बालुवाटारमा सत्तापक्षीय दलको बैठक
काठमाडौं : सत्तापक्षीय दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो। बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुने जनाइएको छ।
यही वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन्।
नीति तथा कार्यक्रम पारित भएपछि सरकारले बजेको प्राथमिकता तथा सिद्धान्त पेस गर्ने संसद सचिवालयले जनाएको छ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२ / ८३ बजेट प्रस्तुत गर्नेछन् । बजेट जेठ १५ गते प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। अर्थमन्त्रीले पेस गरेको बजेट पारित भएपछि साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ।
प्रतिक्रिया दिनुहोस !