभएका सर्वसाधारणलाई बुटवलको दीपनगरमा बसोबासका लागि पहलकदमीमा उनले भूमिका निभाएका थिए । बोहरालाई राज्यविरुद्धको मुद्दासमेत लगाएपछि त्यहाँका बासिन्दाले उनकै नामबाट बस्तीको नाम ‘दीपनगर’ राखेको सम्झिन्छन् बुटवल उपमहानगरपालिकाका पूर्वमेयर पुनाराम पोखरेल । 

‘दीपनगर भन्ने स्थानबाट सुकुम्बासीहरूको उठिबास गराउँदा बोहराले आवाज उठाएर उहाँले बस्ती बसालिदिनु भएको हो’, राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदय भन्छन्, ‘बुटियान क्षेत्रमा सर्वसाधारणको बसोबास हुन थालेपछि त्यति बेला प्रशासनले उक्त क्षेत्रमा आगो र हात्ती लगाइदिने गरेपछि प्रशासनसँग लडेर अन्ततः बस्ती बसाल्नुभयो ।’

विपक्षी दल, व्यक्तिसँग समन्वयकारी भूमिका निभाउने राजनीतिकर्मीका रूपमा समेत स्थापित बोहराले ल्याएको भैलुभुज परियोजना नै रुपन्देहीको पूर्वाधारको पहिलो विकासको आधार रहेको उनले बताए । भैलुभुज परियोजनाकै कारण गाउँगाउँमा सडक पुगेको र उनको निधनले पार्टी, समाज लगायतलाई अपुरणीय क्षति पुगेको बताए । 

बोहरा ०३७ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्य भए । बोहरा पर्यटन सहायकमन्त्री बनेपछि बस्तीमा सडक, खानेपानी, विद्युत्, सिँचाइदेखि शिक्षालगायत क्षेत्रमा काम गरेको उनका राजनीतिक सहकर्मीहरू बताउँछन् । 
‘दलगत रूपमा कति गर्न सके ?, सकेनन् ? त्यो आफ्नो ठाउँमा छ तर पञ्चायत कालमा बोहराले रुपन्देहीमा विकासका कार्यहरू गरेका थिए’, भैरहवाका नागरिक अगुवा विजय गोविन्द श्रेष्ठले भने, ‘अहिले देशका नेताहरू भागभण्डे छन् । तर, बोहरा भागभण्डे नभएर निस्वार्थी व्यक्ति थिए । निधनले यस क्षेत्रमा क्षति पुगेको छ ।’ 

मंगलबार हेलकोप्टरमार्फत भैरहवा ल्याइएको बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर–३ मा रहेको उनको निवासमा श्रद्धाञ्जली दिइएको थियो । 

श्रद्धान्जली अर्पण गर्न बोहरा निवासमा पुगेकी लुम्बिनी प्रदेशका उपसभामुख मेनुक खाँण केसीले बोहराको निधनले रुपन्देहीलाई मात्रै नभई लुम्बिनी प्रदेश र सिंगो राष्ट्रलाई नै क्षति पुगेको महसुस भएको बताइन् ।

तीन दिन शोक मनाइने 
पार्टी प्रवक्ता श्रेष्ठका अनुसार बोहराको पार्थिव शरीरलाई गृहजिल्लामा पुर्‍याएर श्रद्धाञ्जलि पछि पुनः काठमाडौं ल्याइएको छ । अन्तिम श्रद्धाञ्जलिका लागि बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ । बोहराको बुधबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी उनले दिए ।

वरिष्ठ नेता बोहराको निधनमा 
तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए । पार्टीले तीन दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.