सिद्धार्थ राजमार्ग स्तरोन्नति पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल
स्याङजा : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नतिको कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
कालीगण्डकी गाउँपालिकामा निर्मित तीनवटा आयोजनाको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले स्याङजाको मात्र नभई देशकै महत्वपूर्ण राजमार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न अत्यावश्यक रहेको बताए।
अर्थमन्त्री पौडेलका अनुसार, ‘राजमार्ग डेडिकेडेट डबल लेन, धेरै ठाउँका घुम्ती मोड सुधार्ने, अग्ला पुल बनाउने, ठाउँ ठाउँमा टनेल मार्ग बनाउनैछौं। राजमार्गलाई एक सय २ किलोमिटरमा छोटो हुनुका साथै पोखराबाट बुटवल २ घण्टामा पुग्ने गरी सडक विस्तारको योजना बनाएका छौं।’
लागत प्रभावी आयोजनाका रूपमा रहेकोले पूर्वाधार निर्माणका लागि स्रोत व्यवस्थापन र लगानी भित्र्याउने बारेमा छलफल भइरहेको समेत मन्त्री पौडेलले बताए। आँधिखोला हाइड्याम, अन्य सडक सञ्जाल, आलमदेवी मन्दिर लगायत, पूर्वाधार निर्माणका विकासे योजनाका आयोजना पहिचान गर्दै प्राथमिकतामा राखेको उनले जनाए।
पालिकाको विकासका निम्ति पालिकाले दिएको १५ बुँदे माग पत्रलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए। संघ, प्रदेश र स्थानीय सरकार सहकार्यमा विकास निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !