अछाम : साँफेबगर नगरपालिका–१ बैजनाथका जोतीसिंह विश्वकर्मा ६० वर्षका भए। विश्वकर्माका अनुसार उनको जन्म २०२१ असार २४ गते हो। तर, उनको नागरिकतामा २०४१ असार ९ गते छ। उनी सन्तानमध्येका माइला हुन्। नागरिकताअनुसार उनका साइँला भाइ अर्जुनभन्दा उनी १५ वर्ष कान्छा छन्। नागरिकतामा अर्जुनको जन्ममिति २०२६ साल छ।
भारतमा नोकरी गर्दै आएका विश्वकर्माले २०६३ असोज २ गते जिल्ला प्रशासन कार्यालय अछाममा नागरिकता बनाएका हुन्। तत्कालीन बैजनाथ गाविसका सचिव गणेशबहादुर शाहले नागरिकताका लागि सिफारिस गरेका थिए। सिफारिसमा जोतिसिंह विश्वकर्माका बुवा जहरे विश्वकर्माको २०४१ सालमा मृत्यु भएकाले निज जोतिसिंहलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइदिनुहुन भनी सचिव शाहले जिल्ला प्रशासन कार्यालय अछामलाई सिफारिस गरेका थिए।
सिफारिसपत्रमा लेखिएको बुवाको मृत्युको मिति आफ्नो जन्ममिति बनाइदिएको उनले बताए। उनले भने, ‘गाविस सचिव स्वर्गीय भइसके, आफूले पनि त्यतिबेला नागरिकता बनाइसकेपछि हेरफेर केही गरिनँ। अहिले उमेर ६१ वर्षको भइसक्यो। भारतमा नोकरी थियो। त्यहाँबाट अवकाश पाएर गाउँमै बस्ने गरी फर्किएँ। काम विशेषले नागरिकता हेर्दा त ४० वर्षको मात्र भएको रहेछु। म छक्क परेँ।’
असोजमा घर बनाउन जग्गा खरिद गर्ने क्रममा नागरिकता हेर्दा जन्ममिति देखेर आफू अचम्ममा परेको उनले बताए। उनले यस विषयमा वडाध्यक्ष नन्दसिंह ठकुल्लालाई जानकारी गराई सच्याउन पहल गरिदिन आग्रह गरेको बताए।
वडाअध्यक्षसहित पुस ११ गते जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कार्यालयबाट सच्याउन नसकिने भन्दै फर्काइदिएको उनले बताए। उनले भने, ‘नातिनातिनी २१-२२ वर्षका भइसकें। मेरो उमेर ४० वर्षको मात्र छ। मेरो नागरिकताको उमेर हेर्ने हो भने त जेठो छोरा मदन मभन्दा ६ वर्षमात्र कान्छो भयो। भन्न पनि लाज लाग्छ।’ नागरिकताअनुसार उनकी श्रीमती गंगाभन्दा जोति १७ वर्ष कान्छा देखिन्छन्। जोतिका ४ छोराबाट ९ नातिनातिनी छन्। उनकी जेठी नातिनी एलिना २२ वर्षकी भइन्। उनी स्नातक तहमा अध्ययनरत छिन्।
नागरिकतासम्बन्धी यस्ता थुप्रै समस्या गाउँघरमा रहेको बैजनाथ टोल विकास समितिका पूर्वअध्यक्ष विक्रम खड्काले बताए। जोतिसिंह विश्वकर्माका विषयमा गाउँमा सबैलाई जानकारी रहेको र उनको जन्ममितिमा त्रुटि नै रहेको खड्काले बताए। खड्काका अनुसार बाबुको मृत्युको मितिमा जोतिसिंहको जन्ममिति राखेर नागरिकता जारी भएको देखिन्छ। नागरिकतामा भएका त्रुटि सच्याउन सरकार र स्थानीय जनप्रतिनिधिहरूले भूमिका खेल्नुपर्ने खड्काको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !