साथीले बोकेको बन्दुक पड्किँदा सिकार खेल्न गएका युवकको मृत्यु
कपिलवस्तु : साथीले बोकेको बन्दुक पड्किँदा जंगली जनावरको सिकार खेल्न गएका युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका-९ गब्दहवाका स्थानीय २८ को समुन्द्र गाहा मगर रहेको प्रहरीले जनाएको छ।
मृतक समुन्द्र गाहा मगरसँगै सोही गाउँका ३४ वर्षीय राम बहादुर थारु र ३६ वर्षीय कालु भन्ने राम थारु गाउँदेखि करिब ६ किमी उत्तर तर्फ रहेको बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्न गएका थिए।
सिकार खेल्न गएका उनीहरूले जंगल किनारमा गाडीको आवाज सुनेपछि भागेर सुरक्षित स्थानतर्फ भागेका थिए। सोही क्रममा आफ्नै साथी राम थारुले बोकेको बन्दुक पड्किँदा सो बन्दुकको गोली लागेर समुन्द्र गाहा मगरको मृत्यु भएको प्रहरी इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्चार्ज प्रहरी निरीक्षक विर बहादुर सुनारले बताए। खुट्टामा गोली लागी अधिक रक्तश्राव भएका घाइते मगरको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मृतकसँगै सिकार खेल्न गएका राम बहादुर थारु, कालु भन्ने राम थारु तथा हातहतियार लुकाउन सहयोग गर्ने प्रवेश थारु रहेका छन्।
सिकार खेल्न प्रयोग भएका २ नाल भरुवा बन्दुक बरामद गरिएको छ। जसमध्ये १ वटा फायर भएको अवस्थाको बन्दुक र अर्को लोडेड अवस्थामा लुकाई छाई राखेको अवस्थाको बन्दुक बरामद गरिएको छ।
प्रतिक्रिया दिनुहोस !