सप्तरीको नमोबुद्धलाई सहिद भीमनारायण गोल्डकपको उपाधि
धनकुटा : सप्तरीको नमोबुद्ध युथ क्लबले १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा उदयपुरको गाईघाट क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो।
निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा नमोबुद्धका विवेक राई, हेमन्त भुजेल, प्रवेश दनुवार, सनम धिमाल र आयुष मगरले गोल गरेका थिए।
गाईघाटका निश्चल मोक्तान, आकाश राई, प्रवीण राईले मात्रै गोल गरे। धिरेन क्षत्रीको प्रहार नमोबुद्धका गोलरक्षक रविन बस्नेतले रोकेका थिए। उपाधिसँगै नमोबुद्धले चार लाख ९९ हजार नौ सय ९९ रुपैयाँ पुरस्कार पायो। उपविजेता गाईघाटले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
खेलको ४० औं मिनेटमा राज भुसालले गोल गर्दै नमोबुद्धलाई सुरुवाती अग्रता दिलाएका थिए। एक मिनेट बित्न नपाउँदै ४१औं मिनेटमा गाईघाटका आकाश राईले गोल गर्दै खेल बराबरी गरेका थिए। ४४ औं मिनेटमा क्षितिज भण्डारीले गोल गर्दै नमोबुद्धलाई पुनः अग्रता दिलाए।
८३औं मिनेटमा गाईघाटका असिम राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। फाइनल खेलको प्लेयर अफ द म्याच नमोबुद्धका गोलरक्षक रविन बस्नेत घोषित भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नमोबुद्धका राज भुसाल घोषित भए। उनले १७ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै नमोबुद्धकै आयुष मगर उत्कृष्ट डिफेन्डर, विवेक राई उकृष्ट मिडफिल्डर, सुरेश लामा उत्कृष्ट प्रशिक्षक घोषित हुँदा गाईघाटका विदेशी खेलाडी फोफना उत्कृष्ट स्ट्राइकर घोषित भए। विधागततर्फका उत्कृष्टले जनही सात हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाए।
प्रतिक्रिया दिनुहोस !