हट्दै कुप्रथा

हट्दै कुप्रथा

अचेल किशोरीहरू समाजका कुप्रथाविरुद्ध विद्रोह गर्न तयार छन् । र, गरेका उदाहरण पनि छन् । पहुँच र सुगमताको दृष्टिकोणले निकै विकट मानिने दूरदराजका गाउँहरूमा छाउगोठ प्रायः भेटिँदैनन् ।

‘कालकोठरी’ समानको छाउगोठबाट मुक्ति पाएर अछामका केही किशोरी तथा महिलाहरूले राम्रोसँग सन्तोष र खुसीको सास फेर्न पाउन थालेका छन् । त्यसो त अझै पनि अछामका छाउगोठमा बस्ने चलन पूर्णरूपमा हटिसकेको छैन । तर केही त्यस्ता किशोरी तथा महिला छाउगोठमा कहिल्यै बसेनन् । बसाइएनन् ।

साँफेबगर नगरपालिका–१२ खप्तडका किशोरी तथा महिलाहरू छाउ भएका बेला कहिले पनि गोठमा बसेनन् । खप्तडमा छाउगोठहरू नै छैनन् । नगरपालिकाको सबैभन्दा विकट मानिएको खप्तडमा छाउ भएका बेला गोठमा बस्दैनन् । छाउगोठमा नबसेकै कारण अहिलेसम्म आफ्नो परिवारमा केही नभएको अनुभव सुनाउने स्थानीय शारदा देवी कडायतहरू खप्तड मात्र होइन, अछाम जिल्लामै छन् । महिनावारी हुँदा गोठमा बसेको अनुभव छैन शारदासँग ।

उनले भनिन्, ‘वडा विकट छ तर छाउगोठमा बस्नुपर्छ भन्ने सोच कसैको पनि छैन । खप्तडका किशोरी महिलाहरू महिनावारी भएका बेला सधैं सुत्ने कोठामै सुत्छन् । छाउ भएका बेला भने देवी देउताको मठ मन्दिर र खाना पकाउने भान्सा तिर भने जाँदैनन् । अन्य बेला जस्तै सहजरूपमा दैनिकी कामहरू गर्छौं ।’ शारदा पूर्ववडासदस्य पनि हुन् । महिनावारी भएका बेला गाई गोरुलाई छुनु हुन्न भन्ने चलन थियो तर त्यो पनि विस्तारै हट्दै गएको शारदा बताउँछिन् । छाउ भएका बेला कुनै महिला तथा किशोरीले ज्यान गुमाउन नपरोस् भन्दै उनी सशक्त आवाज उठाउँछिन् ।

छाउगोठमा नबस्दैमा केही अप्रिय हुन्छ भन्नेहरूका लागि खप्तड एउटा जवाफ हो । महिनावारी पाप हो भन्ने गलत सोचमाथि चौतर्फी प्रहार हुनुपर्छ । तर यो शक्ति प्रयोगबाट होइन, सोचमा परिवर्तनबाट हुनुपर्छ । होइन भने छाउगोठहरू भत्किइरहने र बनिरहने प्रक्रिया चलि नै रहने छ । व्यक्ति र परिवारको सोचमा परिवर्तन नआएसम्म छाउपडी कुप्रथा कुनै न कुनै रूपमा जीवितै रहिरहन्छ र किशोरी तथा महिलालाई सताइरहन्छ । तसर्थ सोच परिवर्तन नै छाउपडी कुप्रथाविरुद्धको सशक्त प्रहार हुन सक्छ । साँफेबगर नगरपालिका— ६ भाग्यश्वरमा छाउपडी गोठका विषयमा छलफल र बहस हुन छोडेको वर्षौं भइसक्यो । कारण सबै सुरक्षित तरिकाले घरमै थाले । वडामा कार्यक्रमहरू भइरहदा छाउपडी कुप्रथाको विषयले प्रवेश नै नपाउने गरेको स्थानीय दूतकला विष्टले बताइन् । भाग्यश्वरमा छाउपडी कुप्रथा पूर्णरूपमा अन्त्य भइसकेको विष्ट बताउँछिन् । उनले भनिन्, ‘छाउपडी कुप्रथाको सकारात्मक उदाहरण दिनुपर्दा प्रायः सबैले भाग्यश्वरको उदाहरण दिन्छन्, यहाँका महिला तथा किशोरीहरूसग छाउगोठको कुनै सम्बन्ध नै छैन । यो विषयमा हामीले वडामा छलफल गर्न छोडेको धेरै भइसक्यो । यहाँहरूले वडाका प्रत्येक टोल घरमा गएर पनि हेर्न र बुझ्न सक्नुहुन्छ ।’

चौरपाटी गाउँपालिका— २ सोकट भौगोलिक रूपमा विकट वडा मानिन्छ । विकट मानिने त्यहाँका केही किशोरी महिलाहरू छाउ भएका बेला घरमै बस्छन् । सोकटकी ५० वर्षीया कलशी साउद छाउगोठमा बस्ने बेलाको तीतो र अहिले घरमै बस्दाको मीठो अनुभव सुनाउँछिन् । कलशीको नजरमा पहिलेभन्दा अहिले धेरै परिवर्तन भइसकेको छ । छाउ भएका घरमा खाना दिने मान्छे नभएर भोकै बस्नु परेको दुःखेसो कलशी सुनाउँछिन् । छाउ हुँदा घरमा बस्नु त परैको कुरा नजिकैको धारामा नुहाउनसमेत पाइँदैन थियो, ‘उनले भनिन्, २/३ घण्टाको बाटो हिँडेर खोलामा नुहाउन जानुपथ्र्याे । अहिले घरकै धारामा नुहाउछौं । विस्तारै सबैमा सोच परिवर्तन हुँदैछ, कानुन बन्यो, घरमा पढेलेखेको मान्छे भए उनीहरूले सम्झाइबुझाइ गर्न थाले ।’ कलशी साउद ५० वर्षकी भइन् । यो अवधिका धेरै परिवर्तन भइसकेको र केही बाँकी रहेको उनको बुझाइ छ ।

मेल्लेख गाउँपालिका १ र २ ऋषिदह सदरमुकाम मंगलसेनबाट १७ कोस दूरीमा छ । भौगोलिक विकटताका कारण निकै दुर्गम मानिने ऋषिदहका महिलाहरूले छाउगोठ बस्दैनन् । त्यहाँँका विद्यालय जाने किशोरहरूलाई नियमित विद्यालय जान्छन् । छाउ भएका बेला नियमित सुत्ने कोठामै सुत्छन् । छाउ भएर विद्यालयबाट घर फर्किनुपर्ने अवस्था नआएको सरिताकुमारी बुढाले बताइन् । सरिताले यो वर्ष नन्दामाता माविबाट एसईई दिएकी छिन् ।

उनले भनिन्, ‘हाम्रो वडामा छाउगोठ नै छैन । छाउ हुँदा विद्यालय जान कहिले पनि बन्द भएन । झन् अहिले त विद्यालयमै सेनेटरी प्याड पाइन्छ । छाउ हुने उमेरका सबै हामी आफ्नै घरमा बस्छौं । महिनावारी हुने समय आयो कि रात कहाँ बिताउने भन्ने चिन्ताले सताउन छोडेको वर्षौं भइसक्यो ।’ छाउ भएका बेला घरभित्र सुतेमा देउता रिसाउँछन् भन्ने गलत बुझाइ रहेको सरिताले बताइन् । उनले भनिन्, ‘छाउ हुँदा हामी घरभित्रै बस्छौं, अनिष्ट भएको छैन, बरु सुरक्षित भएका छौं ।’

छाउपडी कुप्रथाको सकारात्मक उदाहरण दिनुपर्दा प्रायः सबैले भाग्यश्वरको उदाहरण दिन्छन्, त्यहाँका महिला तथा किशोरीसँग छाउगोठको कुनै सम्बन्ध नै छैन। यो विषयमा छलफल नभएको पनि धेरै भइसक्यो।

छाउपडी कुप्रथाका नाममा अछाममा हालसम्म कतिले छाउगोठमा ज्यान गुमाए भन्ने कुराको आधिकारिक तथ्यांक कसैसँग छैन । पछिल्लो करिब दुई दशकको अवधिमा मात्रै साँफेबगरकी पार्वती बुढा रावत, तुर्माखादकी पार्वती बुढा र गौरी बुढा, गाज्राकी रोशनी तिरुवालगायत १४ जनाभन्दा बढीले छाउगोठमा सुतेको बेला विभिन्न कारणले ज्यान गुमाएका छन् । यसमध्ये सर्पको डसाइबाट दुई जनाको, केहीको गोठमा बालेको आगोको धुवाँबाट निस्सासिएर र केहीको कठ्यांग्रिएर ज्यान गएको छ । छाउपडी कुप्रथाका कारण अछाम बदनाम भएको भन्दै एकथरी मानिसहरू यी विषयलाई बाहिर ल्याउनु हुन्न भन्ने मत राख्छन् । अभियन्ता पशुपति कुँवर भने यसका भित्र पाटोहरू विभिन्न कोणबाट केलाएर बाहिर ल्याउनुपर्नेमा जोड दिन्छिन् । उनी अब शब्द चयमा ध्यान दिनुपर्ने भन्दै छाउपडीको साटो मर्यादित महिनावारी विषयलाई अगाडि बढाउनुपर्ने बताउँछिन् ।

सामाजिक रूपान्तरण क्षेत्रमा चलाइएको अभियानहरू निरन्तर चलिरहनुपर्ने पशुपति बताउँछिन् । उनले भनिन्, ‘यो कुप्रथा न्यूनीकरणसँगै अब निमिट्यान्न पार्ने अभियान सशक्त बनाउनुपर्छ, विगत हेरौं भने अहिले सन्तुष्ट हुने ठाउँ छ तर अभियान सुस्ताएको छ ।’ सुस्ताएको अभियानलाई फेरि जागरुक बनाउन मर्यादित महिनावारीका लागि छाउगोठमुक्त अभियान भनेर दस पालिकामा अभियान सञ्चालन गरिएको कुँवरले बताइन् । अभियन्ता कुँवरका अनुसार किशोरीहरू आफ्नो गाउँ समाजमा कुप्रथाका परिवार समाजसँग विद्रोह गर्न तयार हुन्छन् र गरेका उदाहरण पनि छन् । पहँुच र सुगमताको दृष्टकोणले निकै विकट मानिने दूरदराजका गाउँहरू छाउगोठ प्रायः भेटिँदैनन् ।

सर्वोच्च अदालतले २०६२ वैशाख १९ मा एक महिनाभित्र छाउपडी प्रथालाई कुरीति घोषणा गरी तीन महिनाभित्र निर्देशिका बनाई लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो । तत्कालीन सरकारले २०६३ वैशाख २६ गतेको निर्णयले छाउपडी प्रथालाई कुरीति घोषणा गर्‍यो । त्यसको झन्डै वर्ष दिनपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले ‘छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४’ जारी गर्‍यो । २०७५ साल भदौ १ गतेदेखि लागू हुने गरी २०७४ असोजमा जारी भएको ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ ले स्पष्ट रूपमा भनेको छ– ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने र कसुर गर्ने व्यक्ति राष्ट्रसेवक भएमा थप तीन महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था गरिएको छ । कानुन कार्यान्वयनका प्रयासहरू भएका छन् तर जिल्लामा कुप्रथा निमिट्यान्न नै चाहिँ भएको छैन । छाउगोठ भत्काएर घरमै बस्न थालेका महिला तथा किशोरीहरूलाई विभिन्न अप्रिय घटनासँग जोड्दै हाउगुजी बनाएर तर्साउने गर्छन् ।

व्यक्ति र परिवारको सोचमा परिवर्तन नआएसम्म छाउपडी कुप्रथा कुनै न कुनै रूपमा जीवितै रहिरहन्छ र किशोरी तथा महिलालाई सताइरहन्छ । तसर्थ सोच परिवर्तन नै छाउपडी कुप्रथाविरुद्धको सशक्त प्रहार हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.