नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै
पोखरा : नयाँ वर्ष २०८२ नजिकिँदै गर्दा पोखरामा पर्यटक आगमन बढेको छ। पोखरामा यतिबेला भारतीय, युरोपियन, अमेरिकनलगायत देशमा पर्यटक र आन्तरिक पर्यटकसमेतको आगमन बढेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
यतिबेला पोखराका होटलहरूमा ६० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको पनि उनले जानकारी दिए। नयाँ वर्ष महोत्सवमा ९० प्रतिशत बढी अकुपेन्सी रहने आयोजकको विश्वास छ। यो सिजन भारतीय पर्यटक घुम्न आउने समय, अन्नपूर्ण पदयात्रा क्षेत्रमा घुम्न जाने पर्यटक आउने सिजन र विद्यालयको परीक्षा सकिएर छुट्टी भएकाले आन्तरिक पर्यटकको आगमनसमेत बढेको होटल संघ नेपालका अध्यक्ष सुवेदीले बताए।
पोखराको फेवाताल किनार बैदाममा नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गर्न फेवा नयाँ वर्ष महोत्सव शनिबारदेखि सुरु हुँदैछ। फेवाताल किनारको सडकमै महोत्सव हुँदैछ। नयाँ वर्ष महोत्सवमा ११ जिल्लाका मौलिक सांस्कृतिक प्रस्तुति रहने आयोजक होटल संघ नेपालले जनाएको छ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको आकर्षण रहेको आयोजकले बताएका छन्। नयाँ वर्षको अवसरमा आयोजक होटल संघका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ। पोखराका १ हजार २ सय होटलमा ४० हजार बेड संख्या रहेको होटल संघले जनाएको छ। स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा सञ्चालन हुने महोत्सव निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघका महासचिव राजेन्द्र ढकालले बताए।
प्रतिक्रिया दिनुहोस !