गर्भावस्थाको ख्याल गरौं
महिलामा गर्भ बसेको अवस्थालाई गर्भावस्था भनिन्छ। शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनुपूर्व आमाको पेटभित्र गर्भाशयमा बस्ने अवधि निकै संवेदनशील हुन्छ। गर्भावस्था साह्रै नै जोखिमपूर्ण अवस्था हो। गर्भावस्थामा शरीरमा परिवर्तन पनि आउँछ।
गर्भ बसेमा बिहानीपख वाकवाक लाग्ने हुन्छ। वाकवाकी लाग्ने, बान्ता हुँदा शरीरको पानी नै सुकेर डिहाइड्रेसन पनि हुन सक्छ। जिब्रो सुक्खा देखिन्छ। रक्तचाप घट्छ। नाडीको धड्कन बढ्न थाल्छ। वाकवाकी लाग्नासाथ केही हलुका पदार्थ बिस्कुट वा फिक्का चिया खान सकिन्छ। उपचार गर्दा पनि बान्ता नरोकिएमा चिकित्सकले बिरामीको अवस्था झन्झन् नाजुक हुन सक्छ। त्यसैले समयमै विशेषज्ञ चिकित्सकसँग जँचाउने, परामर्श लिने गर्नुपर्छ।
गर्भावस्थामा हुने लक्षणहरू
– बिहान सबेरै वाकवाक लाग्नु
– पिसाब तारन्तार हुनु
– मुटु छाती पोल्नु
– कब्जियत हुनु
– थकावट बढी लाग्नु
– शरीरको छालाको रङ गाढा हुँदै जानु
– राम्ररी मस्तसँग निद्रा नलाग्नु
दिसा कब्जियत हुनु पनि गर्भावस्थाको एक लक्षण हो। गर्भावस्थामा कसै–कसैलाई रातमा निद्रा पर्दैन। घरी गर्मी, घरी जाडो अनुभव हुन्छ। निद्रा नपरेमा तालुमा हल्कासँग तोरीको तेलले मालिस गरेर सुतेमा निद्रा पर्छ। हलुका काम गरेपछि पनि निद्रा राम्ररी पर्छ। निद्रा लाग्ने औषधिले पेटभित्रको बच्चालाई पनि असर पर्ने हुन्छ। मादक पदार्थ, चुरोट, तमाखुजस्ता अम्मल पदार्थ नखानु उचित हुन्छ।
गर्भावस्थामा पानी बढी पिउनु जरुरी छ। पानी बढी पिउनाले पिसाबमा इन्फेक्सन हुनबाट जोगाउँछ। पिसाब खलास भएमा मिर्गौला (किड्नी) सम्म इन्फेक्सन जाँदैन। पर्याप्त पानी पिउनाले पनि एसिडको मात्रा कम हुन्छ। गर्भावस्थामा धेरै पिरो, अमिलो र चिल्लो पदार्थ नखानु नै उचित हुन्छ। मरमसला पनि धेरै खानु हुँदैन।
गर्भावस्थामा दिनको १० घण्टा आराम गर्नुपर्छ। राती कम्तीमा पनि आठ घण्टा र दिउँसो पटक–पटक गरी दुई घण्टा जति सुतेर आराम गर्न सकिन्छ। गर्भावस्थामा फलफूल, सागसब्जी बढी खानुपर्छ। आमाले खाएको पौष्टिक पदार्थले गर्भमा रहेको शिशुको प्रगति र विकासमा मद्दत पुग्छ। दैनिक साधारण गर्दै काम गर्दै गर्नुपर्छ। आराम गर्दा एकछिन देब्रे कोल्टे परेर सुतेमा फाइदा हुन्छ। कडा परिश्रम गर्नु उचित हुँदैन।
गर्भावस्थामा पेटभित्रको भ्रूणलाई सालद्वारा नालले आमाको रगतमा हुने पौष्टिक तत्त्व पु¥याइरहेको हुन्छ। यो प्रक्रिया करिब दुई महिनाको भ्रूण बनेदेखि बच्चा नपाउन्जेल चलिरहन्छ। सालले फिल्टरको पनि काम गर्दछ।
पाठेघरको मुख १० सेन्टिमिटर (४ इन्च) खुले पछि पहिलो गर्भ छ भने एक घण्टामा शिशु जन्मन्छ। दोस्रो, तेस्रो शिशु भए आधा घण्टामा जन्मन्छ।
प्रा.डा. सरस्वती पाध्ये वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।
प्रतिक्रिया दिनुहोस !