साहित्यिक सरगर्मी

देश बन्दैछ

साहित्यिक सरगर्मी

झन्डै अढाई सय वर्ष लामो नेपाली साहित्यिक यात्राले यस्तै विविध विषयलाई युगानुकूल परिवर्तनको प्रत्याभूति हुने किसिमबाट फरक फरक शैली र स्वरूपमा निरन्तरता पाउँदै आएको छ।

जीवन जगत्सँग गाँसिएको कलात्मक अभिव्यक्ति आफैंमा सुन्दर साहित्य हो। यो मानव जीवनको प्रत्यक्ष अनुभूति वा मनोभावनाद्वारा गुम्फन गरिएको लोकोत्तर चिन्तनको सार्थक परिणाम पनि हो। यसकारण साहित्यिक अभिव्यक्तिमा मानवीय सञ्चेतनाको विशेष भूमिका रहन्छ र त्यो सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत विभिन्न विषयसम्बद्ध बनेर प्रस्फुटित हुन्छ।

झन्डै अढाई सय वर्ष लामो नेपाली साहित्यिक यात्राले यस्तै विविध विषयलाई युगानुकूल परिवर्तनको प्रत्याभूति हुने किसिमबाट फरक फरक शैली र स्वरूपमा निरन्तरता पाउँदै आएको छ। अखण्ड नेपालको महान् एकीकरण अभियानबाट वीरताको उद्बोधन गर्ने नेपाली साहित्यको औपचारिक यात्रा २०४६ सालपछिका मोडहरूमा निश्चय पनि उत्तरोत्तर पृथकता र नवीनताका साथ गतिशील बनेको छ।

हुन त नेपाली साहित्यिक यात्राको पृष्ठभूमिमा संस्कृत अनुवाद परम्पराकोे गहिरो प्रभाव थियो। लोकजीवनसँगै जीवन्त बन्दै आएको लोकसाहित्यको गहकिलो आधारशिला थियो। उर्दू, फारसी वा हिन्दी साहित्यको राप र चापका बीच मौलिकता प्रदान गर्नुपर्ने चुनौती छँदै थियो र त्यसमा पनि नेपाली राजनीतिक उतारचढावका बीच विश्वसाहित्यको छिटपुट प्रभावलाई ग्रहण गर्ने प्रवृत्तिको लालसा थियो। यसकारण २०४६ सालपूर्व नै नेपाली साहित्यले लोकसाहित्यदेखि विश्वसाहित्य लेखनको प्रभावलाई आत्मसात् गरिसकेको थियो।

नेपाली कविता साहित्यमा एकातिर वीर, भक्ति, शृंगारजस्ता प्राथमिक तथा माध्यमिक कालीन प्रवृत्तिहरू देखा परिसकेका थिए भने तिनमा क्रमशः परिष्कारवादी, स्वच्छन्दतावादी तथा प्रयोगवादी विश्वचिन्तन र शैलीको प्रभावसमेत देखिइसकेको थियो। त्यस्तै नाटक तथा महाकाव्य लेखनमा पौरस्त्य तथा पाश्चात्य मान्यताहरूले प्राथमिकता पाउन थालिसकेका थिए भने अनुदित आख्यानको सट्टामा मौलिक यथार्थवादी आख्यान लेखनले उत्तरोत्तर नवीनतम शैलीका साथ तीव्रता पाइसकेका थिए। नेपाली साहित्यमा निबन्धात्मक लेखनशैलीको समेत सशक्त उपस्थिति भइसहेको थियो।

२०४६ साललाई नेपाली राजनीतिक परिवर्तनको एउटा कोसेढुंगा मानिन्छ अर्थात् १०४ वर्षे राणाशासनको अवशानपछि जसरी २००७ सालदेखि २०४६ सालसम्मको अवधिमा बारम्बार पञ्चायती वा प्रजातान्त्रिक शासनका बीचको अन्योलता कायमै थियो, त्यसको अन्त्य भएको मानिन्छ। यसकारण पनि २०४६ सालपछिको अवधि राजनीतिक दृष्टिले मात्र नभई सामाजिक, सांस्कृतिक, आर्थिक, साहित्यिकलगायत विभिन्न दृष्टिकोणबाट उल्लेखनीय बन्न पुग्यो। यसपछि नै मुलुकले २०४७ सालको संविधान पायो; पहिलोपटक बहुजातीय तथा बहुभाषिक मुलुक भएको अनुभूति गरियो र प्रत्येक मातृभाषीका लिपिदेखि भाषासाहित्य हुँदै संस्कार तथा संस्कृतिसम्मले संरक्षणका अवसरहरू पाउन थाले।

यसरी २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएकाले नेपाली साहित्यमा जनताको जनजीवनसँग जोडिएका विषयवस्तुले प्रवेश पाए; जसमा आन्दोलनका परिदृश्य र प्रभाव, आक्रोश, दमन, पीडा, स्वतन्त्रताका उद्घोष र प्रजातान्त्रिक प्राप्तिसँगै विकसित आशा निराशाहरू समेटिन पुगे। अर्थात्, नेपाली साहित्यिक क्षेत्रले जनस्तरलाई नै मुख्य आधार बनाउन पायो।

त्यस्तै २०५१/५२ देखि पुनः दसवर्षे माओवादी आन्दोलन प्रारम्भ भएपछि नेपाली राजनीतिसँगै साहित्यिक लेखनसमेतले नयाँ विषयवस्तु पाउन थाल्यो। नेपाली साहित्यमा जाति, धर्म, लिंग, क्षेत्र, वर्ग आदि हरेक किसिमका विभेदजन्य परिस्थितिविरुद्धका स्वरहरू समावेश हुँदै गए। विभेदको चपेटामा परेका हरेक शोषित, पीडित तथा अल्पसंख्यकलाई आत्मनिर्णयको अधिकारका निम्ति प्रोत्साहन गर्न थालियो। शोषण, दमन र अत्याचारका विरुद्ध आवाजहरू खुलेर मुखरित हुन पुगे। साथै नेपाली समाजमा विद्यमान आतंक, त्रास, विभीषिका, बीभत्सता र विद्रूपजन्य विषयले समेत प्राथमिकता पाए।
त्यसमा पनि विशेषगरी नेपाली आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत अल्पसंख्यक तथा सीमान्तकृत समुदायमा जातीय जागरण बढ्न थालेकाले त्यस्ता विषय पनि साहित्यिक अभिव्यक्तिमा समेटिँदै गए।

त्यसपछि पनि नेपाली राजनीतिले २०६२/६३ को दोस्रो जनआन्दोलनलाई निम्त्याएपछि २०६३ को अन्तरिम संविधान लागु भयो। यसबाट नेपालले संघीय व्यवस्थालाई आत्मसात् त गर्‍यो तापनि लगत्तै भएको मधेश विद्रोहबाट पुनः नेपाली राजनीति र समाजले पृथक् परिस्थितिको सामना गर्नुपर्‍यो। यसरी २०४६ पनि नेपाली साहित्यमा क्रमशः विषयवस्तुको छनोटमा मानवीय संवेदना बोकेका जीवन्त अनुभूतिहरूले प्रवेश पाउन थाले र हरेक आन्दोलनको प्रभाव कुनै न कुनै रूपमा नेपाली साहित्यिक लेखनमा पर्दै गयो।

वास्तवमा २०४६ सालपछिको नेपाली साहित्य विषयवस्तु र शैली दुवै दृष्टिकोणबाट प्रभावित बनेको छ। यद्यपि २०४६ सालपूर्व नै साहित्यिक विषयवस्तुका रूपमा अभिजात्य र सीमान्त वर्गमध्ये कुन विषयले प्राथमिकता पाउनुपर्ने हो भन्ने कुरा पौरस्त्य तथा पाश्चात्य साहित्यशास्त्रीले बहस गरिसकेकै थिए तापनि त्यसले केवल सीमित विधाका रूपमा थोरै मात्र स्थान पाउँदै आएको थियो। विगतमा अभिजात्य वर्गका कमजोरी वा दुर्गणलाई खासै उल्लेख गरिँदैनथ्यो भने सीमान्तकृत वर्गप्रतिको मानवीय संवेदनालाई विशेष प्राथमिकता पनि दिइँदैनथ्यो। जब कि २०४६ पछिका नेपाली साहित्यका हरेक विधामा अभिजात्य वर्गका कमजोरी र सीमान्तकृत वर्गले पाउनुपर्ने हकअधिकारका पक्षमा व्यापक अभिव्यक्तिहरू हुन थाले।

त्यस्तै जुनसुकै किसिमका विभेदविरुद्धका आवाजहरू पनि साहित्यका हरेक विधामार्फत मुखरित भइरहे। फलतः नेपाली साहित्यमा मानवीय संघर्षका विषयवस्तुको नै प्रधानता रहँदै आयो। त्यसमा पनि विशेष गरी राज्यद्वारा गरिएका जातीय उत्पीडनका विषय; भाषिक, धार्मिक र सांस्कृतिक दमनविरुद्धका स्वर; जातीय पहिचान र अस्तित्वको हुंकार; सांस्कृतिक पुनर्जागरणको प्रयास वा गुमेको पहिचानलाई स्थापित गर्नुपर्ने आग्रहमा केन्द्रित विषयवस्तु आदि थपिँदै गए। यसकारण शासकहरूको गुणगान गाउने परम्पराविपरीत निजी स्वाभिमानपूर्ण अभिव्यक्तितर्फ नेपाली साहित्य लेखनको नौलो मोड देखापर्‍यो।

यस अवधिमा एकातिर संघीय गणतन्त्रात्मक व्यवस्था, जनआन्दोलनका विभिन्न चरण र सत्ता परिवर्तनका विषय त छँदै थिए अर्कातिर महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलितलगायतका पृथक् पृथक् लिंग, जात, वर्ग, धर्म तथा समुदाय आदिका समावेशिताकेन्द्री आवाजले नेपाली साहित्यलाई नयाँ दिशा प्रदान गर्न पुग्यो। यसबाट नेपाली साहित्य विविधता र समावेशिताको खोजीतर्फ उन्मुख हुन थालेको प्रस्ट भयो। त्यसैले त लैंगिक पहिचान, नारीवाद, दलित साहित्य, आदिवासी विमर्शजस्ता विषयहरू स्थापित भए। यद्यपि यसै अवधिमा नेतृत्वप्रतिको आक्रोश, बेथिति, विसंगति र भ्रष्टाचारलगायत विषयले समेत विशेष प्राथमिकता पाइरहे भने आप्रवासनसँग जोडिएका विषयवस्तु पनि नेपाली साहित्यमा थपिन पुगे।

यसैगरी, शैलीगत विविधता पनि २०४६ सालपछिको नेपाली साहित्यको प्रवृत्ति बनेको छ। हुनसक्छ, समाजमा बिस्तारै विश्वपरिवेशलाई थाहा पाउने सचेत एवं शिक्षित वगको वृद्धि हुँदै गयो। विभिन्न विचारधाराका व्यक्ति वा समुदायले साहित्यिक लेखन क्षेत्रमा प्रोत्साहन दिन थाले। युवा चिन्तनलाई समेत प्रकाशन गृहले स्थान दिँदै गए अर्थात् निजी प्रकाशन गृहको विस्तारले बिस्तारै प्रभाव पार्न थाल्यो र त्यसमा पनि इन्टरनेटको विकासले नयाँ क्रान्ति ल्याउन पुग्यो।

यस्ता जुनसुकै कारण भए पनि २०४६ पछिको नेपाली साहित्यमा परम्परागत शैलीभन्दा फरक शैलीले प्राथमिकता पाउँदै आए। तिनमा युवाका स्वतन्त्र विचार नै किन नहुन् अथवा तिनका विद्रोही स्वर या अन्तर्मुखी चिन्तन नै किन नहुन् तिनले वैकल्पिक शैलीलाई आत्मसात् गर्न थाले। पुराना साहित्यिक परम्परालाई चुनौती दिँदै नयाँ शैलीको प्रयोग गरिरहे। तिनले विषयवस्तुको अनुकूल भाषा र संरचनाको खोजी गरे भने परम्परागत संरचनामा तोडफोड गर्दै अर्थात् विषयवस्तुको प्रस्तुतिका क्रममा आदि, मध्य र अन्त्यको क्रमिकतालाई भञ्जन गर्दै विधाभञ्जन, विधामि श्रण र विधान्वितिको विपर्यासजस्ता विविध प्रवृत्तिलाई यथाअवसर निरन्तरता दिन थाले।

  • २०४६ सालपछिको अवधि राजनीतिक दृष्टिले मात्र नभई सामाजिक, सांस्कृतिक, आर्थिक, साहित्यिकलगायत विभिन्न दृष्टिकोणबाट उल्लेखनीय बन्न पुग्यो। 
  •     अखण्ड नेपालको महान् एकीकरण अभियानबाट वीरताको उद्बोधन गर्ने नेपाली साहित्यको औपचारिक यात्रा २०४६ सालपछिका मोडहरूमा निश्चय पनि उत्तारोत्तार पृथकता र नवीनताका साथ गतिशील बनेको छ।

धेरैजसो विखण्डनको परम्परालाई अपनाउँदै सैद्धान्तिक मापदण्डको कसीभन्दा माथि उठेर व्यक्तिकेन्द्री लेखनधर्मितालाई प्राथमिकता दिइरहे। ‘फेसबुके कविता’ वा ‘अनलाइन कथा’जस्ता उक्तिलाई चरितार्थ गरे झैं कतिपयले सरल एवं मिश्रित भाषाको प्रयोगलाई बढावा दिइरहे भने कतिपयले आफ्नो जाति, समुदाय वा वर्गलक्षित लेखनशैलीको उपयोग गरिरहे। त्यस्तै सहरिया आधुनिक समस्याहरूको उत्खननका क्रममा कोड मिक्सिङजस्तो प्रवृत्ति समेत मौलाउन थाल्यो। नेट/इन्टरनेट वा सामाजिक सञ्जाल आदिका माध्यमबाट अनलाइन साहित्य, इपत्रिका र डिजिटल पुस्तक आदिको विस्तार हुनुले नेपाली साहित्य सिर्जना र सम्प्रेषणको प्रवृत्तिमा परिवर्तनको दिशा निर्धारण हुँदै गयो। यद्यपि वर्तमान अवस्थासम्म आइपुग्दा आत्मकथा, डायरी वा संस्मरणजस्ता यथार्थवादी र आत्मपरक साहित्यले निकै लोकप्रियता पाइसकेको छ।

यसप्रकार नेपाली साहित्यका सबैजसो विधाहरू निरन्तर रूपमै विकसित हुँदै आएका छन्। २०४६ पछिका विभिन्न घटना वा परिघटनासँगै पाठकका चाहनालाई समेत ध्यानमा राखेर लेखिँदै आएका यस्ता कृतिहरूको संख्या उल्लेखनीय रहेको छ। यद्यपि नेपाली महाकाव्य लेखनको परिम्परा कायमै छ तापनि यसभित्रको स्तरीयताबारे प्रश्नहरू उठ्न थालेका छन्। फुटकर कविताका रूपमा गीत, गजल, मुक्तक, हाइकु आदिको ओइरो लागिरहे पनि मूल्यांकनको कसीमा सबैजसो खरो उत्रिन सकिरहेका छैनन्। खण्डकाव्य वा लामो कविता लेखनको गति पनि अलि सुस्त रूपमा रहँदै आएको छ।

समयको अभाव र सरलता आदिको खोजीका कारण फुटकर कथाको अस्तित्वलाई लघुकथाको यात्राले रूपान्तरण गर्न थालेको आरोप सुनिन्छ। केही सैद्धान्तिक बोझ र साधनाको कमीका कारण नाटक लेखनमा अपेक्षाकृत कमी आउँदै गएको मानिन्छ भने लघुनाटक वा सडक नाटकसमेतले सुस्त गतिलाई आत्मसात् गर्न थालेका छन्। विभिन्न कारणवश उपन्यास लेखनमा वृद्धि भइरहे पनि औपन्यासिक अस्तित्व कायम राख्न चुनौती देखिँदै छ। स्तरीय निबन्धभन्दा पनि बढ्दो लोकप्रियताका लागि अथवा भ्रमण र मनोरञ्जनको उपजका रूपमा नियात्रा वा यात्रासंस्मरण लेखनमा बढोत्तरी भइरहेको छ।

अतः २०४६ पछिको नेपाली साहित्यलाई संख्यात्मक तथा संरचनात्मक विविधताका दृष्टिले मात्र नभई युगीन चेतको सम्बोधनका दृष्टिले निश्चय पनि ऊर्वर मान्न सकिन्छ। यद्यपि यसभित्र बढ्दो विकृतिका रूपमा देखावटी वा ख्यातिको तीव्रता (ग्ल्यामर प्रवृत्ति), अत्यधिक मेडियाको क्षणिक उपयोग, निश्चित समूहबाहेक अरूलाई बहिष्कार गर्ने प्रवृत्ति, साहित्यकारहरूको ससाना समूह वा धार, समय र साधनाको कमी, हतारिलोपन, अज्ञानताप्रतिको अस्वीकृति, पाण्डित्य प्रदर्शन, एउटै व्यक्तिको बहुआयामिक हुने होडबाजी, पुरस्कार र समालोचना लेखनमा समेत आग्रह आदि देखापरिरहेका छन्।
जे होस्, २०४६ पछिको नेपाली साहित्य लेखनले विश्व परिवेशमा आफूलाई उभ्याउने कोसिस गरिरहेको छ। युगबोधी चेतना र प्रविधिलाई आत्मसात् गरिरहेको छ।

हजारौंको संख्यामा नेपाली साहित्यिक सिर्जनाहरूको अस्तित्व कायम भइरहेको अवस्था छ। ‘जीवन काँडा कि फूल’, ‘खलंगामा हमला’, ‘कर्नाली ब्लुज’ ‘मादलको यात्रा’ ‘फिर्ती’ ‘युद्धकथा’ ‘सधैं एक्लो’, ‘अन्तर्वार्ता’, ‘साइँली’, ‘तरुनी खेती’, ‘सेतो धरती’, ‘जुनकिरीको साँझ’, ‘पाल्पसा क्याफे’, ‘उमिहोतारु’, ‘समयका आँखा’, ‘छापामारको छोरो’, ‘सिड्नी सपना’, ‘पेरिस्कानो’ आदि अनेकौं सिर्जनाहरू यसका केही दिक्दर्शन मात्र मानिन्छन्। यिनले युद्ध, सन्त्रास, लैंगिक विभेद, विज्ञान र प्रविधि, बाँच्नुको अर्थ, अस्तित्व, प्रेम, एक्लोपन, मानसिक द्वन्द्व, डायस्पोरिक प्रवृत्ति आदिको संकेत मात्र गरेका छन्। यसरी समकालीन प्रवृत्तिअनुकूलको लेखन, प्रकाशन, समीक्षा, सम्मान तथा पुरस्कार आदिको निरन्तरता आदिकै कारण २०४६ पछिको नेपाली साहित्य गतिशील रहँदै आएको प्रस्ट हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.