रौतहटमा ११४ ठाउँमा आगलागी हुँदा २ जनाको मृत्यु, करोडौंको क्षति
रौतहट : आगलागीबाट रौतहटमा दुई जनाको मृत्यु भएको छ भने २ करोडभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चैत २५ गतेसम्म चालु आर्थिक वर्षमा ११४ वटा आगलागीका घटना घटेको हो।
घटनामा दुई महिलाको मृत्यु हुँदा ८ जना पुरुष, १ जना बालक घाइते भएका छन्। आगलागीमा परेर १९ वटा चौपायाको जलेर मृत्यु र २५ वटा चौपाया घाइते भएको प्रहरीले जनाएको छ।
त्यस्तै ८ वटा पक्की घर, १६ वटा कच्ची घर र १५ गोठ र १ वटा सार्वजनिक सम्पत्तिमा क्षति भएको छ। आगलागीको घटनामा ५०१ जना प्रभावित भएकोमा आगो नियन्त्रणका लागि ५६२ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए।
चालु आर्थिक वर्षको साउनदेखि फाल्गुनसम्म १ करोड ९७ लाख ७४ हजारको क्षतिको आकलन गरिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले सुख्खा मौसमको आगमन भएकाले आगोको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने बताए। गर्मीको समयमा जथाभाबी आगो प्रयोग गर्नाले जन्धनको क्षति पुग्ने जोखिम भएकोले आगो सावधानीपूर्वक प्रयोग गर्न उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !