गणतन्त्रमा सुशासनको सवाल !

गणतन्त्रमा सुशासनको सवाल !

लोकतन्त्रको मूल आधार स्थानीय सुशासन हो। स्थानीय सुशासनको भरमा केन्द्रीय शासनको कार्यबोझ कम हुन्छ। राष्ट्रिय विकासको आधारभूमि नै स्थानीय सुशासन हो।

नेपालमा शासनको परम्परा प्राचीन कालदेखि नै सुरु हुन्छ। विभिन्न कालखण्डमा गरिएका प्रयोगहरू बेग्लै बेग्लै शैलीका भए पनि महत्वपूर्ण मानिन्छन्। किराँतकालीन प्राचीन नेपालको शासन पद्धतिमा राज्यलाई अनेक थुममा विभाजन गरिएको थियो। प्रत्येक थुममा जनताले चुनेका पाँचजना पञ्च रहन्थे। थुमभन्दा मुनि गाउँ रहन्थे। प्रत्येक गाउँमा त्यहाँका बासिन्दाले विचारी, मुखिया चुन्दथे।

यस कालको थुम अनेक जिल्लामा विभाजन गरिएको थियो भने विभिन्न थुम अन्तर्गत ग्रामहरू रहने व्यवस्था थियो। किराँतहरूले व्यवस्थित शासन व्यवस्था मात्र होइन, स्थानीय स्वशासनका परम्पराको समेत विकास गरेका थिए। सुशासनबिना स्थानीय प्रजातन्त्रको विकास र जगेर्ना हुन सक्तैन। जबकि स्थानीय प्रजातन्त्रको विकासले स्थानीय सुशासनलाई बल पुर्‍याउँछ। प्रजातन्त्र नै जनताको प्रशासन मात्र नभएर सुशासन पनि हो।

राजा मानदेवको पालादेखि (४६४–५०० ई.) लिच्छविकालको स्पष्ट जानकारी पाइन्छ। लिच्छवी शासनकालको प्रशासन व्यवस्था सोझै केन्द्रबाट शासन गरिने देश र केन्द्रको अधिनमा रही सामन्तद्घारा शासन गरिने देश गरी दुई खण्डमा विभाजित थियो। जिल्लालाई विषय भनिन्थ्यो र स्थानीय प्रशासनलाई चलाउने विषयपति हुन्थे। यसरी केन्द्र सामन्त र विषय एकातिर थिए भने ग्राम, तल र द्रङ स्थानीय तहमा थिए। जसमध्ये ग्रामपञ्चालीको व्यवस्था स्थानीय तहमा थियो।

ग्राम पञ्चालीको सदस्य स्थानीय पाँच बुढापाकाले स्थानीय विवाद समाधान गर्ने, कर उठाउने, चोरी, डकैती, हत्या, व्यभिचार, विवाह र विच्छेद जस्ता पञ्चपराध हेर्दथे। लिच्छविहरू पछि मध्यकालमा प्रायः मल्ल राजाहरूले शासन गरे। जतिबेला केन्द्र र स्थानीय शासन थियो, लिच्छविहरूको शैली अपनाई विषय (जिल्ला)लाई थुम, बस्ती, ग्राम तथा टोल, उमरा आदिले स्थानीय प्रशासन चलाउँदथे। मध्यकाल उल्लेखनीय नभए पनि पञ्चायत, पञ्चाली र पछि पञ्चसमूच्यय, पञ्च जस्ता संस्थाले स्थानीय तहमा लोकप्रियता लिएको पाइन्छ।

पृथ्वीनारायण शाहबाट विभिन्न बाइसे–चौबिसे स–साना राज्यहरूलाई मिलाई एउटा विशाल मुलुकको रूप दिने काम भएको थियो। यसलाई राजनीतिक एकीकरण मात्र मान्न उपयुक्त हुन्छ। उनले आफ्ना भारदारहरूलाई दिएको दिव्योपदेशमा नेपाल चार वर्ण छत्तिस जातको फूलबारी भनेका थिए। यस दिव्य उपदेशबाट नै थाहा लाग्छ कि उनको कसैप्रति भेदभाव थिएन। सबैलाई समान अवसर दिनु र समान व्यवहार गर्नु उनको प्रमुख नीति थियो। तर १९१० सालमा राणा प्रधानमन्त्री जंगबहादुरले मुलुकी ऐन लागू गराई नेपाली जनतालाई ठूला र साना, छुत र अछुत, तागाधारी र मतवालीमा विभाजत गरे। तत्पश्चात धर्म, लिंग, जात, जाति आदिका आधारमा नेपाली जनता आपसमा विभक्त भई नेपाली समाजमा असमानता र वैमनस्य कायम भयो। यस कालमा शक्ति विकेन्द्रीकरणको ठीक उल्टो राजालाई समेत निष्कृय र अधिकारविहीन बनाई शक्ति केन्द्रीकरण गरिएको थियो। जहाँ सुशासनको कल्पनासमेत गर्न सकिँदैनथ्यो।

नेपालमा स्थानीय सरकारको स्थापना जे जस्तो भए पनि राणाकालदेखि नै प्रयास भएको पाइन्छ। सन् १९२६ को विधान अनुसार मान्यजन कचहरीको स्थापना र २००४ सालको वैधानिक कानुनले स्थापित गर्ने प्रयास पञ्चायती इकाईहरू यसका उदाहरण हुन्। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि पनि शासनलाई बलियो बनाउने काम लामो समय हुन सकेन। २०१९ सालमा नेपालको संविधान घोषणा गरेपश्चात् पञ्चायती व्यवस्था स्थापना गरियो। तर जनहितमा कार्य हुन सकेन।

२०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेपछि तीनपटक आम निर्वाचन भयो तर पटक पटक सरकार परिवर्तन भए। सोचेअनुसार देशमा सुशासन कायम हुन सकेन। जनता अधिकार सम्मन्न हुन नपाएको भनी २०६२/६३ सालमा जनआन्दोलन भयो। उक्त लोकतान्त्रिक जनआन्दोलन पश्चात् नेपालमा २०६४ चैत्र २८ गते संविधानसभा निर्वाचन भयो। सो संविधानसभा दुई वर्षभित्र नेपालको संविधान बनाउने भनिए तापनि पटक पटक म्याद थप भयो। तर पनि संविधान बनाउन नसकी  २०६९ जेठ १४ गते भंग भयो।

दोस्रो संविधान सभाको सदस्यहरूको निर्वाचन २०७० मंसिर ४ गते सम्पन्न भयो। र, अन्ततः २०७२ असोज ३ गते यसै संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो। नेपालको संविधान नेपाली जनताको सात दशकको अथक प्रयासबाट प्राप्त भएको हो। युगीन यो पलको अपेक्षासहित

नेपाली जनताले गरेको जनआन्दोलनको अभिलाषा र गरिमामयको सार्थकता नै शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो।
सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले सामन्त, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेको सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्नेगरी संविधान जारी भएको पाइन्छ। बहुभाषिक, बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी ऐक्यवद्ध, सामाजिक, सहिष्णु र सद्भावनालाई संरक्षण एवं प्रवद्र्धन गर्ने पनि भनिएको छ। वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका छुवाछुतको अन्त्य गरी समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्र्दै २०७२ सालमा संविधान जारी भयो।

संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा गरेको छ। प्रतिस्पर्धात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा सुनिश्चित गरेको छ। साथै, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्धता राखी समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरेको छ।

संविधान अनुसार संघ, प्रदेश र स्थानीय गरी राज्यको तीन तहलाई संवैधानिक व्यवस्था गरिएको पाइन्छ। देश निर्माणमा यी तीनै तहको महत्वपूर्ण भूमिका हुन्छ। सोका लागि तीनै तहमा सुशासन कायम हुन अति आवश्यक छ। नेपालको सन्दर्भमा हाल प्रदेश सरकारको औचित्य माथि ठूलो प्रश्न उठ्ने गरेको छ। मानव सभ्यता विकासको क्रममा मानवजाति राज्य सञ्चालनको प्रक्रियामा समावेश हुन थालेपछि अधिकार र दायित्वको बाँडफाँट बहस सुरु भएको हो।

केन्द्रीकृत र विकेन्द्रीत राज्य पद्दतिको विषय नवीन होइन तर प्रजातान्त्रिक शासन पद्धतिको मौलिक मान्यता विकेन्द्रीकरण हो। केन्द्रमा रहेको शक्ति, अधिकार, दायित्व, साधन र स्रोत जति तल्लो निकाय तह र वर्गमा निःसृत हँुदै जान्छ, त्यति नै प्रजातन्त्रिक शासन व्यवस्थाले सार्थकता पाएको ठानिन्छ। सोहीअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने गयो भन्ने भनाइ रह्यो। सो क्रममा दिगो विकासको प्रक्रियालाई सबल बनाउन समाजमा रहेका कमजोर वर्गसम्म विकासको प्रतिफल पुग्न सकोस् भन्ने अभिप्रायले स्थानीय सरकारलाई समाज विकासको प्रमुख निकायको रूपमा प्रस्तुत गरियो।

लोकतन्त्रको सफल प्रयोग आमजनताले अनुभूत गर्नसक्ने, सहभागी बन्न सक्ने, निर्णय निर्माण र निरूपणमा भूमिका खेल्ने सुशासन हुनसक्छ भन्ने रह्यो। सबै क्षेत्रका जनतालाई बढी अधिकार सम्पन्न र उत्तरदायी बनाउनुमा नै लोकतन्त्रको सार्थकता रहन पर्ने हो। आफ्नो राज्यको भाग्य निर्माण जनता आफैंले गर्नुपर्ने हो। मूलुकको चौतर्फी विकास, जनताको सक्रिय सहभागिता जुटाइ स्थानीय सरकारले विकासका लागि सुशासन सशक्त बनाउन बनाउन पर्ने हो।

लोकतन्त्रको मूल आधार स्थानीय सुशासन हो। स्थानीय सुशासनको भरमा केन्द्रीय शासनको कार्यबोझ कम हुन्छ। राष्ट्रिय विकासको आधारभूमि नै स्थानीय सुशासन हो। चैत्र १५ गते काठमाडौंमा भएको घटनाले गणतन्त्रमा सुशासनमाथि नै प्रश्न चिह्न उठाएको छ। विश्वव्यापी रूपमा स्वीकृत आधारभूत मानव अधिकार, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली, जनतामा निहित सार्वभौमसत्ता र जनताको सर्वाेच्चता, संवैधानिक सन्तुलन र नियन्त्रण, कानुनको शासन, सामाजिक न्याय र समानता राज्यको दायित्व हो।

यसैगरी, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, नागरिक समाजको अनुगमन, पूर्ण प्रेस स्वतन्त्रता, जनताको सूचनाको अधिकार, राजनीतिक दलहरूको क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता पनि दायित्व हो। त्यसो त जनसहभागिता, निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अवधारणाहरूको पूर्ण परिपालन गर्ने राजनीतिक प्रणाली अवलम्वन गरी भ्रष्टाचार र दण्डहीनता अन्त्य पनि हो। यसरी सुशासन कायम गर्ने कार्य राज्यको दायित्व हो।

- अधिकारीले नेपालमा गुणस्तरीय जीवन विषयमा विद्यावारिधि गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.