हावाहुरीले घर लडाइदिने डरैडरमा चेपाङ परिवार
गोरखा : गण्डकी गाउँपालिका ६ वनटारको सिरानमा एउटा झुप्रो छ, जसमा ओत लागिरहेका छन्, सन्तबहादुर र मंगली चेपाङ। उमेर कति भयो भन्ने न सन्तलाई थाहा छ, न मंगलीलाई। वृद्धभत्ता बुझ्न थालेको धेरै वर्ष भइसक्यो भन्नेमात्र थाहा छ। ‘खै बा आमाले यति वर्ष भयौ भनेर पनि भनेनन्’, मंगली चेपाङले भनिन्, ‘भत्ता खान थालेको त धेरै नै भइसक्यो।’
घरको चारै दिवार काठका फलेकले बारिएका छन्। धेरै वर्षअघि बारिएका फलेक घामपानीले खाएर जीर्ण भइसकेका छन्। ‘बारेको भन्नुमात्तै हो, न पानी छेक्छ, न हावा’, सन्तबहादुर भन्छन्, ‘ठामठाममा टिनको पाता ठोकेको छु तर, छानाबाट पनि बलिद्र धारा चुहिन्छ, छेउछाउबाट पनि पस्छ।’ हावाहुरी चलेका बेला ढल्ने डर लाग्ने मंगली बताउँछिन्।
‘छोरालाई टेका लाइदे भनेको मानेन’, उनी भन्छिन्, ‘हावाहुरीले लडाउँछ कि भन्ने डर लाग्छ। पोहोर त जसोतसो धानेथ्यो। यसपाल त लरक्कै पार्छ कि भन्ने डर छ।’
चारबीसे हिउँद कटेजस्ता देखिने यी दम्पत्ति बारी, पाखा पखेरामा काम गरेर खान सक्दैनन्। बुढेसकालको एउटै साहरा वृद्धभत्ता बनेको छ। ‘भत्ता आउँछ। बेसा खान्छ’, सन्त भन्छन्, ‘छोराहरू छन्। गाउँभन्दा तल घर बनाएर बसेका छन्।’
अरूभन्दा यी दम्पत्तिलाई खानेपानीको पिरोलो छ। ‘ई हेर्नु न थोपा थोपा आउँछ’, रुखका हाँगा हाँगामा टाँगेर ल्याएको पाइपबाट सय लिटर जाने ड्रममा पानी झरेको देखाउँदै उनले भने, ‘धारामा बोक्न जाम भने सकिँदैन। यही थोपा, थोपा सँगालेर खान्छम्।’ मान्छेले धेरै पाप गरेर अचेल पानीको दुख भएको मंगली बताउँछिन्, ‘अचेल मान्छे धेरै पापी भए। उहिले त ट्याम ट्याममा आउँथ्यो। अहिले त देउता रिसाए। पानी पर्न छोड्यो।’
प्रतिक्रिया दिनुहोस !