युथ सेलिब्रेसनको सन्देश : सरकार होइन, मिसन २०८४
काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले लोकतन्त्र दिवसका अवसरमा युथ सेलिब्रेसन गरेको छ। लोकतन्त्र आएको १९ वर्ष भएको छ। एमाले लोकतन्त्रको दिवसलाई उत्सवका रूपमा मनाएको छ। पछिल्लो समय पुनर्उत्थानवादीहरू सलबलाउन थालेपछि लोकतन्त्रको रक्षाका लागि एमाले युवाहरू सडकमा उतारेर उत्सव मनाएको हो। उसले युथ सेलिब्रेसनमार्फत सरकार बचाउनतिर नभई मिसन २०८४ मा ध्यान केन्द्रित गर्ने सन्देश दिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाऊ, सरकार बचाऊ भन्दै नहिँडेको बताए। उनले नेता–कार्यकर्ताले मिसन २०८४ मा ध्यान केन्द्रित गर्न निर्देशन गरे।
एमाले अध्यक्ष ओलीले नेता कार्यकर्तालाई सरकारको बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताए। ‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ। त्यसैकारण एमाले सरकार बनाउ, सरकार बचाउ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ। हामीले २०७० को चुनाव भन्यौ, २०७४ को चुनाव भन्यौ, २०७९ को चुनाव भन्यौ र २०८४ को चुनाव भनिराखेका छौं, मिसन ०८४ भनेका छौं।’ उनले अरूतिर ध्यान केन्द्रित नगरी मिसन ८४ मा लाग्न पनि निर्देशन गरे। ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन, ०८४ मा लाग्नुस्। सरकार चलाउने, सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने, जे गर्नुपर्छ यहाँ, अहिले संसदको बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउन सकेसम्मका प्रयासहरू एमालेले गर्ने छ। त्यसकारण यस कुरामा चिन्ता नगर्नुस्। मिसन, ०८४ मा ध्यान दिनुस्।’ उनले भने, ‘मिसन, ०८४ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने मिसन हो।’
प्रधानमन्त्री ओलीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्वहरू एमालेविरूद्ध लागको बताए। उनले भने, ‘यतिकै होइन, हाम्रो राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो संघर्षका कारणले। अर्को जनपक्षीयताको कारणले लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले। विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभित भएका छन्। दिनैपिच्छे अनेक प्रकार भ्रम फिजाउन खोजिरहेका छन्।’
उनले लोकतन्त्रमा सरकारको आयुको विषय ठूलो नभएको बताए। ‘हरेक कुरामा, हरेक दिन सरकार जान्छ, सरकार जान्छ... भनेर भन्न थालेका छन्। लोकतन्त्रमा लामो सरकार पाँच वर्षका लागि बन्छ।’ उनले भने, ‘अनि यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि ५० वर्षका लागि कसैको वंशको शासन हुन्छ, सय वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेको जस्तो स्थिरता हामीले भनेको स्थिरता लोकतान्त्रिक स्थिरता हो, गतिशीलताको स्थिरता हो, जनताको अभिमतसहितको स्थिरता हो।’
उनले वर्तमान सरकार एमाले र कांग्रेसको एउटा संकल्पसहित बनेको बताए। ‘यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो। यसले त्यही स्थिरता र स्थायित्व दिन्छ र त्यही दिएर अगाडि बढिरहेको छ।’ उनले भने।
अध्यक्ष ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरूले संकल्प र तागत देखाउनुपर्ने बताए। उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने संकल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए। ‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्। महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन्। ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ,’ उनले भने, ‘वैैशाख ११ गते निरंकुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो। यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ। निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको थियो। हामीले अनेक कठिनाइ झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको हो। सामन्ती व्यवस्थालाई पुनः फर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने जस्ता जंगली र राक्षसी प्रकृति गलत हो। यस्ता कार्य सह्य हुँदैन।’
उनले अघिल्लो ३० वर्ष र पछिल्लो ३० वर्षको विकासको तुलनात्मक गर्न पनि आग्रह गरे। उनले लोकतन्त्रमा देशको विकास भएको बताए।
‘लोकतन्त्रमा मात्रै देश समृद्धितर्फ अगाडि बढ्न सक्छ भन्ने कुरा विगत ३० वर्षको इतिहासले नै देखाएको छ, ३० वर्ष अगाडि कस्तो अवस्थामा थियो भनेर। ३० वर्षयता विकासले देशव्यापी रूपमा कुन गति लिएको छ, उनले भने, ‘पूर्वाधारका क्षेत्र होऊन् कि अरू क्षेत्र होउन्, स्वास्थ्य अथवा सामाजिक क्षेत्रमा जनतालाई माया गर्ने प्रणाली कुन रहेछ भन्ने कुरा, कसले गर्दो रहेछ भन्ने कुरा, हामीले ज्येष्ठ नागरिक भत्तादेखि सडकका बालबालिकाको व्यवस्था गर्नेदेखि, सडक मानवको व्यवस्था गर्नेदेखि भीखमंगाहरू रहन नपाउने, भीखमंगा कोही हुनु पर्दैन, कसैले रहरले गलत ढंगले भीखमंगा हुन खोज्छ भने त्यस्ता कुराहरूलाई अस्वीकार गर्ने ती कामहरू हामीले गरेका छौं।’
प्रधानमन्त्री ओली युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै यसमा सचेत हुनुपर्ने बताए। ‘देश बन्छ, त्यसबाट समृद्धितर्फ देश जान्छ, त्यसबाट राष्ट्रिय एकता बन्छ। त्यसकारण हामी अनेक प्रकारका विविधताहरूको एकता खोज्छौं र समानतामा एकता खोज्छौं, उनले भने, ‘यहाँ अनेक प्रकारका प्रयासहरू भइराखेका छन्, अनेक ढंगले साम्प्रदायिक विद्धेषहरू भड्काउने, नेपालीलाई फुटाउने र विभाजित गर्ने प्रयास भइराखेका छन्। जातका नाममा, धर्मका नाममा, भाषाका नाममा, संस्कृति, भूूगोल र अनेक नाममा फुटाउने प्रयासहरू भइराखेका छन्। यस्ता कुप्रयास र कुचेष्टाहरूबाट हामी स्पष्ट हुनुपर्छ।’ उनले युवाले भ्रमलाई चिर्दै अघि बढ्न पनि आह्वान गरे।
‘युवा पंक्तिलाई अल्मल्याउन खोज्ने प्रयास भइरहेका छन्। युवा आफ्नो साथमा छ भनेर धाक लगाउने र भ्रम छर्ने त्यस प्रकारका प्रयासहरू भइराखेका छन्। केही मानिसहरूलाई विभिन्न सामाजिक सञ्जालमा खटाएर, पेड मान्छेहरूबाट, केही मान्छेहरूबाट देश भरि भ्रम फिँजाउने प्रयास भइराखेको छ।’ उनले भने, ‘त्यसकारण हामी यस्ता कुराहरूमा सचेत र सजग हुन आवश्यक छ, जरूरी छ। म हाम्रा युवाहरूलाई आग्रह गर्न चाहन्छु, अबको समय भनेको हामी आफैंँ सचेत भएर, के कुरालाई अस्वीकार गर्ने, के कुरालाई स्वीकार गर्ने र अगाडि बढाउने छुट्याउन सक्नु पर्छ।’ उनले युवाहरूका लागि हामीले शिक्षाको प्रबन्ध, आम्दानीको प्रबन्ध अथवा उद्यमशीलता र रोजगारीको व्यवस्थाको बाटोबाट अगाडि बढ्नुपर्ने बताए। ‘हामीले पहिले पनि भनेका थियौं, अबको समय भनेको देशमा युवाहरूको समय हो र युवाहरूका लागि हामीले शिक्षाको प्रबन्ध, आम्दानीको प्रबन्ध अथवा उद्यमशीलता र रोजगारीको व्यवस्थाको बाटोबाट अगाडि बढ्नु पर्छ। युवाहरूलाई शारीरिक र मानिसक रूपबाट स्वस्थ राख्नुपर्छ। अर्थात्, हामीले भनेका थियौं, शिक्षा, ज्ञान, सिकाइ एउटै कुरा हो। सिकाइ, कमाइ र दबाइ अर्थात् शिक्षा, उद्यमशीलता र स्वास्थ्य यी कुराहरूलाई अगाडि बढाउने। यसका लागि हामी हरेकले सचेत हुनुपर्छ। आज युवाहरूलाई अनेक प्रकारले गलत चिजमा फसाउन खोज्ने, नसामा फसाउन खोज्ने, ड्रग्समा फसाउन खोज्ने यस्ता प्रयासहरू भइराखेका छन्। यसलाई हामीले अस्वीकार गर्न सक्नुपर्छ र हामी नसामा होइन, देश बनाउने एउटा सचेत संकल्पका साथ अगाडि बढ्नुपर्छ। यसका निम्ति युुवा समुदाय अत्यन्त सजगताकासाथ अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु।’
काठमार्डौं महानगरकी उपमेयर डंगोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताइन्। उनले भनिन्, ‘जब–जब युवा एकजुट हुन्छन् तब–तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन।’
नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्वसामु प्रस्तुत गरेको दाबी गरिन्। युवाले सही र गलत छुट्ट्याउनु पर्ने उनको भनाइ छ। युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन्।
सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ। मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताइन्।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने आग्रह गरिन्। ‘एमालेले युवालाई दश नंग्र्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डंगोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’ नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको बताइन्।
युथ सेलिब्रेसनमा एमाले महासंचिव शंकर पोखरेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, डा. आनन्द सिंह, पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति विष्णु पोखरेल, शिवराज नगरपालिका कपिलवस्तुकी उपमेयर शिवकुमारी थारूलगायतले बोलेका थिए। सांगीतिक कार्यक्रम पनि गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !