खुसी होऔं डिप्रेसनबाट बचौं
काठमाडौं : सबैजना खुसी हुन चाहन्छन्,। आनन्दको खोजीमा दौडिरहेका छन्। आपसमा माया गाँस्न र माया गर्न चाहन्छन्। जिन्दगी रमाइलोसँग बिताउन चाहन्छन्। तर डिप्रेसन भएपछि, मन नै खुसी हुँदैन, रमाइलो पनि लाग्दैन। आनन्द महसुस नै हुँदैन। विडम्बना, आनन्द र खुसी महसुस गर्न नसक्नेहरूको संख्या बढ्दै गएको छ। त्यसैले अहिले जनस्वास्थ्यमा ठूलो समस्या बनेको छ, डिप्रेसन।
एकैछिन् कल्पना गरौं त ! हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने कस्तो जिन्दगी हुन्छ होला। डिप्रेसनबाट पीडित व्यक्तिहरू भन्नुहुन्छ, ‘मलाई कसैको माया लाग्दैन न श्रीमतीको, न श्रीमान्को, न बच्चाको।’ आफ्नै पनि माया लाग्दैन। जे कुरा पनि झर्को लाग्छ। फ्रेस होउँ, राम्रा ड्रेसहरू लगाउँ, शृंगारपटार गरुँ, साथीभाइलाई भेटु, घुम्न जाउँ, बाहिर गएर डिनर खाउँ, फिल्म हेर्न जाउँ, घरमै टीभी हेरौं, गीत सुनौं आदि कुनै कुरामा पनि चाख लाग्दैन। परिवारले हेर्दा न ज्वरो, न दुखाइ, केही पनि त छैन। किन यस्तो गरेको होला ? भन्ने लाग्छ। डिप्रेसन भएको व्यक्तिलाई कुनै कुरामा पनि रमाइलो नलाग्ने हुनाले समस्या देखिएको हो।
के छन् डिप्रेसनका कारण ?
– केही शारीरिक रोगहरू जस्तै : थाइराइड, मधुमेह, हृदय रोग, बाथ वा अन्य दीर्घ रोग भएमा।
– केही औषधि सेवन गरेका कारण पनि डिप्रेसन हुन सक्छ।
– शारीरिक यातना, यौन शोषण, बलात्कार भएका कारण।
– भावनात्मक चोटका कारण।
– बाल्यावस्थामा भएका, अनुभव गरेका अप्रिय घटनाका कारण
· कुनै पनि कारण नभइकन आफूभित्रैबाट निस्केर हुने डिप्रेसन।
जाडोमा हुने डिप्रेसन हुन सक्छ। यो हुने कारण हाम्रो जैव–चक्रीय आवर्तन (सर्काडिएन रिद्म) मा गडबडी भएर हुन्छ भन्ने छ। यो सर्काडिएन रिदमलाई इन्टरनल क्लक पनि भनिन्छ। हामी राति जाग्यौं भने अन्दाजी यति बज्यो होला भनेर अनुमान यसको मद्दतले गरिन्छ। बिहान ४ बजे नै जागेर तयार हुनु छ भने पनि यसले नै ४ बजे जगाउँछ। निद्रा ठीक समयमा लाग्ने र बिहान ठीक समयमा खुल्ने पनि इन्टरनल क्लकले गर्छ। सरकाडिएन रिदम गडबड भयो भने समयमा निद्रा नआउने, या साँझपख नै निद्रा लाग्ने, या ज्यादै बढी निद्रा लाग्नेजस्ता समस्याहरू हुन्छन्।
जाडो याममा हुने डिप्रेसन कात्तिक–मंसिरतिर सुरु हुन्छ र चैत–वैशाखतिर हराउँदै जान्छ वा निको हुन्छ। यदि कसैलाई पहिलेदेखि नै डिप्रेसन छ भने जाडो महिनामा बढ्छ। जाडो याममा हुने डिप्रेसनलाई सिजनल डिप्रेसन पनि भनिन्छ र यसका लक्षणहरू केही फरक खालका हुन्छ। डिप्रेसनमा भोक नलाग्ने र निद्रा नपर्ने हुन्छ तर जाडो यामको डिप्रेसनमा भोक बढी लाग्ने र निद्रा पनि बढी लाग्ने हुन्छ। धेरै खाना खाएका कारणले वजन बढ्नसमेत सक्छ। डिप्रेसनले वा जाडो याममा हुने डिप्रेसनले काममा बाधा पर्छ, पढाइमा बाधा पार्छ र आफ्नो दैनिकीमा असर पारेकै हुन्छ।
सर्काडिएन रिदम वा इन्टरनल क्लक सकभर गडबड नहोस् भन्ने हो भने सधैंजसो एउटै समयमा सुत्ने र ठीक समयमा उठ्ने गर्नुपर्छ। आधा घण्टा अगाडि पछाडि भएर फरक पर्दैन अर्थात् आधा घण्टा छिटो वा ढिलो सुत्न सकिन्छ र त्यसरी नै बिहान उठ्न सकिन्छ। जति बेला मन लाग्यो सुत्ने र उठ्ने बानीले इन्टरनल क्लकमा गडबडी आउँछ।
जाडो याममा हुने डिप्रेसनको कारण सूर्यको प्रकाशसँग पनि जोडिएको छ। जाडोमा घाम ताप्न कति आनन्द आउँछ, सबैले अनुभव गरेकै कुरा हो। डिप्रेसनको औषधिका अलावा लाइट थेरापीले पनि जाडो यामको डिप्रेसनको उपचार गरिन्छ।
– सूर्य र सूर्यको ताप र प्रकाश–वनस्पति, बिरुवा, फूलहरू र समस्त प्राणी जगत्का लागि अति आवश्यक मानिन्छ।
– आराम : आरामर पर्याप्त निद्रा (रेस्ट एन्ड स्लिप) ले ऊर्जा दिन्छ। रोगसँग लड्ने क्षमता बढ्छ।
– व्यायाम : शारीरिक व्यायामले डिप्रेसनलगायत धेरै रोगहरूबाट बचाउँछ र स्वास्थ्य राम्रो राख्छ।
– खानपिन वा आहार : शारीरिक एवं स्वास्थ्य राम्रो राख्न महत्वपूर्ण योगदान स्वस्थकर आहारले गर्छ।
– आत्मविश्वास : म गर्न सक्छु र गरेर देखाउँछु भन्ने विश्वासले अगाडि बढाउँछ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, विश्वमा करिब २५ प्रतिशत व्यक्तिहरू आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्यको समस्या झेल्ने अवस्थामा पुग्न सक्छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा प्रकाशित गरेको एक सर्वेक्षणअनुसार १८ वर्षमाथिका करिब १० प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्य समस्या देखिएको पाइएको छ। त्यसैले मन मिल्ने साथीभाइसँग आफ्ना दु:खसुख बाँडौं। एकअर्कालाई सहयोग गरौं। घर परिवारलगायत सबै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको महत्व बुझौं। सकारात्मक सोचसहित अघि बढौं। डिप्रेसनबाट मुक्त होऔं।
डा. कपिलदेव उपाध्याय वरिष्ठ मनोचिकित्सक हुन्।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !