भैरहवाबाट अन्तर्राष्ट्रिय उडान किन रोकिए ?
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान भरेका छैनन् । विमानस्थलबाट थाइल्यान्डको थाई एयर एसिया, यूएईको फ्लाई दुबई र कुबेतको जजिरा एयरवेजले नियमित उडान गर्दै आएको गत अप्रिल १ देखि उडान सेवा बन्द गरेका छन् ।
नेपाल एयरलाइन्सले सातामा मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं सेवा दिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ ।अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नियमित उडानका लागि ‘समर सेड्युल’ को स्वीकृति नलिँदा उडानहरू नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
‘वायुसेवा कम्पनीहरूले नियमित उडानका लागि ‘समर सेड्युल’ पेस गरेर नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन्’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘उडान स्थगित गरेका वायुसेवा कम्पनीहरूसँग सकारात्मक छलफल भइरहेको जानकारी प्राप्त भएको छ । नआएसम्म केही भन्न सकिँदैन ।’
यस क्षेत्रका उद्योगी व्यवसायीहरूले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका कारण विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको भन्दै कारबाहीको माग गरेका छन् ।
‘महानिर्देशक प्रदीप अधिकारीले पटकपटक दिएको नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गर्दा विमानस्थल सञ्चालनले निरन्तरता पाउन सकेको छैन’, सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले भने, ‘अधिकारीलाई कारबाही गरेर सरकारले नियमित उडान सुचारु गराउनुपर्छ,’ सञ्जालले विज्ञप्ति जारी गर्दै नियमित उडान नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
साथै, सिद्धार्थ उद्योग वाणिज्य संघले पनि विभिन्न अन्तरक्रिया कार्यक्रममा मन्त्रीलगायतहरूले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाए पनि नेपाल एयरलाइन्सबाहेक अन्य सबैले उडान स्थगित गरेकोमा ध्यानार्कषण भएको जनाएको छ ।
पटकपटक ताकेता गर्दा पनि उडान स्थगित भएकोमा आपत्ति जनाउँदै उडान सुचारु नभए कडा कदम चाल्ने बाध्य हुने जनाएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान नगर्दा यस क्षेत्रमा लगानी भएको अर्बौ रुपैयाँ जोखिममा परेको उद्योगी व्यवसायीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !