कोदो महिमा
नेपाल जस्तो पहाडी देशहरूका लागि कोदो एक अत्यन्त महत्त्वपूर्ण र टिकाउ अन्न बाली हो। कठोर वातावरणीय अवस्था र न्यून स्रोतसाधनमा पनि उत्पादन सम्भव भएकोले कोदो खेतीले आर्थिक र खाद्य सुरक्षाको लागि प्रमुख आधार बन्ने सम्भावना बोकेको छ। सस्तो लागत, न्यून जल आवश्यकतासहित कम उर्वर माटो भएका भूभागमा समेत यसको खेती सफलतापूर्वक गर्न सकिन्छ। नेपालमा धान, मकै र गहुँपछि कोदो चौथो प्रमुख अन्न बालीका रूपमा मानिन्छ। विश्वव्यापी रूपमा गहुँ, धान र मकैजस्ता तीन मुख्य बालीहरूले कुल क्यालोरी र प्रोटिन आपूर्तिको झन्डै आधा भाग ओगटेका छन्। केवल ३० प्रजातिका बालीहरूले विश्व खाद्य आपूर्तिको ९५ प्रतिशत हिस्सा ओगटेका छन्। यद्यपि करिब १२,६ सय ५० प्रजातिका वनस्पतिहरू खाद्य योग्य भनेर वर्गीकृत गरिएका छन्। यिनैमध्ये कोदोजस्ता धेरै बालीहरू कृषि वैज्ञानिक, नीति निर्माता र खाद्य सुरक्षामा चासो राख्ने निकायहरूले ध्यान नदिएको उपेक्षित बालीहरूको सूचीमा पर्दछ।
यस्ता उपेक्षित बालीहरूमा अपार सम्भावना रहेको देखिन्छ। यदि सही ढंगले उपयोग गरिएमा, कोदोले खाद्य आपूर्ति, पोषण, स्वास्थ्य सुधार र ग्रामीण आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। साथै, यसले वातावरणीय सेवा र स्थिरता सुनिश्चित गर्न पनि सहयोग पुर्याउन सक्छ। तर, सीमित उपलब्धता, उपभोगसम्बन्धी जानकारीको अभाव, उपभोक्ताबीच रहेको नकारात्मक धारणा (जस्तै ‘खडेरीको खाना’ वा ‘गरिबहरूको खाना’) जस्ता समस्याहरूले यसको विकास अवरुद्ध गरेका छन्। वैश्विक कृषि प्रणालीहरूको एकीकरणले यी नकारात्मक धारणाहरूलाई थप बल दिएको छ। जबकि गहुँ, धान र मकैजस्ता मुख्य बालीहरू उच्च उर्वर माटो र प्रशस्त पानी आपूर्तिमा निर्भर छन्, कोदोजस्ता बालीहरू न्यून जल, कमजोर माटो र वर्षा आधारित प्रणालीमा पनि उत्पादन गर्न सकिन्छ। यसको उच्च पोषणमूल्य, सजिलो भण्डारण क्षमता र न्यून प्रविधिमा आधारित खेती प्रणालीले विशेषगरी कम विकसित देशहरूका निम्न आय भएका समुदायहरूको खाद्य सुरक्षामा योगदान दिन सक्छ।
कोदो विशेषगरी एसिया र अफ्रिकाका उष्ण क्षेत्रहरूमा महत्त्वपूर्ण खाद्यान्न बालीको रूपमा खेती गरिन्छ। यस्ता बालीहरूलाई प्रवर्द्धन गर्दा दिगो कृषि विकास र वातावरणीय संरक्षण दुवैलाई सघाउन सकिन्छ। तर, कोदोजस्ता बालीहरूमा अनुसन्धान र विकास प्रयासहरू अपेक्षाकृत थोरै भएका छन्। नेपालमा कोदोमाथि औपचारिक अध्ययन र नीति निर्माताहरूको ध्यान अझै पर्याप्त छैन। यद्यपि यस बालीले प्रतिकूल भौगोलिक र जलवायुवीय अवस्थाहरूमा समेत राम्रो उत्पादन दिन सक्ने देखाएको छ।
खाद्य सुरक्षामा कोदाको भूमिका
नेपालको सन्दर्भमा सन् २०३० सम्म खाद्यान्नको माग ८.८५४ मिलियन मेट्रिकटन पुग्ने अनुमान गरिएको छ। यो वृद्धि दर २.२६ प्रतिशत वार्षिक उत्पादन दर र १.३ प्रतिशत जनसंख्या वृद्धिका आधारमा गरिएको हो। यस्तो परिदृश्यमा कोदोले नेपालको खाद्य सुरक्षामा ठूलो योगदान दिन सक्नेछ। विशेषगरी हिमालय क्षेत्रका लागि जहाँ जल आपूर्ति र उर्वर जमिन अभावले भोकमरीको समस्या गहिरो छ, कोदोजस्ता बालीहरू अत्यन्तै महत्त्वपूर्ण छन्। कोदो उत्पादनमा थोरै मात्र मलको प्रयोगले पनि उल्लेखनीय वृद्धि देखाइएको छ। अनुसन्धानले देखाएको छ कि खनिज मल र बाली अवशेषहरू प्रयोग गर्दा उत्पादन वृद्धि महत्त्वपूर्ण रूपमा बढ्नेछ। साथै, कोदो कम वर्षा र मझौला तापक्रमका क्षेत्रमा उत्पादन गर्न अनुकूलित भएकोले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न सक्ने सामथ्र्य राख्दछ। नेपाल, घाना, र इथियोपियामा गरिएको अध्ययनहरूले पनि कोदो उत्पादन जलवायु अनुकूल बालीको रूपमा पुष्टि गरेका छन्।
उत्पादन र प्रवृत्ति विश्लेषण
नेपालमा पछिल्ला ४० वर्षको कोदो उत्पादनसम्बन्धी तथ्यांकको विश्लेषण गर्दा कोदो एक स्थिर तर न्यून उत्पादकत्व भएको बालीको रूपमा देखिएको छ। सन् १९८१÷८२ देखि २०२०÷२१ सम्मको समयावधिमा कोदोको औसत वार्षिक उत्पादन करिब २६२ हजार मेट्रिकटन रहेको पाइन्छ। यद्यपि, उत्पादनमा देखिएको वृद्धिदर अपेक्षाकृत सुस्त रहेको छ। प्रारम्भिक वर्षहरूमा प्रतिहेक्टर उत्पादन १.०० मेट्रिकटन थियो भने ४० वर्षको अवधिमा विस्तार हुँदै हाल १.२३ मेट्रिकटनसम्म पुगेको छ। यो वृद्धिदरलाई हेर्दा, यथेष्ट प्रविधिक विकास, वैज्ञानिक अनुसन्धान र उचित व्यवस्थापन प्रणालीको अभाव स्पष्ट देखिन्छ। उत्पादनमा आएको उतारचढाव विभिन्न कारणहरूले प्रभावित देखिन्छ। नेपालमा कोदो प्राय: साना किसानहरूद्वारा परम्परागत तरिकाले उत्पादन गरिन्छ जहाँ न्यून प्रविधिको प्रयोग, मौसममा अस्थिरता र सीमित स्रोतसाधनका कारण उत्पादन स्थिर रहन सकेको छैन। विशेष गरी जलवायु परिवर्तनजन्य चरम घटनाहरूले उत्पादनमा असमानता ल्याएको देखिन्छ जसले गर्दा वर्षेनी उत्पादनमा उल्लेखनीय उतारचढाव आएको छ। खेती योग्य भूमिको प्रयोग पनि स्थिर देखिएको छैन। पछिल्लो ४० वर्षको अवधिमा औसत खेती योग्य भूमि लगभग २३८ हजार हेक्टरको हाराहारीमा छ। यद्यपि, विभिन्न वर्षहरूमा यो क्षेत्रफलमा उल्लेखनीय भिन्नता देखिन्छ। कतिपय वर्षहरूमा कोदो खेतीका लागि प्रयोग भएको भूमिमा उल्लेखनीय वृद्धि भए पनि दीर्घकालीन रुपमा स्थिरता कायम हुन सकेको छैन। यस्तो अस्थिर प्रवृत्तिले कोदो उत्पादनलाई दीगो र सुरक्षित खाद्य स्रोतका रूपमा स्थापित गर्न अवरोध सिर्जना गरेको छ। यस विश्लेषणले स्पष्ट संकेत गर्दछ कि कोदो उत्पादनलाई दीगो र उच्च उत्पादनमुखी बनाउन वैज्ञानिक अनुसन्धान, प्रविधिको हस्तान्तरण र नीतिगत सहयोग अपरिहार्य छ। नयाँ कृषि प्रविधिहरू, बीउ सुधार कार्यक्रम र सिँचाइ तथा माटो व्यवस्थापनमा सुधार ल्याउन सके कोदो उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ। यसले न केवल किसानहरूको आम्दानी सुधार्नेछ यसले नेपालमा खाद्य सुरक्षालाई पनि मजबुत बनाउनेछ।
कोदो खेतीका आर्थिक र सामाजिक पक्षहरू
कोदो खेती आर्थिक रूपमा पनि सस्तो र फाइदाजनक विकल्प हो। नेपालजस्तो देश, जहाँ २५ प्रतिशत भन्दा बढी जनसंख्या दैनिक १.२५ अमेरिकी डलरभन्दा कममा बाँचिरहेका छन्, त्यहाँ कोदो सस्तो पोषक स्रोतको रूपमा अत्यन्तै उपयोगी हुन सक्छ। मधुमेह नियन्त्रण, तौल व्यवस्थापन र समग्र पोषण सुधारमा पनि कोदोले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। पोखराको अध्ययनले देखाएको छ कि उँगो कोदो खेतीले उप–सहरी क्षेत्रका मानिसहरूको आयमा योगदान पुर्याइरहेको छ। नयाँ प्रविधिहरूको प्रयोगबाट खेती लागत घटाउने र मानव श्रमको आवश्यकता कम गर्ने सम्भावना बढेको छ। यद्यपि, परम्परागत तरिकाले खेती गर्दा श्रम र समय बढी लाग्ने भएकाले किसानहरूको कोदोप्रति रुचिमा कमी देखिएको छ। भारतजस्ता देशहरूमा कोदोलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरिँदै आएको छ, जसले यसको अन्तर्राष्ट्रिय बजार महत्त्व पनि उजागर गरेको छ। कोदो विशेषगरी पहाडी र हिमाली वर्षा आधारित कृषि प्रणालीमा जीवनरक्षक बालीको रूपमा रहँदै आएको छ।
विश्वव्यापी सन्दर्भमा कोदाको महत्त्व
कोदो विश्वव्यापी खाद्य सुरक्षामा एउटा महत्त्वपूर्ण तर उपेक्षित बालीका रूपमा रहेको छ। विशेषगरी सब–सहारा अफ्रिकाका लाखौं परम्परागत किसानहरूको जीवनशैलीमा कोदोको योगदान अत्यन्त महत्त्वपूर्ण देखिन्छ। त्यहाँका कृषकहरूले कोदोलाई आफ्नो मुख्य खाद्य स्रोतको रूपमा लिएको पाइन्छ, जसले उनीहरूको दैनिक जीवनका लागि खाद्यान्न आपूर्ति, भोकमरी व्यवस्थापन र सांस्कृतिक पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। कोदो केवल आहार पूर्ति गर्ने साधन मात्र होइन, यसले समुदायको सांस्कृतिक र सामाजिक संरचनालाई पनि मजबुत बनाउने आधार प्रदान गरेको छ। यद्यपि, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहमा कोदोको महत्त्व अपेक्षित रुपमा पहिचान गरिएको छैन। विकसित राष्ट्रहरूमा मुख्य बालीहरूको व्यापारिक प्राथमिकताले गर्दा कोदोजस्ता उपेक्षित बालीहरूलाई न्यून मूल्यांकन गरिएको छ। आधुनिक कृषि प्रणालीले गहुँ, धान, मकैजस्ता बालीहरूमा बढी ध्यान केन्द्रित गरेपछि कोदोको उत्पादन र प्रवर्द्धनमा गिरावट आएको देखिन्छ। यसको परिणामस्वरूप, कोदोलाई खाद्यान्न सुरक्षाको रणनीतिमा उचित स्थान प्राप्त हुन सकेको छैन।
अफ्रिकामा कोदोलाई ‘अफ्रिकाको हराएको बाली’ भनेर चिनिन्छ। यो उपमा त्यसकारण दिइएको हो किनभने ऐतिहासिक रूपमा कोदोले अफ्रिकाका ग्रामीण समाजहरूमा खाद्यान्न आपूर्ति मात्र होइन, जीविकोपार्जन र सांस्कृतिक पहिचान जोगाउन समेत सहयोग पुर्याएको थियो। पछिल्लो समय, व्यावसायिक कृषि र आयातमा निर्भरता बढेसँगै कोदोलाई परम्परागत बालीको रूपमा मात्र हेरिएको छ र यसको वैज्ञानिक अनुसन्धान तथा व्यावसायिक सम्भावनाहरूलाई न्यून महत्त्व दिइएको छ। आजको बदलिँदो जलवायु र खाद्यान्न संकटको सन्दर्भमा कोदो पुनस्र्थापना गर्नु अत्यावश्यक देखिन्छ। कोदो जलवायु परिवर्तन प्रतिरोधी, न्यून स्रोतसाधनमा टिक्न सक्ने र पौष्टिकताले भरिपूर्ण बाली भएकाले यसको प्रवर्द्धनले खाद्य सुरक्षामा दीर्घकालीन योगदान पुर्याउन सक्छ। यस्तो सम्भावना उपयोग गर्न विज्ञान, कृषि परियोजना र ग्रामीण विकास रणनीतिहरूको सहकार्य अपरिहार्य हुन्छ। नयाँ अनुसन्धान, बिउ प्रविधिको विकास र स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा कोदोका उत्पादनहरूको प्रवर्द्धनमार्फत यसको पुनस्र्थापना सम्भव छ।
यसरी हेर्दा कोदो केवल इतिहासमा सीमित नरहेर भविष्यका लागि पनि सशक्त समाधान बन्न सक्छ। सब–सहारा अफ्रिका मात्र होइन, नेपालजस्ता पहाडी राष्ट्रहरूमा पनि कोदोले जलवायु परिवर्तनसँग जुध्न र खाद्यान्न आत्मनिर्भरता बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले, कोदोको पुनरुत्थानलाई अन्तर्राष्ट्रिय विकास एजेन्डामा उचित स्थान दिनु आवश्यक छ।
भविष्यको बाटो: नीति सुधार र रणनीति
नेपालमा जनसंख्या वृद्धिसँगै खाद्यान्न माग तीव्र गतिमा बढिरहेको छ। यस्तो अवस्थामा परम्परागत मुख्य बालीहरू मात्रमा निर्भर रहनु दीर्घकालीन समाधान होइन। विशेषगरी कठिन भूगोल र बदलिँदो जलवायुका सन्दर्भमा कोदोजस्ता सहनशील बालीहरूको प्रवर्द्धन अपरिहार्य बन्न गएको छ। कोदोले न्यून स्रोतसाधनमा टिक्न सक्ने क्षमता राख्ने भएकाले यसलाई राष्ट्रिय खाद्य सुरक्षा रणनीतिमा विशेष स्थान दिनु आवश्यक छ। भविष्यमा कोदो खेतीलाई सशक्त बनाउन केही महत्त्वपूर्ण रणनीतिहरू अवलम्बन गर्नुपर्नेछ। पहिलो, कृषि अनुसन्धानमा कोदोप्रति ध्यान दिनुपर्छ। कोदोका नयाँ र उच्च उत्पादक जातहरूको विकास, रोगप्रतिरोधी प्रजातिहरूको प्रवर्द्धन र अनुकूलित खेती प्रविधिको विकास अत्यावश्यक छ। दोस्रो, कृषकहरूलाई आधुनिक प्रविधि र ज्ञान हस्तान्तरण गर्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। साना किसानहरूलाई सहजीकरण गरी उत्पादन सुधार गर्न सहयोग पुर्याउनुपर्नेछ। तेस्रो, बजार पहुँचलाई बलियो बनाउनु जरुरी छ। कोदो उत्पादनलाई स्थायी आम्दानीको स्रोत बनाउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारहरूमा कोदोका उत्पादनहरूको प्रवर्द्धन गर्नुपर्नेछ। उत्पादन शृंखला, विकास, कोदो उद्योगहरूको स्थापनामा लगानी, र उपभोक्ताबीच कोदोको पोषणीय र आर्थिक महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेछ।
(जोशी, कोदोविज्ञ हुन्।)
प्रतिक्रिया दिनुहोस !