गेटा अस्पताल : उपकरण खरिदमा भ्रष्टाचारै भ्रष्टाचार
धनगढी : कैलालीको गेटा अस्पतालको उपकरण खरिदमा चरम अनियमिनता भएको छ । ७ अर्ब लगानीको पूर्वाधार निर्माण भइसकेको गेटा अस्पतालमा मेडिकल कलेज कसरी चलाउने ? विश्वविद्यालय बनाउन कसरी ऐन छिटो पास गर्ने ? र ५० शय्याको अस्थायी अस्पताललाई स्थायी गरी कसरी विस्तार गर्ने ? भन्दा पनि हरेकका आँखा उपकरण खरिदमा सेटिङ मिलाएर कसरी कमाउने ? भन्नेतिर लागेका छन् ।
वीर अस्पताल काठमाडौंबाट चैत १४ गते गेटा अस्पताल सरुवा भएर आएका निर्देशक डाक्टर प्रमोदकुमार यादवले एक साताभित्र १७ वटा उपकरण खरिदका बोलपत्र प्रकाशित गरेका छन् । उनले अधिकांश बोलपत्र, खरिद ऐन र भ्रष्टाचार निवारण ऐनविपरीत प्रकाशित गरेका छन् ।
बोलपत्र नम्बर जीएच/जी/एनसीबी–१० मा मेडिकल ग्यास पाइपलाइन सिस्टमको माग गरिएको छ । त्यसमा जीसीई मेडिकल कम्पनीको एमसी–८० डुब्लेक्स मोडेल नै तोकेर माग गरिएको छ । यस्तै गाइने अप्रेसन कक्षका लागि उपकरण खरिदको टेन्डरमा पाठेघरको क्यान्सर जाँच गर्ने मेसिनको स्पेसिफिकेसनमा न्यूमार्स कम्पनीको लु–मोडेलसँग मिल्ने गरी बुँदाहरू राखिएका छन् । त्यो कम्पनीको क्याटलक हेर्दा धेरै बुँदाहरू हुबहुकपी गरिएका छन् । 
उपकरण खरिदको एउटा अर्को टेन्डरमा आईसीयूमा भएका बिरामीहरूको घाँटीको र्याल निकाल्ने मेसिनको माग गरिएको छ । ‘अटोमेटिक ट्राचेल सेक्रेशन रिमोभल डिभाइस’ नाम गरिएको नवीनतम प्रविधिको उक्त उपकरण नेपालको एकमात्र आपूर्तिकर्ता एम केयर टेक्नोलोजीले मात्रै आपूर्ति गर्छ ।
तर, यो मेसिनसँगको प्याकेजमा आईसीयू बाहेकका करोडौंका उपकरण राखेर एम केयरलाई मात्र टेन्डर पार्ने गरी अनियमितता गरिएको छ । यस प्याकेजमा ईसीजी मेसिन पनि राखिएको छ । यस उपकरण खरिदका लागि बनाइएको स्पेसिफिकेसनका बुँदा नम्बर ३ दशमलव ७, ३ दशमलव ८, र ३ दशमलव १४, ट्राचफ्लस मोडेलको क्याटलकबाट सारिएका छन् ।
स्रोत भन्छ, ‘कुनै–कुनै उपकरण एकजना आपूर्तिकर्तासँग मात्र हुन्छ । उसलाई पूरै प्याकेजको टेन्डर पार्न अरु सहज रूपमा पाउने उपकरणहरू पनि राखेर बदमासी गरिन्छ । यो सरासर भ्रष्टाचार हो । यस्तो गर्न भनेको खरिद ऐन र भ्रष्टाचार निवारण ऐनविपरीत हो । अरू उपकरण अरू आपूर्तिकर्तासँग पनि हुने भएकाले प्रतिस्पर्धा नहोस् र त्यसबाट बचेको रकम कमिसनका रूपमा आओस् भनेर यस्तो गरिन्छ ।’
यति मात्रै होइन, आईसीयूमा प्रयोग हुने उपकरण खरिदको बोलपत्रभित्र ‘ब्लड ग्यास अनालाइजर’ नामक उपकरण पनि राखिएको । उक्त उपकरणको स्पेसिफिकेसन ड्रागन कम्पनीको आई–२० भन्ने मोडेलसँग मिल्ने गरी राखिएको छ । यो चाइनिज कम्पनी हो । एकजना बायोमेडिकल इन्जिनियर भन्छन्, ‘यसको स्पेसिफिकेसनमा लाक्टोलोज र ग्लुकोज टेस्ट गर्न मिल्ने भन्ने कुरा लेखिएको छैन । सायद कुनै आपूर्तिकर्ताको पुरानो मोडेलको कुनै उपकरण किनिदिनका लागि यस्तो गरिएको हुनसक्छ ।’
उनले ब्लड ग्यास अनालाइजर मेसिनमा लाक्टोलोज र ग्लुकोज टेस्ट अनिवार्य हुनुपर्ने बताए । ‘ब्लड ग्यास अनालाइजर मेसिनमा लाक्टोलोज र ग्लुकोज टेस्ट भएन भने त्यसको कुनै काम नै छैन’, उनले भने ।
गेटा अस्पतालको उपकरण खरिदका लागि प्रकाशित भएका १७ वटा टेन्डरमध्ये एउटा बाझोपनको उपकरणको प्याकेज पनि छ । त्यसमा ९ वटा उपकरणहरू माग गरिएका छन् । त्यो प्याकेजभित्र सल्यक्रिया कक्षमा प्रयोग हुने ‘फोरके हिस्टेस्कोपी सिस्टम’ र अल्ट्रासाउन्ड मेसिन पनि राखिएको छ । तर, बाझोपन लागि अति अवश्यक रहेको महिलाको डिम्बासयबाट अण्डा निकाल्ने उपकरण भने प्याकेजमा समावेश गरिएको छैन । स्रोत भन्छ, ‘यो उपकरण नभएर बाझोपनको सेटअफ गर्नै सकिँदैन ।’
‘फोरके हिस्टेस्कोपी सिस्टम र अल्ट्रासाउन्ड मेसिनहरू देशका धेरै आपूर्तिकर्तासँग उपलब्ध हुन्छन् । उनीहरूले प्रतिस्पर्धामा टेन्डर हालेपछि अस्पतालले सस्तोमा उपकरण पाउछ तर कर्मचारीको कमिसन घट्छ । त्यसैले आपूर्तिकर्ताहरूसँग पहिना नै सेटिङ गरेर प्याकेज बनाईन्छ’ सर्जिकल सामानका एकजना आपूर्तिकर्ता भन्छन् । ‘प्रकाशित भएका १७ वटा टेन्डरमध्ये अधिकांशमा यस्तै गरिएको छ ।’
१७ वटा टेन्डरमध्ये मोडुलर ओटीको पनि बोलपत्र आह्वान भएको छ । मोडुलर ओटीका प्याकेजमा राखिएका अधिकांश उपकरणहरू साल्या कम्पनीको पर्ने गरी राखिएका स्रोत बताउँछ । उक्त उपकरणहरूको स्पेसिफिकेसनमा ११ वटा बुँदा साल्या कम्पनीको उत्पादनसँग मिल्दोजुल्दो छन् ।
अस्पतालको सुरुवातदेखि नै मेडिकल माफियाहरूको आँखा गेटामा पर्दै आएको छ । ५० शय्याको अस्थायी अस्पताल सञ्चालन भएका बेला निर्देशकको रूपमा आएका डाक्टर प्रमोद जोशीको पालादेखि नै उपकरण खरिदमा भ्रष्टाचार हुन थालेको हो । डाक्टर जोशीका पालामा पनि अनियमितताको मनसायले प्रकाशित ६ वटा बोलपत्रहरू राष्ट्रिय दैनिकमा प्रशासित भएर रद्ध भएका थिए ।
त्यो क्रम अहिलसम्म आएर पनि रोकिएको छैन । वीर अस्पताल काठमाडौंबाट सरुवा भएर चैतको १४ गते मात्रै निर्देशकको रूपमा गेटा अस्पतालमा हाजिर भएका डाक्टर प्रमोदकुमार यादवले चैतको २७ गतेयता मात्रै २८ करोडका १७ वटा टेन्डर प्रकाशित गरेर उपकरण खरिदमा भ्रष्टाचार गरेका छन् ।
उनले खोलेका १७ वटा टेन्डरहरू प्याकेजमा खोलिएका छन् । एउटा मात्रै सप्लायर्सलाई लक्षित गरी प्याकेजमा खोलिएका टेन्डरमा सल्यक्रिया कक्षका लागि आवश्यक उपकरणमा अन्तरंगको सामान राखिदिएका छन् । उनले अधिकांश उपकरणमा कम्पनीको मोडेलसमेत उल्लेख गरेर स्पेसिफिकेसन तयार पार्न लगाएका छन् ।
भएको खरिद समिति हटाएर उनले नयाँ खरिद समिति बनाएका छन् । अस्पतालमा कार्यरत बायोमेडिकल इन्जिनियरलाई बाइपास गर्दै काठमाडौंबाट बायोमेडिकल इन्जिनियर ल्याएर स्पेसिफिकेशन तयार पारेर चरम भ्रष्टाचार गरेका छन् ।
भ्रष्टाचार निवारण र खरिद ऐनको धज्जी
नेपालमा हरेक टेन्डर खरिद ऐनअनुसार हुनुपर्ने प्रावधान छ । खरिद ऐनको दफा ३ (क) मा प्याकेजिङ तथा समूह विभाजनसम्बन्धी व्यवस्था गरिएको छ । दफा ३ (क) को उपदफा २ मा ‘सार्वजनिक निकायले खरिदलाई बढी सुविधाजनक समूहमा विभाजन गर्ने वा प्याकेजमा समावेश गर्ने गरी तयार गर्दा अलग अलग रूपमा सम्पन्न गर्न सकिने प्रकृतिको निर्माण कार्यका लागि अधिकतम प्रतिस्पर्धा हुने हदसम्म छुट्टाछुट्टै रूपमा बोलपत्र आह्वान गर्नुपर्ने छ’ उल्लेख छ । तर, गेटा अस्पतालको अधिकांश बोलपत्रमा एकजना आपूर्तिकर्ताले मात्रै आपूर्ति गर्ने उपकरणको प्याकेजमा अरूरु अधिकतम प्रतिस्पर्धामा आउन सक्ने सामानहरू पनि समावेश गरि अनियमितता गरिएको छ । यहाँ सम्मकी कम्पनीको मोडेल नम्बरसहित स्पेसिफिकेसनमा राखिएको छ ।
खरिद ऐनकै दफा ३ (क) को उपदफा ३ मा त एक अर्कासँग अन्तर सम्बन्धित नभएका उपकरण एकै प्याकेजमा नराख्ने स्पष्ट व्यवस्था छ । उक्त उपदफामा भनिएको छ, ‘एक आपसमा अन्तर सम्बन्धित भई एउटै प्याकेज सञ्चालन गर्नुपर्ने भएमा बाहेक प्रतिस्पर्धालाई संकुचित र सिमित गर्ने गरी ठूलाठूला प्याकेज बनाई बोलपत्र आह्वान गर्नुहुँदैन ।’
तर, गेटा अस्पतालका अधिकांश उपकरण खरिदका बोलपत्रहरूमा ठूलाठूला उपकरणहरू एक अर्कासँग अन्तर सम्बन्धित नै नभएका राखिएका छन् । ‘यसरी बोलपत्र कुनै एक जनालाई पार्ने प्रयास गर्नु भनेको चरम भ्रष्टाचार हो । यसमा अख्तियार र सम्बन्धित निकायको ध्यान जाओस्’ मेडिकल विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने ।
खरिद ऐनको मात्रै होइन, गेटा अस्पतालले प्रकासित गरेका बोलपत्रहरू अहिलेको संशोधित भ्रष्टचार ऐनविपरीत पनि छन् । भ्रष्टाचार निवारण ऐनले प्रतिस्पर्धालाई सीमित वा कमजोर बनाउन खरिदको सर्त वा मापदण्ड निर्धारण गर्ने, टुक्राउने वा प्याकेजिङ गर्ने गराउनेलाई ३ वर्षसम्म कैद र जरिवानासमेत हुने प्रावधान गरेको छ ।
आउनेबित्तिकै खरिद समिति परिवर्तन
चैत १४ गते निर्देशकको रूपमा गेटा अस्पतालमा आएका डाक्टर प्रमोदकुमार यादवले आउनेबित्तिकै गेटा अस्पतालमा रहेको खरिद समिति भंग गरेर नयाँ समिति बनाए । उनले अस्पतालका प्रशासन शाखाका अधिकृत खगेन्द्र भारती, डाक्टर मोहन नाथ, लेखापाल चक्रबहादुर विष्ट र जनस्वास्थ्य अधिकृत सिद्धराज भट्ट रहेको खरिद समिति भंग गरे । त्यसको ठाउँमा उनले अस्पतालका प्रसूति तथा स्त्री रोग विषेशज्ञ डाक्टर जगदिश विष्टको संयोजकत्वमा डाक्टर शंकर अधिकारी र जनस्वास्थ्य अधिकृत सिद्धराज भट्ट सदस्य रहेको तीन सदस्यीय खरिद समिति गठन गरे ।
‘अहिलेको उपकरण खरिदको हामीलाई कुनै पनि जानकारी छैन । यसअघिको खरिद समितिले तयार पारेको खरिद योजनाभन्दा तलमाथि गरेर खरिदको सूचना प्रकाशित भएको छ’, प्रशासन शाखाका अधिकृत भारतीले भने ।
अस्पतालका बायोमेडिकल इन्जिनियर बाइपास
गेटा अस्पतालको सुरुवात भएकै बेलादेखि त्यहाँ हरेन्द्र चटौत बायोमेडिकल इन्जिनियरको पदमा कार्यरत छन् । यसअघिका सबै उपकरण खरिदको स्पेसिफिकेसन बायोमेडिकल इन्जिनियर चटौटले नै बनाएका थिए । तर, निर्देशकको रूपमा आएका डाक्टर प्रमोदकुमार यादवले आउनेबित्तिकै चटौतलाई स्पेसिफिकेसनको काम दिएनन् ।
अस्पतालमै भएका बायोमेडिकल इन्जिनियर चटौतलाई बाइपास गर्दै उनले संघीय सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौंका बायोमेडिकल इन्जिनियर अमृतप्रसाद भण्डारीलाई काजमा ल्याएर उपकरणहरूको स्पेसिफिकेसन तयार पार्न लगाए ।
सामान्यतया कुनै कर्मचारीलाई काजमा मगाउनका लागि सम्बन्धित अड्डाको प्रशासन शाखाले पत्राचार गर्ने गर्छ तर निर्देशक यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल इन्जिनियर भण्डारीलाई काजमा पठाइ दिन भन्दै चैतको २६ गते आफ्नै हस्ताक्षरमा पत्राचार गरेका छन् ।
‘परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल इन्जिनियरलाई काजमा खटाउन न प्रशासनले पत्र लेखेको छ, न उनले कार्यालयमा आएर काम गरेको कुनै पत्र प्रशासनमा दर्ता नै छ’, प्रशासन शाखा प्रमुख खगेन्द्र भारतीले भने । ‘कार्यालयको मूल दर्ता चलानीमा भण्डारी मागाउने र आएको कुनै पत्र दर्ता छैन ।’
तर, चाखलाग्दो कुरा के छ भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल इन्जिनियरको २०८१ चैत २७ गते मात्रै गेटा अस्पतालमा काज सरुवा भएको पत्र छ । उपकरण खरिदका ५ वटा टेन्डर एकै दिन (२०८१ चैतको ३१ गते) राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित भएका छन् । २०८२ को वैशाख २ गते मात्रै थप ८ वटा टेन्डर राष्ट्रिय पत्रिकामा प्रशासित भएका छन् ।
‘चैतको २७ गते काज सरुवा भएका भण्डारीले तीन दिनमा ५ वटा र १ दिनमा ८ वटा टेन्डरहरूको स्पेसिफिकेसन कसरी तयार पारे ? यसबाट के पुष्टि हुन्छ भने पत्राचार हुनुभन्दा अगाडि नै कसैको सेटिङका लागि स्पेसिफिकेसनको काम भण्डारीलाई दिइएको थियो’ एजजना बायोमेडिकल इन्जिनियरले भने । ‘५ दिनमा १३ वटा प्याकेजका टेन्डरहरूको स्पेसिफिकेसन राति नसुतेर पनि गर्न सकिँदैन । त्यसमा केही सेटिङ छ ।’
नवीकरण भएन अस्थायी दरबन्दी
संघीय सरकारको मातहतमा रहने गरी गेटामा २०८० सालको कात्तिक १ गतेदेखि ५० शय्याको अस्थायी अस्पताल सञ्चालनमा आएको हो । नेपाल सरकार संघीय मन्त्रिपरिषद्ले २०८० सालको असार १७ गते श्रेणीविहीन र सहायक स्तरका ११० जना र असार १९ गते अधिकृत स्तरका ३१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेपछि अस्पताल सञ्चालनमा आएको हो ।
तर, एक वर्षका लागि गरिएको कर्मचारीको अस्थायी दरबन्दी अहिलेसम्म नवीकरण भएको छैन । २०८० सालको असार १७ र १९ गते अस्थायी रूपमा गेटा अस्पतालमा खटाइएका कर्मचारीहरूको म्याद २०८१ सालको असारको १७ र १९ गते सकिसकिएको छ । ‘अहिलेसम्म मन्त्रालयमा पटक–पटक पत्राचार भइसकेका छ तर अस्थायी दरबन्दी नविकरण भएका छैनन् । तलबभत्ता सबले खाएकै छन्’, प्रसाशन अधिकृत खगेन्द्र भारतीले भने ।
उनले सरकारले १४१ जना कर्मचारीको अस्थायी दरबन्दी नवीकरण नगरे अहिलेसम्मको तलबभत्ताको रकम बेरुजु आउने बताए । ‘अस्पताल सञ्चालनका लागि अस्थायी दरबन्दीलाई स्थायीमा परिणत गर्नुपर्ने हो । मेडिकल कलेज नै बनाउने हो भनेपनि ५० शय्यालाई बढाएर कम्तीमा पनि ३ सय शय्या बनाउनतिर लाग्ने हो । त्यसको केही सुरसार नै छैन’, भारतीले भने ।
६ अर्ब ६८ करोडका संरचना अलपत्र
गेटामा बनेका संरचनामा सरकारले अहिलेसम्म ६ अर्ब ६८ करोडका संरचना निर्माण गरी भुक्तानी गरिसकेको छ । एउटा ब्याचमा १५० विद्यार्थी अध्ययन गर्नसक्ने क्षमताको कलेज भवन र ६ सय शय्याको शिक्षण अस्पताल भवन खण्डहर झैं भएका छन् ।
सरकारले बनाउने भनेको मेडिकल विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाले पास गरिसके पनि १ वर्षदेखि प्रतिनिधिसभाको शिक्षा समितिमा अड्किएको छ । उक्त विधेयकमाथि छलफल चलाएर पास गर्न न यस क्षेत्रका राजनीतिक नेता लागेका छ न कर्मचारी नै । गेटामा विनियोजन हुने उपकरण खरिदको रकममा मात्रै सबैको आँखा जाने गरेको छ ।
‘उपकरण पनि आवश्यक हुन तर त्यसभन्दा अगाडि विशेषज्ञ चिकित्सक सहितको कम्तीमा पनि ३ सय शय्याको अस्पतालका लागि जनशक्ति खटाउनुपर्छ । अस्थायी दरबन्दीलाई स्थायी बनाएर ‘फुलफंक्सन’ को अस्पताल चलाउनुपर्छ । अनि मात्रै मेडिकल शिक्षाको पढाइ गर्न सकिन्छ’ सेती प्रादेशिक अस्पतालका पूर्वमेसु डाक्टर शुभेषराज कायस्थले भने ।
उनले गेटा सुदूरपश्चिमका लागि सपनाको प्रोजेक्ट भएको बताए । ‘यो सुदूरपश्चिमका लागि सपनाको प्रोजेक्ट हो । सुदूरपश्चिमेलीका धेरै भावनाहरू यससँग जोडिएका छन् । यसको सञ्चालनमा यो वा त्यो बहाना गरिनु हुन्न’, उनले थपे ।
निर्देशक यादव यस्तो भन्छन्
तर, निर्देशक प्रमोद कुमार यादव भने खरिदमा कुनै अनियमितता नभएको बताउछन् । ‘खरिद समिति परिवर्तन गरे, त्यो सही हो । कसैले बस्न मान्यो कसैले मानेनन । बस्न नमान्नेलाई कसरी समितिमा राख्ने ?’ उनले भने । ‘नयाँ बनाएको खरिद समितिमा पनि प्राविधिक, लेखाका प्रतिनिधि र खरिद बुझेकै ब्यक्ति छन् ।’ उनले उपकरणहरूको स्पेसिफिकेसनका लागि बायोमेडिकल इन्जिनियर परिवर्तन गर्ने अधिकार कार्यालय प्रमुखलाई भएको बताए ।
‘कुनै बायोमेडिकल इन्जिनियरले बनाएको स्पेसिफिकेशनमा चित्त बुझेन भने अर्को मगाउन सकिन्छ । मैले त्यही गरेको हुँ । कसैलाई बाईपास गरिएको छैन’ निर्देशक यादवले भने । उनले उपकरणहरूमा मोडेल नै राखेर बोलपत्र आह्वान नगरिएको दाबी गरे । ‘त्यस्तो त छैन, हाम्रो प्रिबिड मिटिङ पनि हुन्छ । त्यसमा बिड गर्नेहरू आउछन्, केही बिग्रेको छ भने त्यसबेला सुधार पनि गर्न सकिन्छ’ उनले भने ।
बोलपत्र कुनै एक जनालाई पार्ने प्रयास गर्नु भनेको चरम भ्रष्टाचार हो । यसमा अख्तियार र सम्बन्धित निकायको ध्यान जाओस् ।
लोकराज पाण्डे,संयोजक, मेडिकल विश्वविद्यालय संघर्ष समितिअहिलेको उपकरण खरिदबारे हामीलाई कुनै पनि जानकारी छैन । यसअघिको खरिद समितिले तयार पारेको खरिद योजनाभन्दा फेरबदल गरेर उपकरणहरू खरिद गरिएका छन् ।
खगेन्द्र भारती, प्रशासन अधिकृतखरिद समिति परिवर्तन गर्न पाइन्छ । कार्यालय प्रमुखले बायोमेडिकल इन्जिनियर पनि अर्को राख्न पाउँछ । उपकरण खरिदमा कुनै अनियमितता गरिएको छैन ।
डा. प्रमोदकुमार यादव,निर्देशक, गेटा अस्पतालउपकरण पनि कानुनले तोकेअनुसार खरिद गर्ने हो । तर, गेटामा फुलफंक्सनको ३ सय शय्याको अस्पताल चलाउन तिर सबैले ध्यान दिनुपर्छ ।
डा. शुभेषराज कायस्थ,पूर्वमेसु, सेती प्रादेशिक अस्पताल
गेटामा बनेका संरचना
- ६ सय शय्या क्षमताको अस्पताल भवन
- एक ब्याचमा १५० जना विद्यार्थी भर्ना गर्न सकिने कलेज भवन
- चार तलाको प्रशासनिक भवन
- १ हजार जना विद्यार्थी क्षमताको छात्रवास भवनहरू
- ९० जना चिकित्सकका लागि आवास भवन
- ६० जना क्षमताको नर्सिङ होस्टल (२ वटा भवन)
- २ सय जना क्षमताको चारतले कुरुवा भवन
- २४ जना प्रोफेसरका लागि आवाश भवन
- ५ वटा पदाधिकारिका लागि (भीआईपी) आवास
- ४ मेगावाट क्षमताको अन्डरग्राउन्ड विद्युत् सवस्टेसन
- शवगृह, बहुउद्देश्यीय सभाहल, लाउन्ड्री भवन
- किलोमिटरको पक्की सडक
- पाइपलाइन सहितको अक्सिजन प्लान्ट
- ४लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी सहितको खानेपानी
- क्यान्टिन २ भवन, गार्ड हाउस
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !

